२९ मंसिर २०८२, आइतबार

भारतबाट माला ल्याउन दिएको विषयमा प्लान्ट क्वारेन्टाइन प्रमुखको प्रतिक्रिया: नेपाली किसानको ठेक्का लिँदैनौं

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले नेपाली किसानले उत्पादन गरेका सयपत्री मालाको बजारको ठेक्का आफूले नलिएको बताएको छ ।

केन्द्रका प्रमुख सावित्री बरालले स्वदेशी किसान र उत्पादित पुष्पको बारेमा केन्द्रले ठेक्का नलिएको गैरजिम्मेवार जवाफ दिएकी हुन् ।

‘नेपालमा मागअनुसार सयपत्री फूलको उत्पादन हुँदैन । खपतको अधिकांश हिस्सा भारतबाटै आयात हुने हो । औंलामा गन्ने गरी दुई चार किसानले उत्पादन गर्दैआएका छन्,’ क्लिकमाण्डुसँग बरालले भनिन्,‘त्यो उत्पादनले बजारको माग थेग्दैन । स्वदेशी फूल र मालाले बजार पाएन भनेर हामी ठेक्का लिदैंनौ ।’

नियम पुर्‍याएर कसैले आयात गर्न अनुमति माग्दा आफ्नो कार्यालयले आवश्यक प्रक्रियाको आधारमा आयात गर्न अनुमति दिने बरालले जानकारी दिइन् ।

‘विश्व व्यापार संगठनको नेपाल पनि सदस्य राष्ट्र भएकाले नियम पुर्‍याएर आउने बस्तुलाई रोक्न मिल्दैन,’ बरालले भनिन्, ‘आयातकर्ताहरु सबै प्रक्रिया पूरा गरी अनुमति मागेकाले सयपत्री फूलको माला आयात गर्न हामीले अनुमति दिएका हौं । हामीले आयातमा रोक लगाउन सक्दैनौं ।’

प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले वनस्पतिजन्य बीउ र विरुवामार्फत रोग किटाणुहरु भित्रिन नपाओस् भनि त्यस्ता बस्तु आयात गर्दा प्रक्रिया पुर्‍याएर आयातको लागि अनुमति प्रदान गर्दैआएको छ ।

आवश्यक प्रक्रिया पूरा गरी फूल र माला आयात हुँदा नेपाली किसानको बजार खोसिने सम्भावना रहेको प्रश्नमा उनले भनिन्,‘तपाईं व्यापारी हो र ? खपतको करिब सम्पूर्ण हिस्सा आयात नै हुन्छ भने कसरी स्वदेशी किसानको पुष्पको बजार खोसिन्छ ?’

गैरजिम्मेबार रुपमा प्रस्तुत भएकी बरालले आफ्नो धारणा सकेर फोन वरिष्ठ वाली संरक्षण अधिकृत महेशचन्द्र आचार्यलाई जिम्मा लगाएकी थिइन् । क्लिकमाण्डुको सम्पर्कमा आएका आचार्यले स्वदेशी वस्तुको बजार गुम्न नदिने विषयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आवश्यक नीतिगत निर्णय गर्नुपर्ने बताए ।

‘खुला अर्थतन्त्रको वकालत गरेको नेपालले दुई चार किसानको पक्षमा मात्रै हित हुने गरी काम गर्दैन, कानूनले जे व्यवस्था गरेको छ, सोही आधारमा हामीले आयातका लागि अनुमति दिने हो,’ आचार्यले भने ।

भद्र सहमति तोडियो, आफूखुसी आयात गर्न दिइयो: पुष्प विकास केन्द्र

अघिल्लो वर्षको तिहारको समयमा काठमाडौंको गोदावरीस्थित पुष्प विकास केन्द्र र प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रबीच एउटा सहमति भएको थियो । तिहारको समयमा सयपत्री फूल र मालाको आयातमा कडाइ गर्ने भनेर ।

‘सोही सहमतिअनुसार गत वर्ष हामीले दिएको सिफारिशको आधारमा मात्रै फूल र माला आयात गर्न प्लान्ट क्वारेन्टाइनले अनुमति दिएको थियो,’ पुष्प विकास केन्द्रका प्रमुख सुधिर श्रेष्ठले भने,‘यसले गर्दा गत वर्ष सयपत्री फूल र माला आयात गर्न हामीले कडाइ गर्न सक्यौं । अपुग भएको फूल मात्रै आयात गर्न दिनका लागि सिफारिश दियौं ।’

तर यो वर्ष प्लान्ट क्वारेन्टाइनले फूल र माला आयात गर्दा पुष्प विकास केन्द्रसँग समन्वय नगरेको र सिफारिश बेगर नै आयात गर्न अनुमति दिएको आरोप श्रेष्ठको छ ।

