काठमाडौंको फोहोर व्यवस्थापनका लागि गोल्छा ग्रुप र इन्डियन आयल कर्पोरेसनबीच दिल्लीमा सम्झौता « Eglish Khabarhub

काठमाडौंको फोहोर व्यवस्थापनका लागि गोल्छा ग्रुप र इन्डियन आयल कर्पोरेसनबीच दिल्लीमा सम्झौता



काठमाडौं । गोल्छा ग्रुप र भारतीय आयल कर्पोरेसन (आईओसी) बीच काठमाडौंको फोहोर व्यवस्थापनलगायतका तीन परियोजनामा काम गर्नेगरी सम्झौता भएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ र भारतीय उद्योग परिसंघले संयुक्त रूपमा आयोजना गरेको इन्डिया–नेपाल बिजनेस समिटमा दुई पक्षबीच हस्ताक्षर भएको हो ।

सम्झौताअनुसार भारतीय आयल कर्पोरेसनसँगको ज्वाइन्ट भेन्चरमा नयाँ कम्पनी स्थापना गरी इन्जिन आयल र औद्योगिक आयल उत्पादन गरिनेछ । सम्झौताअनुसार उक्त कम्पनीले नेपालभित्रै बिटुमिन उत्पादन गर्नेछ ।

तेस्रो परियोजनाको रूपमा काठमाडौं उपत्यकामा फोहोरबाट बिजुली उत्पादन र कम्पोस्ट मल उत्पादनको सम्भाव्यता अध्ययन हुनेछ ।

काठमाडौं महानगरपालिकामा उत्पादन हुने फोहोरबाट बिजुली निकाल्ने विषय नयाँ भने होइन । यसअघि पनि पटक–पटक महानगरभित्र उत्पादित फोहोरबाट बिजुली निकाल्ने विषय चर्चामा आएको थियो ।

२०७३ ताका महानगरले नमुना परियोजनाको रुपमा फोहोरबाट १४ किलोबाट बिजुली निकाल्ने भनेको थियो । उक्त परियोजनाका लागि भारतबाट दुई वटा ‘डाइजेस्ट प्लान्ट’ ल्याएर टेकुस्थित ‘ट्रान्सपोर्ट एक्सन स्टेसन’मा राखिएको थियो ।

महानगर र युरोपियन युनियनको संयुक्त आयोजनामा सुरु गरिएको उक्त परियोजनाका लागि प्लान्ट स्थापना गर्नमै १ करोड ८६ लाख रुपैयाँ खर्च भएको थियो । त्यसमा महानगरले २० प्रतिशत र युरोपेली युनियनले ८० प्रतिशत लगानी गरेका थिए ।

२०७४ असार १३ गते काठमाडौं महानगरपालिकाका तत्कालीन प्रमुख विद्यासुन्दर शाक्यले उक्त बायोग्यास प्लान्सको उद्घाटन पनि गरेका थिए । उद्घाटनका क्रममा प्रमुख शाक्यले फोहोरबाट बिजुली निकाल्ने प्रविधिलाई अन्य ठाउँमा पनि लैजाने घोषणा पनि गरेका थिए ।

दैनिक काठमाडौंभित्र उत्पादन हुने फोहोरबाट ३ मेट्रिक टन जैविक फोहोरलाई मिथानेसन गर्ने यी मेसिनबाट १४ किलोवाट बिजुली, ३ सय किलो कम्पोस्ट मल, ९६ किलो ग्यास र १३ हजार लिटर प्रशोधित पानी उत्पादन हुने भनिएको थियो ।

तर, पछि फोहोरबाट बिजुली निकाल्ने भनिएका मेसिनहरु अलपत्र परे । महानगरको योजना पूरा भएन ।

त्यसअघि फोहोरबाट बिजुली निकाल्ने विषयमा बालाजी बायोमास ब्रिकेट इनर्जी नामक कम्पनीले पनि अध्ययन गरेको थियो । २०७० मा भएको उक्त अध्ययनमा काठमाडौं उपत्यकाबाट उत्पादन हुने फोहोरबाट १६ मेगावाटसम्म बिजुली निकाल्न सकिने पाइएको थियो ।

उक्त कम्पनीले फोहोरबाट ब्रिकेट बनाउने र भट्टीमा पोलेर बिजुली निकाल्ने लक्ष्य लिएको थियो । जसका लागि नुवाकोटको ओखरपौवामा उक्त कम्पनीले २६ रोपनी जग्गा पनि लिजमा लिएको थियो ।

Publish on: