नेपालबाट १० हजार मेगावाट बिजुली किन्ने मोदीको घोषणा

नेपालबाट १० हजार मेगावाट बिजुली किन्ने मोदीको घोषणा


काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लङ टर्म पावर ट्रेड सम्झौताबाट भारतले आगामी १० वर्षमा १० हजार मेगावाट विजुली आयात गर्ने लक्ष्य लिएको बताएका छन् ।

४ दिने भारत भ्रमणका क्रममा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेटवार्तापछि हैदरावाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लङ टर्म पावर ट्रेड सम्झौताबाट भारतले आगामी १० वर्षमा १० हजार मेगावाट विजुली आयात गर्ने लक्ष्य लिएको बताए ।

आफू ९ वर्ष पहिला कार्यभार समालेको तीन महिनाभित्र नेपालको पहिलो यात्रा गरेको मोदीले स्मरण गरे ।

त्यतिबेला आफूले ‘हिट’ फर्मुला दिएको उनले बताए । नेपाल र भारतबीचको सम्पर्कमा बोर्डर अवरोध बन्न नहुने उनको भनाइ छ ।

नेपालबाट भारतमा बिजुली निर्यात गर्नु पर्ने उनले बताए ।

भारत नेपालकाबीच क्रस ब्रोडर पाइपलाइन, ट्रान्समिसन लाइन, ४५० मेगावाटभन्दा बढी बिजुली आयात लगायतका काम यसबीचमा भएको मोदीको भनाइ छ । ९ वर्षबीच भएका उपलब्धिहरुबारे भन्दा पूरै दिन बित्ने उनको भनाइ छ ।

आगामी दिनमा नेपाल र भारतबीचको सम्बन्ध सुपरहिट बनाउन धेरै निर्णय लिएको उनले बताए ।

‘भविष्यमा पार्टनरसिप सुपरिहट बनाउन धेरै निर्णय लिएका छौं’ मोदीले भने, ‘ट्रान्जिट एग्रिमेन्ट सम्पन्न भएको छ । यसमा नेपालका मानिसका लागि नयाँ रेल रुटका साथ भारतको इन्ल्याड वाटर बोटको सुविधा हुने भएको छ । नयाँ रेल लिंक स्थापन गर्ने,भारतीय रेल संस्थानमा नेपालका रेल क्षेत्रकाले रेल प्रशिक्षण लिने, नेपालको सुदूरपश्चिमी क्षेत्रमा कनेक्टीभिटिका लागि दुई पुल निर्माण गर्ने लगायत छन् ।’

फाइनान्सियल कनेक्टीभिटिले हजारौं विद्यार्थी, पर्यटक, तिर्थयात्री र उपचारमा आउनेलाई फाइदा पुग्ने मोदीले बताए ।