‘हामीले नेपाली किसानको उत्पादनले बजार लियोस भन्ने उद्देश्य राखेर एउटा भद्र सहमति गरेका थियौं, त्यो सहमतिअनुसार आवश्यकताको आधारमा हामीले सिफारिश दिएको आधारमा मात्रै प्लान्ट क्वारेन्टाइनले आयातको लागि अनुमति दिने प्रक्रिया गत वर्ष सुरु भएको थियो,’ प्रमुख श्रेष्ठले भने,‘त्यो सहमति गत वर्ष पालनामा ल्याइदा नेपाली किसानको सयपत्री फूल र मालाले राम्रै बजार पाएको थियो ।’

तर यो वर्ष आयातको लागि अनुमति प्रदान गर्दा पुष्प विकास केन्द्रसँग समन्वय पनि नगरिएको र सिफारिस पनि नमागिएको श्रेष्ठले बताए ।

‘नेपाली किसानको उत्पादन गरेको सयपत्री फूल र मालाको बजार खोस्ने गरी समन्वय वेगर प्लान्ट क्वारेन्टाइनले आफुखुशी धमाधम आयातको लागि अनुमति प्रदान गर्‍यो,’ उनले भने ।

संघीय सरकार गठन पूर्व पुष्प विकास केन्द्र तत्कालीन कृषि विकास मन्त्रालयअन्तर्गत थियो । पुष्प विकास, विस्तार र बजारीकरणमा महत्वपूर्ण भूमिका खेल्दै आएको यो केन्द्र अहिले बागमती प्रदेश सरकार अन्तर्गत सञ्चालनमा छन् ।

प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रकी प्रमुख बरालले गत वर्ष जुन प्रक्रियाबाट सयपत्री फूल र माला आयात भएको थियो, सोहि प्रक्रियाअनुसार यो वर्ष पनि आयातको लागि अनुमति दिइएको दाबी गरिन् ।

स्वदेशी किसानले उत्पादन गरेको सयपत्री फूलको ३० लाख माला बजारमा ल्याउने तयारी भइरहँदा प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले पछिल्लो १ साताभित्र २५ लाख सयपत्री फूलको माला आयात गर्न अनुमति दिएको छ ।

केन्द्रले पछिल्लो १ साताभित्र भारतबाट सयपत्री फूलको माला आयात गर्न कात्तिक १५ गते ९ वटा अनुमतिपत्र जारी गरेको हो । प्रति अनुमतिपत्र बराबर ५० हजार किलोका माला बजार मूल्यअनुसार १२ करोड ५० लाख रुपैयाँमा आयात हुन थालेको छ ।

तिहारको मुखमा सरकारले ४ लाख ५० हजार किलो सयपत्रीको माला आयात गर्न अनुमति दिएको हो । एक किलोमा ५ वटा माला हुन्छ । ४ लाख ५० हजार किलोमा झण्डै २५ लाख सयपत्री फूलको माला आउँछ ।

नेपाली किसान र पुष्प व्यवसायीले प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले प्रति मालामा १ रुपैयाँ कमिसन खाएर तिहारको मुखमा आयातको लागि अनुमति दिएको आरोप लगाएका छन् ।

रोक्न सकिन्छ आयात

मुलुकमै पर्याप्त मात्रामा उत्पादन भइरहेको अवस्थामा त्यस्तै प्रकृतिको वस्तु आयात हुँदा स्वदेशी उत्पादनको बजार गुम्ने अवस्था आएमा सेफगाड्र्स, एण्टी डम्पिङ तथा काउन्टर भेलिङ ऐन २०७६ आकर्षित गरी आयातमा कडाई गर्न सकिने व्यवस्था सरकारले गरेको छ ।

ऐनको दफा ३ अन्तर्गत सेफगाड्र्स उपाय लगाउन सक्ने व्यवस्थाअनुसार कुनै मालवस्तुको आयातमा अनपेक्षित र अस्वाभाविक रुपमा ठूलो परिमाणमा वृद्धि भएको कारणले त्यस्तो मालवस्तुसँग मिल्दो जुल्दो वा समरुपका वा प्रत्यक्ष रुपमा प्रतिस्र्पधी मालवस्तु उत्पादन गर्ने स्वदेशी उद्योगलाई गम्भिर हानी नोक्सानी भएमा वा त्यस्तो हानी नोक्सानी हुन सक्ने आधारमा आयातमा कडाई गर्न प्रचलित कानून अनुसार लाग्ने भन्सार महसुलमा अतिरिक्त महसुल लगाउन सक्ने व्यवस्था गरिएको छ ।

आवश्यकताको आधारमा त्यस्ता मालवस्तुको आयातमा पूर्ण वा आँशिक परिमाणात्मक बन्देशसम्म लगाउन सकिने व्यवस्था उक्त ऐनले गरेको छ ।