![](https://internal.appharu.com/wp-content/uploads/2023/11/UK-Export-Finance-768x403.jpg)
बेलायत । बेलायतको सरकारी फाइनान्स कम्पनी यूके एक्सपोर्ट फाइनान्सले नेपालमा अढाई खर्ब लगानी गर्न तयार रहेको बताएको छ ।
बेलायतस्थित नेपाली दूतावासले आयोजना गरेको उच्चस्तरीय लगानी सम्मेलनमा यूके एक्सपोर्ट फाइनान्सका प्रमुख कार्यकारी अधिकृत टिम रिडले नेपालमा १.५ बिलियन पाउन्ड अर्थात् २ खर्ब ४३ अर्ब रुपैयाँसम्म लगानी गर्न तयार रहेको बताएका हुन् ।
कार्यक्रममा नेपाल सरकार र नेपालमा लगानी गरिरहेका ६ विकास वित्तीय संस्थाहरु- ब्रिटिस इन्टरनेसनल इन्भेस्टमेन्ट, बेलायत, एफएमओ, नेदरल्यान्ड, बायो, बेल्जियम, फिनफन्ड, फिनल्यान्ड, प्रोपार्को, फ्रान्स एवं साइफेम र स्विट्जरल्यान्डबीच नेपालमा विकास वित्तीय संस्थाहरुको लगानी सहजीकरण गर्नेसम्बन्धी एक समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
सम्मेलनमा बेलायती बैंकर्स, निजी लगानीकर्ताहरु, बीमा कम्पनीहरु, बेलायत लगायत युरोपेली मुलुकका विकास वित्तीय संस्थाका प्रतिनिधि, व्यापार मन्त्रालय एवं परराष्ट्र मन्त्रालयका पदाधिकारी, नेपाली डायस्पोरा, नेपालमा लगानी गरिरहेका बेलायती कम्पनीहरुलगायत करिब सय जनाको उपस्थिति थियो ।
नेपाल र संयुक्त अधिराज्यबीच सन् १९२३ मा सम्पन्न मैत्री सन्धीमा हस्ताक्षर भएको सय वर्ष पूरा भएको अवसरमा नेपाली दूतावासले सिटी अफ लन्डनको म्यान्सन हाउसमा उच्चस्तरीय लगानी सम्मेलन आयोजना गरेको हो ।
SHARE YOUR THOUGHTS