जुवा घरमा डुब्यो सरकारको डेढ अर्ब « Eglish Khabarhub

जुवा घरमा डुब्यो सरकारको डेढ अर्ब



काठमाडौं । सरकारले ८ वटा पुराना बन्द भएका क्यासिनोको बक्यौता लामो समयदेखि उठाउन सकेको छैन । जसका कारण राज्यको १ अर्ब ३४ करोड ३३ लाख ४९ हजार रुपैयाँ गुम्ने खतार बढ्दै गएको छ ।

२०७१ बैशाखदेखि बन्द भएका ८ वटा क्यासिनोको झन्डै डेढ अर्ब रुपैयाँ बक्यौता उठ्न नसकेको हो । ३ वर्षअघि ६७ करोड रुपैयाँ बक्यौता रहेकोमा जरिवाना र नविकरण शुल्क भार बक्यौता थपिदैं गएको छ ।

सरकारले २०७० देखि कार्यान्वयनमा आएको क्यासिनो नियमावली अनुसार सञ्चालनमा नआउने तथा बक्यौता तिर्न अटेर गर्ने क्यासिनोहरुलाई बन्द गरेको थियो ।

क्यासिनोहरुले नियमक निकाय पर्यटन विभागले बक्यौता उठाउन नसकेको पछि हाल कुमारी चोक तथा केन्द्रीय तहसिलको कार्यालय पठाएको छ ।

सवैभन्दा धेरै नेपाल रिक्रियसन सेन्टर प्रालिको मात्रै ५३ करोड ५० लाख ३३ हजार बक्यौता बाँकी रहेको छ ।

त्यस्तैगरी पोखरामा रहेको दि फुलबारी प्रा.लि.को बक्यौता २४ करोड ६६ लाख ६४ हजार रुपैयाँ रहेको छ । त्यस्तैगरी होटल याक एन्ड यति प्रा.लिको ११ करोड ८७ लाख ५० हजार रुपैयाँ बक्यौता बाँकी रहेको छ ।

हाल बन्द रहेको होटल एभरेष्ट क्यासिनोको १० करोड ८७ लाख ५० लाख रुपैयाँ बक्यौता रहेको छ । होटल मल्लमा रहेको क्यासिनोको १० करोड ६५ लाख ७ हजार रुपैयाँ बक्यौता रहेको छ ।

त्यस्तैगरी होटल सोल्टी प्रालिमा रहेको क्यासिनोको ६ करोड १३ लाख ३३ हजार रुपैयाँ रहेको छ । त्यस्तैगरी ह्याप्पी आवर प्रालिको ९ करोड ६८ लाख रुपैयाँ बक्यौता रहेको छ भने क्यसिनो र्याडको ७५ लाख रुपैयाँँ बक्यौता बाँकी रहेको छ ।

यसबाहेक हायात रिजेन्सी र सांग्रिला होटलको पुरानो बक्यौता रकम पनि नभएको र अहिले सरकारलाई तिर्नुपर्ने रकम तिरेर नै नियमअनुसार क्यासिनो सञ्चानल भइरहेको पर्यटन विभागका महानिर्देशक दिनेश भट्टराईले जानकारी दिए ।

‘विभागले नसकेपछि केन्द्रीय तहसिलको कार्यालयको जिम्मा लगाएका छौ,’ भट्टराईले भने ।

रोयल्टी बुझाउने दायित्वमा विवाद

क्यासिनो नियमावली २०७० नआउँदासम्म कुनै पनि संस्था वा व्यक्तिले क्यासिनो सञ्चालन गर्ने अनुमति लिन पाउँदैन थिए । होटलले नै क्यासिनो सञ्चालन गर्ने इजाजत लिने र संस्थालाई भाडामा दिएर क्यासिनो सञ्चालन गर्ने परिपाटी थियो । जब सरकारले लामो समयसम्म इजाजत लिनेले रोयल्टी रकम नबुझाएपछि क्यासिनो बन्द गर्ने निर्णय गर्दै नयाँ नियमवाली लिएको छ ।

सरकारी अधिकारीहरु घरबेटीले भाडामा बस्नेसँग भाडा लिने र सरकारलाई घरवहाल कर बुझाउने दायित्व भएजस्तै भाडाका क्यासिनो सञ्चालन गर्ने अनुमति दिने होटलले नै पुरानो बक्यौता रकम बुझाउनुपर्ने तर्क गर्छन् । तर होटल संचालकहरु भने भवनको भाडा मात्रै लिएको भनेर उम्किदैं आएका छन् ।

कस्को कति बक्यौता ?

संस्था रकम
नेपाल रिक्रियसन सेन्टर ५३ करोड ५० लाख ३३ हजार
दी फुलबारी प्रा.लि २४ करोड ६६ लाख ७४ हजार
होटल याक एन्ड यति ११ करोड ८७ लाख ५० हजार
होटल एभरेष्ट इन्टरेनशनल १० करोड ३५ लाख ६२ हजार
होटल मल्ल १० करोड ६५ लाख ७ हजार
होटल सोल्टी ६ करोड १३ लाख ३३ हजार
ह्याप्पी आवर प्रालि ९ करोड ६८ लाख
होटल र्याडिसन ७५ लाख

स्रोतः कुमारी चोक तथा केन्द्रीय तहसिलको कार्यालय

Publish on: