![](https://internal.appharu.com/wp-content/uploads/2019/08/yogesh-bhattarai.jpg)
काठमाडौं । नेकपा एमालेका सचिव समेत रहेका प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले सुन तस्करी प्रकरणमा गृहमन्त्री र अर्थमन्त्री लगायतमाथि छानबिन गर्नुपर्ने भएकाले उच्चस्तरीय समिति गठन गर्नुपर्ने बताएका छन् ।
मंगलबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै भट्टराईले गृहमन्त्री र अर्थमन्त्रीमाथि नै बयान लिनुपर्ने अवस्था रहेको भन्दै के प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले लिन्छ भन्दै प्रश्न गरे ।
‘गृहमन्त्रीजी तपाईंको फिल्ड कमिसार को छ ? फिल्ड कमिसारले तपाईंको आदेश मानेको छैन कि फिल्ड कमिसारको सूचना तपाईंले भेरिफाइ गर्नुभएको छैन ?’ भट्टराईले प्रश्न गरे, ‘गृहमन्त्रीसँग कसले बयान लिन्छ, सीआईबीले लिन्छ, राजस्व अनुसन्धानले लिन्छ ?
उनले अर्थमन्त्रीसहित प्रधानमन्त्री कार्यालय, राष्ट्रिय अनुसन्धानसँग पनि प्रश्न रहेको बताए । विमानस्थलबाट यति धेरै परिणाममा सुन तस्करी हुँदा उनीहरु कहाँ थिए भन्दै भट्टराईले प्रश्न गरे
‘अर्थमन्त्रीसँग हाम्रो प्रश्न छ, प्रधानन्त्री कार्यालयसँग हाम्रो प्रश्न छ, राष्ट्रिय अनुसन्धान विभागसँग हाम्रो प्रश्न छ । यत्रा निकाय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुँदा यी कहाँ सुतेका थिए यिनीहरुमाथि प्रश्न कसले उठाउँछ ? सीआईबीले उठायो ? राजस्व अनुसन्धानले उठाउँछ ? भन्सार विभागले उठायो ? अध्यागमन कहाँ छ ? एयरपोर्ट म्यानेजमेन्ट कहाँ छ ? यी तमाम विषयको छानबिन नगरीकन यो फ्याक्ट फाइन्डिङ हुन सक्दैन ।’
राष्ट्रिय स्वतन्त्र पार्टीले सुन तस्करी प्रकरणमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेको र उसको भनाइ पनि उच्चस्तरीय छानबिन समिति गठनमै भएको बताउँदै उनले यसबारे भोटिङ गर्नु पर्ने बताए । सत्तापक्षका सांसदहरुले पनि उच्चस्तरीय छानबिन समिति गठनको माग गरेको भन्दै उनले संसदमा ह्वीप नलगाई भोटिङको व्यवस्था गर्न माग गरे । भट्टराईले समिति बनाउन हुन्न भनेर संसदले भने एमालेको आन्दोलन त्यही दिनबाट स्थगित हुने बताए ।
SHARE YOUR THOUGHTS