चितवन । भारतीय मोबाइल उत्पादक कम्पनी फास्टट्रयाक कम्युनिकेसन प्रालिले नेपाली व्यवसायीसँग सहकार्य गरेर नेपालमै मोबाइल सेट उत्पादन गर्ने भएको छ ।
उक्त कम्पनीले नेपालका व्यवसायीको कम्पनी प्रभु मोबाइल प्रालिसँग सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । सम्झौतापत्रमा प्रभुका तर्फबाट प्रबन्ध निर्देशक अर्जुन शर्मा र फास्टट्रयाकका तर्फबाट कम्पनीका निर्देशक योगेश चौगले हस्ताक्षर गरेका छन् । चौगले आउँदो एक वर्षभित्रमा नेपालमा मोबाइल सेट उत्पादन कम्पनी स्थापना गरिसक्ने बताए ।
काठमाडौँ वा चितवनमध्ये एक ठाउँमा उद्योग स्थापनाका लागि अध्ययन भइरहेको उनले बताए । सन् २००८ बाट भारतको उत्तरप्रदेशस्थित ग्रेटरनोयडाबाट कम्पनीले लेमन मोबाइल सेट उत्पादन गर्दै आएको छ । कम्पनीले अहिले २८ मोडलका मोबाइल उत्पादन गर्दै आएकामा १६ वटा मोडल नेपाली बजारमा बिक्री वितरण भइरहेको चौगले बताए ।
नेपालीले नेपाली उत्पादन मन पराएको आफूले पाएको भन्दै उनले नेपालीकै रोजाइ अनुसार उद्योग स्थापना गर्न लागिएको बताए । लेमन मोबाइल नेपाली बजारमा अहिले मासिक ३० हजार वटा बिक्री वितरण भइरहेको भन्दै चौगले यहाँको कानुन अनुसार नेपाली लगानीकर्तालाई कम्पनीमा समावेश गर्ने बताए।
प्रभु मोबाइल प्रालिका निर्देशक केशव लामिछानेले नेपालमा पहिलो पटक फास्टट्रयाकसँग मिलेर मोबाइल सेट उत्पादन गर्न लागेको बताए ।
‘लागत कति लाग्छ एकिन नभए पनि आवश्यक मात्रामा लगानी गर्न यो समूह तयार छ,’ उनले भने । कम्पनीले पाँच वटा नयाँ मोबाइल सेट नेपाली बजारमा ल्याएको छ ।
लेमन कम्पनीको मोबाइलको मूल्य बजारमा आठ सयदेखि तीन हजार तीन सय रुपैयाँसम्म पर्छ । नेपालमै यसको उत्पादन हुनसके मूल्य अझै घटाउन सकिने निर्देशक लामिछानेको भनाइ छ । फास्टट्रयाकले भारतमा वार्षिक रु दुई अर्ब बराबरको मोबाइल बिक्री गर्दै आएको बताइएको छ ।
SHARE YOUR THOUGHTS