![](https://internal.appharu.com/wp-content/uploads/2023/11/sarbajanik-sansthan1-768x403.jpg)
काठमाडौं । सरकारले सार्वजनिक संस्थानमा ७ खर्ब ८३ अर्ब रुपैयाँ लगानी खन्याउँदा पनि प्रतिफल दिनेमा जम्मा १५ वटा संस्थामात्रै छन् । सरकारले सञ्चालनमा भएका र नभएका गरी हालसम्म १४८ सार्वजनिक संस्थामा ऋण तथा सेयरमा लगानी गरेको छ ।
यस्तो लगानीबाट गत आर्थिक वर्ष २०७९/८० मा १५ वटा संस्थाले मात्रै सरकारले गरेको सेयर लगानीबापत २७ अर्ब ३८ करोड रुपैयाँ नगद लाभांश फिर्ता गरेका छन् ।
सरकारलाई गत आर्थिक वर्षमा नगद लाभांश फिर्ता गर्नेमा पहिलो नम्बरमा नेपाल राष्ट्र बैंक छ । राष्ट्र बैंकले गत वर्ष सरकारलाई ११ अर्ब ७ करोड रुपैयाँ दिएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांकले देखाएको छ ।
नेपाल टेलिकम सरकारलाई लाभांश दिने संस्थाको दोस्रो नम्बरमा परेको छ । टेलिकमले गत आवमा ५ पटक गरेर सरकारलाई ६ अर्ब ५८ करोड रुपैयाँ लाभांश दिएको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणले ५ अर्ब ५१ करोड रुपैयाँ लाभांश दिएको छ । कृषि विकास बैंकले १ अर्ब ६ करोड, राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब र नेपाल नागरिक उड्डयन प्राधिकरणले ५८ करोड रुपैयाँ लाभांश बुझाएका छन् ।
![](https://internal.appharu.com/wp-content/uploads/2023/11/sarbajanik-sansthan.png)
SHARE YOUR THOUGHTS