![](https://internal.appharu.com/wp-content/uploads/2023/08/onion-india.jpg)
एजेन्सी । भारतमा प्याजले एक पटक फेरी उपभोक्तालाई रुवाउने भएको छ । भारतमा कहिले निर्बाचनको कारण प्याजको मूल्य वृद्धि हुँदै आएको छ ।
कहिले भने उत्पादन खराव भएर त कहिले स्टक लुकाएको कारण मूल्य वृद्धि हुँदै आएको छ । यसपटक भने भिन्दै कारणले आम उपभोक्तालाई प्याजले नमज्जाले रुवाउने भएको हो । यसपटक भने व्यापारीले अनसन बस्ने तयारी गरेकाले प्याजको मूल्य माथि जाने अनुमान गरिएको छ ।
भारतका नीजि क्षेत्रका व्यापारीले सरकारी तथा सहकारीले तोकेको मूल्य अस्वीकार गर्दै अनसन बस्ने तयारी गरेका हुन् । त्यहाँका निजी क्षेत्रका व्यापारीले तोक्ने मूल्यभन्दा सरकारी र सहकारीले तोक्ने मूल्य सस्तो हुने गर्छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार भारतको महाराष्ट्र राज्यको नासिक जिल्लास्थित १५ वटा कृषि उत्पादन बजार समिति (एग्रीकल्चर प्रोड्युस मार्केट कमिटी–एपीएमसी) बाट प्याज खरिद गर्ने ५ सयभन्दा बढी प्यापारीले बुधबार अनिश्चितकालिन अनसन बस्ने घोषणा गरेका छन् । ति व्यापारीहरुले भारतको बजारमा हुने प्याजको निलामीमा समेत सहभागी नहुने निर्णय गरेका छन् ।
एपीएमसी भारत सरकारको स्वामित्वमा भएको किसानको हितकारी संस्था हो । यो एपीएमसीले किसानले उत्पादन गरेको कृषि उत्पादनको अधिकतम मूल्य र बजार सुनिश्चित गर्नुका साथै निर्धारित मूल्यमा किसानबाट खरिद गरि ठूला व्यापारीलाई बिक्री गर्दैआएको छ । एपीएमसीबाट प्याज खरिद नगर्ने र प्याजको निलामीमा समेत सहभागी नहुने प्याज व्यापारीको निर्णयका कारण आपूर्ति श्रृखला अनियमित भएर मूल्य बढ्न सक्ने संकेत दिएको छ ।
यस्तै भारतको दुई केन्द्रिय सरकारी निकाय नेशनल एग्रीकल्चर कोअपरेटिभ मार्केटिङ फेडरेशन अफ इण्डिया लिमिटेड (नेफेड) र नेशनल कोअपरेटिभ कन्ज्युमर्स फेडरेशन अफ इण्डिया लिमिटेड (एनसीसीएफ) ले पनि नासिकको किसानबाट प्याज खरिद गर्दैआएको छ । भारतमा सबैभन्दा बढी प्याजको उत्पादन नासिकमा हुने गर्छ ।
व्यापारीहरुका अनुसार नेफेड र एनसीसीएफले देशभरका आफ्ना एजेण्ट व्यापारीमार्फत किसानबाट प्याज खरिद गर्दै आएको छ । नेफेड, एनसीसीएफ र एपीएमसीबीच पनि प्याजको मूल्य भने फरक फरक छ । नेफेड र एनसीसीएफले करिब एउटै मूल्यमा प्याज बिक्री गरेपनि एपीएमसीले भने छुट्टै मूल्यमा बिक्री गर्छ । नेफेड र एनसीसीएफले बिक्री गर्ने मूल्यभन्दा एपीएमसीको मूल्यमा झण्डै प्रति क्वीन्टलमा ५ सय भारुदेखि ७ सय भारुसम्म अन्तर फेला परेको छ ।
भारतमा केहिदिन अघिसम्म प्रतिकिलो प्याजको मूल्य ३० भारुसम्म थियो । पछिल्लो समयमा यसको मूल्य बढेर ४० भारुसम्म पुगेको छ । व्यापारीले घोषणा गरेको अनसनका कारण अब प्रतिकिलो ६० भारुसम्म पुग्न सक्ने भारतीय बजार विश्लेषकहरुले औंल्याएका छन् ।
एक प्याज व्यापारीका अनुसार नेफेड र एनसीसीएफले न्युन मूल्यमा प्याज खरिद गर्दैआएको छ । नेफेडले अहिले १ हजार ५ सय भारु प्रति क्वीन्टलमा प्याज खरिद गर्दैआएको छ । यसको तुलनामा एपीएमसीले भने प्रति क्वीन्टल २ हजार भारुमा खरिद गर्दैआएको छ । व्यापारीहरुले नेफेड र एनसीसीएफ र एपीएमसीविरुद्ध अनसन बस्ने घोषणा गरेको हो ।
ति व्यापारीका अनुसार सबै खर्च गरि अहिले प्याजको मूल्य २ हजार ५ सय भारु पर्छ । तर भारतीय सरकारी र सहकारी संस्थाहरुले कम मूल्यमा प्याज बिक्री गर्दैआएका छन् । यसले गर्दा नीजि क्षेत्रका व्यापारीहरुलाई ठूलो मार परेको छ ।
२ लाख क्विन्टल अतिरिक्त प्याज खरिद गर्ने तयारी
नेफेड र एनसीसीएफले पहिलो चरणमा ३ लाख क्वीन्टल प्याज खरिद गरेको थियो । अहिले ति दुवै निकायले नासिकबाट २ लाख क्वीन्टल थप प्याज खरिद गर्ने प्रक्रिया अघि बढाएका छन् । नीजि क्षेत्रका व्यापारीहरुले प्याजको निर्यातमा लगाइएको ४० प्रतिशत शुल्क पनि खारेज गर्न माग गरेका छन् ।
SHARE YOUR THOUGHTS