![](https://internal.appharu.com/wp-content/uploads/2023/07/lumbini-cablecar-768x403.jpg)
बुटवल । लुम्बिनी केबलकारले साउन र भदौका लागि टिकटदर आधा सस्तो हुने गरी ‘मर्निङ अफर’ ल्याएको छ ।
साउनको पहिलो बुधबारदेखि लागू हुने गरी हरेक बुधबार बिहान ९ देखि १२ बजेसम्म टिकट काट्ने पर्यटकका लागि हाल कायम साधारण टिकट दरमा ५० प्रतिशत छुट गर्ने निर्णय भएको केबलकारका अपरेसन म्यानेजर डिएन कायस्थ सैजूले जानकारी दिए ।
हाल केबलकारको साधारण टिकट दर ७५० रुपैयाँ छ । अब नेपाली नागरिकले हरेक बुधबार बिहान ९ बजेदेखि १२ बजेसम्म ३७५ रुपैयाँमा केबलकारमा यात्रा गर्न पाउनेछन् भने भारतीय नागरिकले ३७५ भारुमा र तेस्रो मुलुकका विदेशी पर्यटकले ११ अमेरिकी डलरमा यात्रा गर्न पाउने कम्पनीले जनाएको छ ।
यो अफरले आम सर्वसाधारणलाई समेत निकै सस्तो शुल्कमा केबलकार यात्रा गर्ने अवसर मिल्ने कम्पनीले जनाएको छ । त्यसबाहेक अन्य समयमा भने पुरानै टिकटदर कायम गरिएको छ ।
लुम्बिनी प्रदेशकै पहिलो यो केबलकार जेठ १५ बाट व्यावसायिक सञ्चालनमा छ । केबलकारको टप स्टेसनमा बनेको कामाख्या देवीको मन्दिर हिन्दू धर्मावलम्बीका लागि विशिष्ट आकर्षण बनेको छ ।
मन्दिरको दर्शन गर्न भारतको उत्तर प्रदेशका विभिन्न सहरबाट समेत उल्लेख्य पर्यटक आउने संख्या बढ्दो क्रममा रहेको आयोजना प्रमुख गोकुल साउदले जानकारी दिए ।
टप स्टेसनमा सय वर्ष पुरानो भगवती मन्दिर,महादेव शिवको वाहन नन्दी, वरपीपल चौपारी,पोखरीलगायतका धार्मिक संरचना छन् । साउनमा टप स्टेसनमा जलार्पण गर्ने व्यवस्थासमेत रहेको कम्पनीले जनाएको छ ।
केबलकारले बुटवल उपमहानगरपालिका र तिनाउँ गाउँपालिकाले ५० प्रतिशतका दरले बाँडफाँट गर्ने गरी प्रत्येक टिकट शुल्कको २ प्रतिशत सेवा शुल्कबापत दिने सम्झौता गरेको छ ।
SHARE YOUR THOUGHTS