१ पुस २०८२, मंगलबार

स्टक एक्सचेञ्ज, बीमा लगायतको लाइसेन्समा बिचौलिया निर्णायक हुन्छन्ः पन्त


काठमाडौं । प्रतिनिधिसभाका सांसद रघुजी पन्तले स्टक एक्सचेन्जको लाइसेन्सको विषयमा पनि बिचौलियाहरु निर्णायक हुने बताएका छन् ।

प्रतिनिधि सभा सांसदमा नीति तथा कार्यक्रममा बोल्दै उनले स्टल एक्सचेन्ज, विद्युत आयोजना, बिमाको लाइसेन्सजस्ता विषयमा बिचौलिया नै निर्णायक भएको बताएका छन् ।

उनले अहिलेको नीति तथा कार्यक्रम कुनै वैचारिक जगमा नभएको र दिशाविहीन भएको बताए ।

‘नीति र कार्यक्रम कुनै वैचारिक जगमा, कुनै दिशामा देखिदैंन,’ पन्तले भने, ‘किन देखिएन भन्दा यति बेलाको नेपालको मुख्य एजेण्डा भनेको नेपालको अर्थतन्त्रलाई बिचौलियाहरुको हातबाट मुक्त गर्ने हो । कमिसन एजेण्ट र केही प्रमुख व्यापारिक घरानाको दबाब र प्रभावबाट अर्थतन्त्रलाई मुक्त गर्नु हो । बिमाको लाइसेन्स भन्नुस्, स्टक एक्सचेन्जको लाइसेन्स भन्नुहोस्, विद्युत आयोजनाको लाइसेन्सदेखि सेनाको हतियार खरिदमा समेत बिचौलियाहरु निर्णायक हुन्छन् ।’

उनले भन्सार विभागदेखि राजस्वजस्ता कार्यालयमा पनि कर्मचारी कसलाई राख्ने भन्ने विषयमा बिचौलिया नै हाबी हुने बताए ।

‘आफू अर्थतन्त्रको विषयमा कुराकानी गर्न एक पूर्वअर्थमन्त्रीसँग जाँदा त्यहाँ पनि बिचौलिया आएर मन्त्री पदबाटै हटाउने जस्ता कुरा गरेका थिए’ उनले भने ।