![](https://internal.appharu.com/wp-content/uploads/2023/08/sunita-dangol-768x403.png)
काठमाडौं । काठमाडौं महानगरपालिकाको न्यायिक समितिमा उजुरी दिनेहरुको संख्या बढेको छ । अधिकांश उजुरी पसलहरु बन्द गर्न, सटर खाली गरिदिन, कोठा खाली गराइदिन लगायतका रहेका छन् ।
काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले न्यायिक समितिमा पछिल्लो समय उजुरी दिनेहरुको संख्या बढेको बताइन् । पसलहरु बन्द गर्न, सटर खाली गरिदिन, कोठा खाली गराइदिन माग गर्दै उजुरीहरु बढी परेको उनको भनाइ छ ।
न्यायिक समितिको इजलासमा प्रत्येक १० उजुरीमा ८ वटा उजुरीहरु बन्द र खाली गराइ पाउँ भन्ने किसिमले पर्ने गरेको डंगोलको भनाइ छ ।
न्यायिक समितिमा आएका उजुरीलाई हेर्दा काठमाडौंमा यस किसिमका संकेत देखिन राम्रो नभएको भन्दै उनले यस्ता घटना बढ्नु भनेको अर्थतन्त्त चलायमान हुन नसक्नु रहेको बताइन् ।
‘न्यायिक समितिको मुद्दाहरु हेरिरहँदाखेरी धेरैजसो अहिले पसलहरु बन्द गर्ने र सटर खालि गर्नुपर्यो, कोठा खाली गरिदिनुपर्यो भन्ने खालका विषय बढी आउन थालेको छ । न्यायिक समितिको इजलाश बस्दाखेरी दशवटा हेर्यो भने आठ वटा जति त कोठा खाली गराइपाउँ, सटर खाली गराइ पाउँ, सहकारी भाग्यो अब खालि गर्नुपर्यो भन्ने खालका यस्ता विषयहरु बढी आउन थालेको छ,’ डंगोलले भनिन्, ‘यसको संकेत पक्कैपनि राम्रो होइन । अहिले बजारमा धेरै पसलहरु बन्द हुन थालेको संकेत पनि हो । धेरै जनाले यो आर्थिक मन्दी आभाष गरिरहनु भएको छ । अर्थतन्त्र चलायमान नभएको भन्ने पनि यसले संकेत दिन्छ । यस्ता खालका विषयवस्तुहरु बढी आउन थालेको छ । र क्रम बढ्न थालेको छ । हरेक हप्ता यसका अपडेट लिदाँखेरी प्रतिशतमा बढ्न थालेको छ ।’
उपप्रमुख डंगोलले महानगरपालिकाले बजार अनुगमन र मूल्यांकनलाई तिब्रता दिने बताइन् । नीति, कार्यक्रम र बजेटलाई प्रभावकारी बनाउनका लागि अनुगमन र मूल्यांकन अत्यावश्यक भएकाले बजार र योजना अनुगमनलाई प्राथमिकतामा राखेको उनको भनाइ छ ।
महानगरपालिकाले शिक्षा, स्वास्थ्य खाद्यान्नसँगै योजना अनुगमनको पाटोलाई पनि प्रमुख विषय बनाएर अघि बढीरहेको भन्दै उपमेयर डंगोलले स्थानीय सरकारले हरेक उपभोक्ताले उपभोग गरिरहेको कुरा ठिक छ भन्ने विश्वास गर्ने वातावरण दिनसक्नुपर्ने बताइन् ।
‘अनुगमन र मुल्यांकन अर्को महत्वपूर्ण पाटो हो । हामीले बनाउने नीति, कार्यक्रम र बजेटलाई प्रभावकारी बनाउनका लागि अनुगमन र मूल्यांकन अत्यावश्यक छ । महानगरपालिका, स्थानीय सरकारको अनुगमनको विषयमा भन्नुपर्दा एउटा बजार अनुगमन र अर्को योजना अनुगमन । दुई वटैलाई हामीले चाडपर्व लक्षित मात्र नरहेर हरेकचोटी, हरेक दिन हुनुपर्ने हो । यो निरन्तर प्रक्रिया हो । त्यसकारण महानगरपालिकाले अहिले पनि अनुगमन हरेक दिन गरिरहेको छ’ उनले भनिन् ।
त्यसका लागि विभिन्न टोली बनाइएको उनको भनाइ छ ।
नियमित रुपमा अनुगमन गर्नु व्यापारीलाई हतोत्साही गर्नु नभएको उनको भनाइ छ ।
‘ठिक छ कि छैन भनेर जाँच गर्न जानु हो । त्यो कुरालाई सुनिश्चित गर्दै हामीले अनुगमनलाई पनि अगाडी बढाइरहेका छौँ । चालु आर्थिक वर्षमा पनि यो कामलाई निरन्तरता दिनेछौँ,’ उनले भनिन्, ‘अहिले भने हामीले जसरी खाद्यलाई प्राथमिकतामा राखेका छौँ, स्वास्थ्यलाई प्राथमिकतामा राखेका छौँ । विद्यालयहरुलाई प्राथमिकतामा राखेका छौँ । धेरै सेवाग्राहीहरु सँग जोडिएको क्षेत्रलाई प्राथमिकतामा राखेका छौँ । यो वर्ष ति क्षेत्रहरुलाई बिस्तारै बढाउँदै लग्ने योजना रहेको छ ।’
SHARE YOUR THOUGHTS