नयाँ जहाज छिट्टै आउँछः मन्त्री किराती « Eglish Khabarhub

नयाँ जहाज छिट्टै आउँछः मन्त्री किराती



झापा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाली ध्वजा बाहक नयाँ जहाज छिट्टै खरिद गरिने बताएका छन् । प्रेस सेन्टर नेपाल झापाले बिर्तामोडमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री किरातीले भूपरिवेष्टित राष्ट्रको समृद्धिका लागि जहाज विकास महत्त्वपूर्ण हुने भएकाले थप जहाज ल्याउन लागिएको बताए ।

‘हाम्रो जस्तो भूपरिवेष्टित मुलुकको समृद्धिका लागि जहाज महत्त्वपूर्ण हुँदोरहेछ,’ उनले भने, ‘तीन वटा नयाँ र दुई वटा पुराना जहाज खरिद प्रक्रियामा रहेको छ, छिट्टै ती जहाज आउँछ, तर कमिसन आउँदैन ।’

नेपाली जहाजकै ‘कनेक्सन फ्लाइट’बाट नेपाली उत्पादनहरु विदेश निर्यात गरेर समृद्धि हासिल गर्न सकिने उनको भनाइ छ ।

मन्त्रालय सम्हालेपछि भ्रष्टाचारका प्वालहरु टाल्ने काम गरिरहेको उनको भनाइ छ । ४ अर्ब ऋण तिरेर नयाँ जहाज किन्न सक्ने अवस्था सिर्जना भएको उनले बताए ।

‘देशको ठूलो समस्या भ्रष्टाचार हो, यसको अन्त्य जरुरी छ,’ उनले भने ।

मन्त्री किरातीले पर्यटनसम्बन्धी राष्ट्रिय नीति बनाउन सरकार लागि परेको बताए । नेपाली एयरपोर्ट सुरक्षित बनाउन कडाइका साथ लाग्नुपर्नेमा उनको भनाइ थियो ।

Publish on: