ओइलाउँदै ओल: निराश किसान « Eglish Khabarhub

ओइलाउँदै ओल: निराश किसान


१५ असार २०८०, शुक्रबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

महोत्तरी । ‘आब बुझाइय जे ओल सेहो जवाफ दरहल अई’ (अब लाग्छ, ओलले पनि जवाफ दिँदै छ) । यसपालि समयले कुनै बालीलाई राम्रो साथ नदिँदा ओलमा मन अड्याइरहेका महोत्तरीको भंगाहा-४ प्रेमनगरका किसान जवाहर महतोले ओइलाउँदै गरेका ओलका बोट देखाएर भने । कम चिस्यानमै लहलहाउने ओलसमेत खडेरीले ओइलिन थालेपछि यसपालि अब कुन बालीले गुजारा चलाउने भन्ने महतोको चिन्ता छ ।

एउटा बाली नभए यसले त केही होला कि भन्ने आश पालेका किसानलाई यसपलि ओलले पनि निराश बनायो । यसपालिको लामो खडेरीले ओलका बोट पहेंलिँदै गएर सुक्न थालेपछि महतोसहितका ओल किसान अहिले गुजाराको चिन्ताले पिरोलिएका छन् ।

‘भदैया धानके बिया जैरगेल, लत्ती तरकारी सेहो नई उग सकल, आब देखैछी जे ओल सेहो मुर्झारहल अई’ (बर्खे धानको बीउ ब्याडमै डढ्यो, लहरे तरकारी पनि हुर्कन, बढ्न सकेनन्, अब त ओल पनि ओइलिन थाल्यो) जवाहरकै छिमेकी अर्का किसान रामविलास महतो पनि बिरक्तिदै भन्छन्, ‘आब अईबेर घरपरिवारक प्रतिपाल केना होयत ?’  (अब यसपालि जहान परिवारको पालन कसरी होला) । असार दोस्रो साता बित्नै लाग्दासम्म पनि माटो पर्याप्त पानी नपरेपछि किसान यसपालि ठूलो अनिकाल त पर्ने होइन भन्ने चिन्तामा छन् ।

मधेसमा तरकारी फसलमा गनिने ओल यहाँका किसानको राम्रो आम्दानीको स्रोत रहँदै आएको छ । पाखो र बलौटे जग्गामा पनि कम चिस्यानमै हुने ओल खेती पनि यसपालिको खडेरीले खाएपछि किसान बिलखबन्द परेका छन्

केही दशकयता निकै फस्टाएको यो खेती यसपालिको लामो खडेरीले खाएपछि ‘अब चैं के गर्ने होला ?’ भन्ने आम किसानको चिन्ता छ । ‘थोरथार झार्र्रझुर्र पानीमा पनि हुने ओलसमेत पानीबेगर ओइलिने, सुक्ने भएपछि अब के ले उभो लाग्नेहोला ?’ भंगाहा–४ टोकाटोलका किसान राजकुमार दास भन्छन् ।

मधेसमा विशिष्ट तरकारी र अचार मानिने ओल राम्रो भाउ (मूल्य) पाइने फसल मानिन्छ । यहाँ (मधेसमा) एउटा कहावत (उखान, आहान, उक्ति) छ, ‘भादोके ओल, कि खाए राजा कि खाए चोर’ अर्थात भदौको ओल कि राजा कि चोरले नै खान सक्छन् । यो कहावतले नै ओलको महत्व दर्साउँछ ।

भदौ निगल्दो र असोजमा उत्पादन लिइने ओल अन्य तरकारीभन्दा निकै महँगो हुने हुँदा यो हुने खाने र चोरेर खानेले मात्र भेट्टाउँछन् भन्ने कहावत स्थापित भएको हो । पितृपक्ष (असोज कृष्ण पक्ष), दसैँतिहार र अन्य पर्व बाक्लै पर्ने बेला उत्पादन लिइने ओल पवित्र मानिन्छ । देवकार्य, पितृकार्य र अन्य शुभअवसरमा ओलको परिकार हुनु यहाँ सम्पन्नतासँग पनि जोडिन्छ । महँगो तरकारी भान्छामा हुनुलाई यहाँ सम्पन्नतासँग जोडिने गरेको हो । 

दुई दशक अघिसम्म स्थानीय जातको ओलमात्र प्रचलनमा थियो । घरबारी ओरपर घुर्‍यानमा केही बोट लगाइने ओल निकै सप्रँदा एक किलोसम्मको फल लाग्थ्यो । माटोमुनि फल्ने यसले तरकारी र चटनी (अचार) परिकारका लागि परापूर्वकालदेखि नै प्रसिद्धि पाउँदै आएको हो ।

केही दशकयता महोत्तरीसहितका मधेसका जिल्लामा यसको व्यावसायिक खेती हुन थालेपछि उन्नत जातको ओल खेती प्रचलनमा आएका छन् । किसानले एउटा ओल सात-आठ किलोसम्मको बाक्लै निकालेका छन् । यहाँको ओलको स्वाद र गुणमा प्रसिद्ध भएपछि पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका बजारमा पुग्ने गरेको छ ।  

विशिष्ट अतिथिका लागि ओलको तरकारी र चटनी खान दिने र खाने दुबैका लागि विशेष मानिन्छ । ओलको तरकारी वा चटनीसहितको आतिथ्य ग्रहण गरेका पाहुनाले ‘आज त ओलको परिकार खाइयो’ भनेर दुई-चार ठाउँ बखान गर्नु महोत्तरीसहितका मधेसका सबैजसो जिल्लामा केही वर्ष पहिलेसम्म शानकै कुरा मानिने गरेको बर्दिबास–९ पशुपतिनगरका ८५ वर्षीय नथुनी महतो बताउँछन् ।

‘करिब तीन दशक अघिसम्म ओलको परिकार आम सर्वसाधारणको पहुँचमा थिएन, हुने खानेले खान्थे’ महतोले भने, ‘घुर्‍यानमा केही बोट लगाएका गरिबगुरुवालाई त्यो बेचेर कयौं सामान जोड्ने सपना हुन्थ्यो, आफू नखाइनखाई बेच्थे ।’

तर पछिल्ला कालमा ओलको विकसित जात खेती प्रचलनमा आएपछि यसले सबै वर्गका भान्सामा प्रवेश पाएको महतो बताउँछन् । बेजोड स्वाद र स्वास्थ्यका दृष्टिले अत्यन्त गुणकारी (स्वास्थ्यवर्धक) भएको हुँदा मधेसको भान्सामा यसले विशेष मान र स्थान पाएको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका जनस्वास्थ्य निरीक्षक वरिष्ठ स्वास्थ्यकर्मी गिरेन्द्रकुमार झा बताउँछन् ।

उन्नत जात खेती प्रचलनमा आएपछि अब महोत्तरीसहितका आसपासका जिल्लामा यसले व्यवसायकै आकार लिइसकेको छ । महोत्तरीको उत्तरी क्षेत्रका बर्दिबास, भंगाहा, औरही र गौशाला तथा सुदूर दक्षिणपूर्वी मटिहानी नगरपालिका यो खेतीका उर्वर क्षेत्र मानिन्छन् ।

यी नगर क्षेत्रलाई कृषि ज्ञान केन्द्र कार्यालय महोत्तरी जलेश्वरले ओलको ‘पकेट क्षेत्र’ नै मान्दै आएको छ । यस क्षेत्रका किसानले ओल खेतीलाई महत्वका साथ नगद आर्जनको मुख्य स्रोत बनाउँदै आएका छन् ।

अहिले बारीमा लहलहाउनुपर्ने ओल खडेरीले सुक्दै गएपछि किसानले कयौं साँचेका सपना पनि मर्दै छन् । चाडपर्वमा जहान परिवारको मुख मिठ्याउने र नानीहरुका रहर पूरा गर्ने आश र विश्वास ओलको बोटमै साँचेका किसानलाई अहिलेको यसको अवस्थाले पिरोल्दै छ ।

‘ओलको बोट देख्दै मन विरक्तिन्छ, अब जहान परिवारको गुजरबसर र विशेष अवसरमा मीठो मसिनो खाने, राम्रो लाउने रहर के हेरेर साँच्नु ?’ बर्दिबास-९ पशुपतिनगरकै किसान महेन्द्र कुशवाहा भन्छन्, ‘सबैभन्दा दुख्याहा कर्म नै हामी किसानको रहेछ ।’  

अन्य अन्नबालीभन्दा बढी उत्पादन दिने , खनेर बाली निकालेपछि लामो समयसम्म नबिग्रने, खनेर खेतबारीमै तल स्याउला ओछ्याएर थुपारेर राख्न मिल्ने र बजार भाउ राम्रो चलेको मौका पारेर बेच्न पाइने भएपछि धेरै किसानको रोजाइमा ओल खेती पर्दै आएको थियो । तर यसपालिको लामो खडेरीले बोट नै बढ्न नपाई ओइल्याउँदै, सुक्दै गएपछि यसले (ओल) पनि मन मारेको किसान बताउँछन् ।

पहिले स्थानीय जातको ओल बढीमा एक किलोसम्मको हुन्थ्यो । अनि उत्पादन लिन एक वर्ष कुर्नु पथ्र्यो । तर अब उन्नत जातको भने मौसमको साथ र सम्भारको समन्वय हुनसके चार महिनाभित्रै उत्पादन लिन थालिएको छ । एउटै ओल १० किलोसम्मको फल्ने गरेको कुशवाहा बताउँछन् ।

