गाई भैंसीले प्रतिवेत दिने दुध उत्पादन बढे पनि दैनिक ३२८ मेट्रिक टन अपुग « Eglish Khabarhub

गाई भैंसीले प्रतिवेत दिने दुध उत्पादन बढे पनि दैनिक ३२८ मेट्रिक टन अपुग



काठमाडौं । नेपालमा भएका गाई/भैसीले प्रतिवेतमा दिने दुधको मात्र बढ्दै गए पनि देशमा दुग्धको अभाव रहेको पाइएको छ ।

आर्थिक वर्ष २०७४/७५ मा प्रतिगाई प्रतिवेत ७२५.४४ लिटर दुध दिने गरेकोमा गत आवमा यो बढेर ९ सय लिटर पुगेको छ । त्यस्तै प्रतिभैसीले प्रतिवेत आव २०७४/७५ मा ८७१.३० लिटर दुध दिनेमा गत आवमा यो बढेर ९ सय ८७.८० लिटर पुगेको छ ।

तर,देशमा माग अनुसार दुधको उत्पादन भने हुन सकेको छैन । राष्ट्रिय दुग्ध विकास बोर्ड र सम्बन्धित व्यवसायी तथा संस्थाको सहकार्यमा सार्वजनिक भएको तथ्यांक अनुसार दुधको उत्पादन बढे पनि माग भने धान्न सकिरहेको छैन ।

पछिल्लो पाँच वर्षमा दुधको उत्पादन बढ्दै गएको तथ्यांक छ ।

आर्थिक वर्ष २०७४/७५ मा २० लाख ९२ हजार ४०३ मेट्रिक टन दु्ध उत्पादन भएको थियो । त्यस्तै, आर्थिक वर्ष २०७५/७६ मा २१ लाख ६८ हजार ४३४ मेट्रिक टन, आव २०७६/७७ मा २३ लाख १ हजार मेट्रिक टन, आव २०७७/७८ मा २४ लाख ७९ हजार ८९९ मेट्रिक टन दुध उत्पादन भएको थियो । आव २०७८/७९ मा २५ लाख ६६ हजार ६१४ मेट्रिक टन उत्पादन गरेको थियो ।

देशमा रहेका १२ लाख २३ हजार ६१ गाईबाट वार्षिक ११ लाख १ हजार ८१२ मेट्रिक टन दुध उत्पादन हुँदै आएको छ भने देशभर १६ लाख ६६ हजार ८२७ भैंसीबाट १४ लाख ६४ हजार ८०२ मेट्रिक टन दुध उत्पादन भएको छ । तर उत्पादन वृद्धिदर भने गत वर्षको तुलनामा आधा घटेको छ । आव २०७७/७८ मा ७.७४ प्रतिशत दुध उत्पादनको वृद्धिदर रहेकोमा आव २०७८/७९ मा ३.४९ प्रतिशत मात्रै छ ।

दैनिक ३२८ मेट्रिक टन दुध अपुग

अहिले बजारमा दैनिक ९५५ मेट्रिक टन दुधको माग छ । जसमा दुग्ध विकास संस्थानले १०५ मेट्रिक टन, नेपाल डेरी एसोसिएसनले ३५० मेट्रिक टन र डेरी एसोसिएसनले ५ सय मेट्रिक टन आपूर्ति गर्न पाउँछन् ।

त्यसमध्ये डीडीसीले दैनिक ७७ मेट्रिक टन, नेपाल डेरी एसोसिएसनले २५० मेट्रिक टन र डेरी एसोसिएसनले दैनिक ३ सय मेट्रिक टन दुध संकलन गर्दै आएको छ । डीडीसीसहित अन्य दुई डेरी एसोसिएसनले अहिले दैनिक ६२८ मेट्रिक टन दुध संकलन गर्दै आएका छन् ।

तर,उत्पादन कम हुँदा अहिले दैनिक अपेक्षाभन्दा निकै कम दुध संकलन भइरहेको व्यवसायीहरुले बताएका छन् । अहिले बजारमा दैनिक ९५५ मेट्रिक टन दुध माग हुँदा ६२८ मेट्रिक टन मात्रै संकलन भइरहेको छ । यस हिसाबमा अहिले दैनिक ३२८ मेट्रिक टन दुध अपुग छ ।

त्यस्तै, अहिले बजारमा मासिक २८३ मेट्रिक टन धुलो दुध र १३३ मेट्रिक टन वटरको माग छ । त्यसमा धुलो दुधको वार्षिक माग करिब ३६ सयदेखि ४ हजार मेट्रिक टन छ ।

विराटनगर दुग्ध वितरण आयोजना अन्तरगतका धुलो दुध कारखाना, चितवन धुलो दुध कारखाना, सुजल धुलो दुध कारखाना (पोखरा) तथा खरीपाटि धुलो दुध कारखाना तथा सूर्योदय मिल्क एण्ड विभरेज ईण्डष्ट्रि प्रा.लि.(विराटनगर) सञ्चालनमा रहेकाले पर्याप्त दुधको आवश्यकता पर्दछ ।

हेटौंडा धुलो दुध कारखाना तथा सुनसरी धुलो दुध कारखाना हाल निर्माणधीन अवस्थामा रहेको छ । डेरी फर्महरु सञ्चालन गर्दा दुधको माग तथा आपूर्तिमा सहज पुग्ने उद्योगीहरुको भनाइ छ ।

अहिले कुल उत्पादनको करिव १७ प्रतिशत मात्र औपचारिक क्षेत्रबाट खरीद बिक्री, कुल उत्पादनको करिब ३३ प्रतिशत र निजी स्तरमा मिठाई पसल, चिया पसल, लज/रेष्टुरेन्टमा खपत र बाँकी करिव ५० प्रतिशत दुध कृषकहरुद्वारा उपभोग भइरहेको छ ।

करिब ३ अर्बको दुध तथा दुग्ध पदार्थको निर्यात

नेपालले वार्षिक ३ अर्बको दुध तथा दुग्ध पदार्थ वस्तु निर्यात गरेको छ । नेपालले आव २०७८/७९ मा २ अर्ब ९७ करोड ९४ लाख रुपैयाँको दुधजन्य वस्तु निर्यात गरेको हो ।

नेपालले आव २०७७/७८ मा १ अर्ब ९६ करोड ५० लाख रुपैयाँ, आव २०७६/७७ मा १ अबए २२ करोड ८३ लाख रुपैयाँ र आव २०७५/७६ मा १ अर्ब ५ करोड २८ लाख रुपैयाँको दुधजन्य वस्तु निर्यात गरेको छ ।

साथै, नेपालले आव २०७८/७९ मा १ अर्ब ८१ करोड ५५ लाख रुपैयाँ, आव २०७७/७८ मा १ अर्ब ६७ करोड १८ लाख रुपैयाँ, आव २०७६/७७ मा २ अर्ब ३ करोड ५१ लाख रुपैयाँ र आव २०७५/७६ मा १ अर्ब ५ करोड २८ लाख रुपैयाँको दुध तथा दुध पदार्थको वस्तु आयात गरेको छ ।

Publish on: