काठमाडौँ । चालु आर्थिक वर्षमा पनि लक्ष्यअनुसार राजस्व उठाउन कठिन हुने देखिएको छ ।
गत वर्ष १४ खर्ब ३ अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य निर्धारण गरेको सरकारले १० खर्ब १० अर्ब रुपैयाँ मात्रै राजस्व उठाउन सकेको थियो ।
जबकी अघिल्लो वर्ष नै सरकारले ११ खर्ब १३ अर्ब रुपैयाँ राजस्व उठाएको थियो । ५५ वर्षपछि गत वर्ष अघिल्लो वर्षभन्दा कम राजस्व उठेको थियो ।
चालु आर्थिक वर्षमा सरकारले १४ खर्ब २२ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको छ ।
महालेखा नियन्त्रक कार्यालयले प्रकाशित गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको तीन सातामा गत वर्षभन्दा कम राजस्व उठेको छ ।
जबकी चालु आर्थिक वर्षको लक्ष्यअनुसार राजस्व संकलन गर्न गत वर्षभन्दा ४१ प्रतिशत बढी राजस्व उठाउनु पर्छ । चालु आर्थिक वर्षको तीन सातामा सरकारले गत वर्षभन्दा २१ करोड रुपैयाँ कम राजस्व संकलन गरेको छ ।
गत वर्ष साउन २२ गतेसम्म अन्य प्राप्ती सहित ४४ अर्ब २४ करोड रुपैयाँ राजस्व संकलन गरेको सरकारले चालु आर्थिक वर्षको सोही अवधीमा ४४ अर्ब ३ करोड रुपैयाँ मात्रै राजस्व संकलन गर्न सकेको छ ।
लक्ष्यअनुसार राजस्व संकलन गर्ने तीन सातामा ६२ अर्ब रुपैयाँ भन्दा बढी राजस्व संकलन गर्नु पर्ने थियो ।
तीन सातामा भन्सार महसुलको संकलनमा वृद्धी भएपनि मुल्य अभिवृद्धी कर, आयकर लगायतका शिर्षकमा संकलन हुने राजस्व घटेको अर्थ मन्त्रालयले जनाएको छ ।
आर्थिक वर्षको सुरुवाति केही साताको ट्रेण्डका आधारमा समग्र राजस्वको अनुमान गर्न नमिल्ने भए पनि हाल देखिएको ट्रेण्डले लक्ष्य अनुसार राजस्व कठिन हुने संकेत गरेको अर्थ मन्त्रालयका प्रवक्ता धनिराम शर्मा बताउँछन् ।
‘आयात बढ्न नसक्दा भन्सार विन्दुमा संकलन हुने राजस्व उल्लेख्य बढेको छैन,’शर्माले भने, ‘आगामी दिनमा आर्थिक गतिविधी बढ्यो भने आयात बढ्दै लक्ष्य अनुसार राजस्व संकलन हुन सक्छ । तर, अहिलेकै अवस्थामा आयात रह्यो भने राजस्व लक्ष्य पुरा गर्न कठिन हुन सक्छ ।’
अर्थ मन्त्रायको राजस्व व्यवस्थापन महाशाखाका अधिकारीहरु पेट्रोल र डिजलबाट चल्ने चार पांग्रे गाडीको आयात नबढ्दा सम्म राजस्व संकलन नबढ्ने बताउँछन् ।
बढी राजस्व संकलन हुने इन्धन र इन्धनबाट चल्ने सावरी साधानको आयात घटेकाले राजस्व प्रभावित भएको अर्थ मन्त्रालयका अधिकारीहरु बताउँछन् ।
‘चोरी तस्करी बढेर पनि राजस्व प्रभावित भएको हो । गत वर्ष चलेको तस्करीको लाइन पुर्णरुपमा बन्द गर्न समय लाग्छ ,’ अर्थ मन्त्रालयको राजस्व व्यवस्थापन महाशाखाका एक अधिकारीले भने,’ गत वर्ष तस्करी गर्दै भित्रिएकामा उपभोग्य बस्तुहरु अझै पनि गोदाममा भएकाले आयात नबढेको हुन सक्छ ।अहिलेको ट्रेण्ड हेर्दा ह्वात्तै आयात बढ्ने र राजस्व बढ्ने सम्भावना देखिएको छैन् ।’
SHARE YOUR THOUGHTS