‘हामीले १० किलोसम्मको ओल फलायौं, सात-आठ किलोका त बाक्लै निस्कन्थे,’ कुशवाहा भन्छन्, ‘समयले साथ दिदा प्रतिकठ्ठा २० मन (आठ क्विन्टल) सम्म उत्पादन लिएका छौं ।’ प्रतिकट्ठा १० हजारभित्रको लागतमा खेती सकिने ओलबाट ५० हजारमाथि आम्दानी त सजिलै लिँदै आएको कुशवाहा बताउँछन् । यसपालि भने समय (मौसम) ले साथ नदिँदा यो खेतीबाट धोखा खाइएको कुशवाहाको भनाइ छ ।

महोत्तरीको ओल पूर्व मेचीदेखि पश्चिम माहाकालीका बजारसम्म पुग्ने गरेको छ । पाँच वर्षयता वरपरका किसानको उत्पादन किनेर पूर्वको काँकरभिट्टा, विराटनगर, धरान, इटहरी र धनकुटासम्म पुर्‍याइएको भंगाहा–४ स्थित सीतामाई कृषि सहकारी संस्थाका अध्यक्ष एवं किसान सत्यनारायण यादव बताउँछन् । कञ्चनपुरको महेन्द्रनगर, कैलालीको धनगढी र अत्तरीया, रुपन्देहीको बुटवल र चितवनको नारायणगढ बजारमा कयौं पटक आफ्नो सहकारीले ओल पठाएको यादवको भनाइ छ ।

महोत्तरीको माटोमा फलेको ओलको स्वाद पारखीको रोजाइमा परेको हुँदा टाढाटाढाका ब्यापारीले राम्रो भाउ दिएर आफैं आएरसमेत लाने गरेका यादवले बताए । यहाँको उत्पादन विभिन्न जिल्लाका सरकारी कृषि कार्यालय, बीउबिजन केन्द्र र सहकारीहरुले पेश्की रकम दिएर नै बीउका लागि मगाउने गरेका उनको भनाइ छ । अब यसपालि भने ओल राम्रो उत्पादन हुने छाँट नदेखिएको हुँदा मागअनुसार बजार पुर्‍याउन नसकिने यादवले बताए ।

विषादी प्रयोग गर्न नपर्ने, आफैँले बनाएको कम्पोस्टबाहेक रासायनिक मल पनि नचाहिने, हल्का माटो भिज्ने सिँचाइ भए पुग्ने, अन्य लहरे तरकारीझैँ चोटिलो पानीले बोट तत्काल नगल्ने र रोपिएको चार  महिनाभित्रै उत्पादन लिन सकिने हुँदा यो खेती आम किसानको रोजाइमा पर्ने गरेको हो ।

माटोमुनि फल्ने स्वास्थ्यका दृष्टिले अति नै लाभदायक र निकै स्वादिलो हुने ओल सामान्यतया सबैको रोजाइमा पर्ने तरकारी हो । रोपिएको ठाउँमा पानी जम्न नदिएर दुई पटकसम्म गोडमेल गरे ओलको राम्रो उत्पादन हात लाग्ने गौशाला–१२ का किसान अरुण कुशवाहा बताउँछन् । सामान्य सिँचाइमै हुने ओलका लागि पनि यसपालि पानी नभएपछि अन्य बालीको समेत आश मरेको उनको भनाइ छ ।

महोत्तरीमा अहिले ३ सय बिघामाथिको क्षेत्रफलमा ओल खेती रहेको कृषि ज्ञान केन्द्रको अभिलेखबाट देखिन्छ । गौशाला र भंगाहा नगर क्षेत्रका धेरैजसो किसानले मुख्य खेती नै ओललाई बनाएका छन् । ओलखेतीकै आम्दानीबाट घरको सारा खर्च धान्दै आएका किसानलाई यो वर्षभने प्रतिकूल बनेको छ ।

‘यो हाम्रो नगदको जोहो मात्र होइन, घर गुजाराको सबै थोक रहँदै आएको छ,’ गौशालाको लक्ष्मीनियाँ बस्तीका किसान रामनरेश महतो भन्छन्, ‘चामल, पिठो, मरमसला सबै कुरा ओल बेचेर लिन्थ्यौं, अब यसपालि के गरेर चलाउने होला ?’

प्रत्येक वर्ष चैत, वैशाखमा रोपिने ओल भदौ, असोजभरिमा खनेर निकालिन्छ । किसानले सिँचाइसँगै प्रत्येक नगरमा शीतभण्डार भवनको चाँजो मिलाइदिन आ-आफ्ना नगर नेतृत्वसँग आग्रह गरेका छन् । सिँचाइ, माटो परीक्षण र उपचार, उन्नत जातको प्रमाणिक बीउ र समय-समयमा कृषि विज्ञ/प्राविधिकको परामर्श सेवा पाउन सके यो खेतीले मन मार्नुपर्ने अवस्था नआउने किसानको विश्वास छ ।

(रासस)

प्रकाशित मिति : १५ असार २०८०, शुक्रबार ००:००  २ : ०९ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping