काठमाडौं । प्राइम कमर्शियल बैंकले राष्ट्र बैंकको ब्याजदर सम्बन्धी व्यवस्थाबिपरित निक्षेपको ब्याजदर बढाएको छ । प्राइम बैंकले आइतबार असोज महिनामा लागू हुने ब्याजदर सार्वजनिक गर्दै राष्ट्र बैंकको नियमको उल्लंघन गरेको हो ।
राष्ट्र बैंकको निर्देशन नं १५/०७९ मा सम्बन्धित वर्गका बैंकले प्रकाशित गरेको औषत ब्याजदरको १० प्रतिशतभन्दा ब्याज बढाउन नमिल्ने व्यवस्था छ ।
प्राइम बैंकले मुद्दति निक्षेपमा सर्कुलरअनुसार ब्याज बढाए पनि बचत खातामा भने नियमबिपरित ब्याज बढाएको हो ।
नेपाल बैंकर्स संघका अनुसार भदौ महिनाको क वर्गका बैंकको बचत निक्षेपमा औषत ब्याजदर ५.५०४ प्रतिशत थियो ।
अघिल्लो महिनाको औषत ब्याजदरको १० प्रतिशतसम्म ब्याज बढाउन मिल्ने राष्ट्र बैंकको सर्कुलरअनुसार असोजमा बचतको ब्याजदर ६.०५४ प्रतिशतभन्दामाथि पुर्याउन पाउँदैन ।
तर, प्राइमले बचतमा ६.३५८ प्रतिशत ब्याज दिँदै बचत र मुद्दति निक्षेपको ब्याजदर अन्तर ५ प्रतिशतमा कायम गर्न खोजेको छ । भदौ महिनामा बैंकहरुको मुद्दति निक्षेपमा औषत ब्याजदर १०.३२६ प्रतिशत थियो ।
‘प्राइम बैंकले राष्ट्र बैंकको नियमबिपरित ब्याजदर बढाएको छ, भोलि संशोधन नभए कारबाही हुने निश्चित छ,’ एक बैंकरले भने।
१० प्रतिशतसम्म ब्याज बढाउन मिल्ने सीमा अनुसार बैंक वित्तीय संस्थाले मुद्दतिमा ११.३५८ प्रतिशत सम्म ब्याज दिन पाउँथे ।
तर, मुद्दति र बचत खाताको ब्याजदर अन्तर ५ प्रतिशतभन्दा बढी गर्न नमिल्ने कानूनी व्यवस्थाले बैंक वित्तीय संस्थाले ११.३५८ प्रतिशतसम्म ब्याज बढाउन नपाएका हुन् । जसले गर्दा नविल लगायतका बैंकले मुद्दती निक्षेपमा ११.०५४ पुर्याएका छन् ।
असोजमा ५ बैंकले ब्याजदर बढाउँदा ४ बैंकले ब्याजरमा कुनै हेरफेर गरेका छैनन् । यस्तै ७ बैंकले ब्याजदर घटाएका छन् । जसले गर्दा असोजमा मुद्दतिको औषत ब्याजदर समेत भदौमा १०.३२६ बाट घटेर १०.२३४ प्रतिशत पुगेको छ ।
SHARE YOUR THOUGHTS