![](https://internal.appharu.com/wp-content/uploads/2023/06/balen-1-768x518.jpg)
काठमाडौं । काठमाडौं महानगरपालिकाले संस्थागत (नीजि) विद्यालयहरुका शिक्षकहरुलाई सामुदायिक विद्यालयका शिक्षकले प्राप्त गरेअनुसारको तलब सुविधा उपलब्ध गराउन निर्देशन दिएको छ ।
महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले यस्तो निर्देशन दिइएको सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।
शिक्षा ऐन, २०२८ को दफा १२ (७) (छ)मा संस्थागत विद्यालयको शिक्षकलाई पनि नेपाल सरकारले तोकिदिएको तलब स्केल नघटाई तलब दिनुपर्ने उल्लेख गरिएको छ । महानगरपालिकाकै विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७८ को नियम ६८ मा शिक्षक तथा कर्मचारीको तलब भत्ता, निवृत्तिभरण, उपदानलगायतका अन्य सुविधा खाइपाइ आएकोमा नघट्ने गरी संघीय शिक्षा कानुनमा तोकिएबमोजिम हुने उल्लेख गरिएको छ ।
कानुन तथा नियमअनुसार संस्थागत र सामुदायिक दुवै विद्यालयहरुमा अध्यापन गराउने शिक्षकको तलब सुविधा समान हुनुपर्ने व्यवस्था भएपछि मेयर शाहकाअनुसार महानगरभित्र रहेका संस्थागत विद्यालयहरुका शिक्षकहरुले तलब सामुदायिक विद्यालयको भन्दा न्यून भएको गुनासो आउने गरेको छ ।
जसकारण महागरले आफ्नो क्षेत्रभित्र रहेका सम्पूर्ण संस्थागत विद्यालयहरुलाई सामुदायिक विद्यालयका शिक्षकले प्राप्त गर्ने अनुसारको तलब सुविधा संस्थागत विद्यालयको शिक्षकलाई पनि प्राप्त गराउन सुचित गराएको छ । त्यसो नभएमा महानगरको शिक्षा विभागमा शिक्षकहरुले सम्पर्क गर्न समेत बालेनले अनुरोध गरेका छन् ।
हाल सामुदायिक विद्यालयको हकमा अध्यापन गराउने शिक्षकहरुलाई कायम जम्मा तलब माध्यमिक तहको (प्रथम श्रेणी)मा ६८ हजार १४५ रुपैयाँ, माध्यमिक (द्वितीय श्रेणी)मा ६१ हजार ७३७ रुपैयाँ, माध्यमिक (तृतिय श्रेणी)मा ५५ हजार ३३७, निम्नमाध्यमिक तह (प्रथम श्रेणी) ५८ हजार ९४ रुपैयाँ, निम्न माध्यमिक (द्वितीय श्रेणी) ५५ हजार ३३६, निम्नमाध्यमिक (तृतिय श्रेणी) मा ४३ हजार ९९४ रुपैयाँ र प्राथमिक तह अन्तर्गत एस.एल.सी उत्तीर्ण (प्रथम श्रेणी) ५५ हजार ३३६, एसएलसी उत्तीर्ण (द्वितीय श्रेणी) ४३ हजार ९९८ रुपैयाँ, एस.एस.सी उत्तीर्ण (तृतिय श्रेणी) ३९ हजार ४८४, दुई विषयसम्म एस.एल.सी अनुतीर्ण ३३ हजार १३२ र दुई विषयभन्दा बढि एस.एल.सी अनुतीर्ण ३१ हजार २९६ रुपैयाँ कायम गरिएको छ ।
महानगरका मेयरले सामुदायिक विद्यालयमा रहेको यहि तलब सुविधा अनुसारको तलब सुविधा संस्थागत विद्यालयहरुमा पनि शिक्षकहरुलाई उपलब्ध गराउन सुचित गराएका हुन् ।
SHARE YOUR THOUGHTS