प्राधिकरणले किन रोक्यो सिम्रिक एयरको सबै उडान ? « Eglish Khabarhub

प्राधिकरणले किन रोक्यो सिम्रिक एयरको सबै उडान ?



काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरका सबै उडानमा रोक लगाएको छ ।

प्राधिकरणलाई तिर्नुपर्ने ४६ लाख नतिरेकाले भोलि शुक्रबारदेखि कम्पनीका सबै हेलिकोप्टरको उडान रोक्ने निर्णय गरिएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए ।

प्राधिकरणको टोलीले गरेको वित्तीय अडिटबाट सिम्रिक एयरको वित्तीय अवस्था पनि कमजोर देखाएकाले सम्भावित सुरक्षा जोखिमलाई मध्यनजर गर्दै उडान रोकिएको उनको भनाइ छ । 

'सिम्रिक एयरको वित्तीय अवस्थाका कारण पाइलट तथा कर्मचारीको पारिश्रमिक नै नपाउने अवस्था हुनु उडान सुरक्षाका दृष्टिकोणले गम्भीर मानिन्छ, त्यसैले प्राधिकरणले सिम्रिक एयरका सबै हेलिकोप्टरको उडानमा रोक लगाइएको हो', भूलले भने ।

नागरिक उड्डयन निमयावली-२०५८ र विमानस्थल सेवा शूल्क नियमावली-२०७८ बमोजिम सिम्रिक एयरको उडानमा रोक लगाइएको हो । भुलका अनुसार बक्यौता नतिरेसम्म उडान रोकिने र बक्यौता रकम भोलिनै बुझाएको खण्डमा उडान गर्न दिइने छ ।

सिम्रिक एयरसँग रहेका चार हेलिकोप्टरमध्ये एक बिग्रिएको र बाँकी तीनले उडान भर्दै आएका थिए । कम्पनीसँग दुई वटा बेल र दुई वटा एएस ३५० हेलिकोप्टर छन् । -रासस

Publish on: