झापा । झापाको अर्जुनधारा जलेश्वर धामले बालाचतुर्दशी मेलाको अवसरमा ४ लाख धार्मिक पर्यटक भित्र्याउने लक्ष्यसहित तयारी गरेको छ ।
पूर्वको पशुपतिनाथका रुपमा परिचित उक्त धामले ४१ औँ वार्षिक अनुष्ठानको आयोजना गरी ४ लाख धार्मिक पर्यटक भित्र्याउने तयारी थालेको हो ।
विसं २०३९ देखि यहाँ बर्षेनी अनुष्ठान हुँदै आएको धाम समितिका अध्यक्ष नवीन गट्टानीले जानकारी दिए । मङ्सिर १७ देखि २५ गते ९बालाचतुर्दशीका दिनसम्म० नौ दिवसीय श्रीमद् देवीभागवत महापुराण गरिने जनाउँदै मङ्सिर १९ देखि २४ गतेसम्म दैनिक योग साधना शिविरको आयोजना गरी सो पर्यटक भित्र्याउने तयारी गरिएको उनले बताए ।
यो वर्षको मेलामा नेपाल, भारत र भूटानका ४ लाख धार्मिक तीर्थयात्री आउने अपेक्षा गरिएको गट्टानीको भनाइ छ । अर्जुनधारा जलेश्वरधाम झापाको अर्जुनधारा नगरपालिका–७ शनिश्चरेमा पर्छ ।
सरकारले नेपालको एक सय पर्यटकीय गन्तव्यको सूचीमा सूचीकृत गरेको यो धाममा पशुपतिनाथकै जस्तो प्योगोडा शैलीमा शिव मन्दिर, चार ढोका र तामाको छानो निर्माण गरिएको उनले जानकारी दिए । उनका अनुसार मन्दिरको तस्वीरलाई सरकारले हुलाक टिकटमा सङ्केत अङ्कित गरिसकेको छ ।
“महाभारतकालीन किंवदन्तीअनुसार पाँच पाण्डवले गुप्तबास बसेका बेला अर्जुनले तिर्खाएका विराट राजाका गाईहरुको प्यास मेटाउन धनुषवाण हानेर धरतीभित्रबाट जलधारा निकालेको पवित्र स्थानका रुपमा यस धामलाई मानिएको छ”, अध्यक्ष गट्टानीले भने, “विराट राजाको गाई हरण गरेर लगेपछि अर्जुनले युद्धबलद्वारा ती गाईहरु पुनःफर्काएर ल्याएका भन्ने भनाइ प्रख्यात छ ।”
उनका अनुसार अहिले धाम परिसरमा रहेको ठूलो पोखरीको माझमा अर्जुनले धनुषवाण हानिरहेको मूर्ति स्थापना गरिएको छ भने पानीको धारा अनवरत बगिरहेको छ ।
बालाचतुर्दशीका अवसरमा आयोजना हुने अनुष्ठानमा भारतको प्रसिद्ध पतञ्जली योगपीठ हरिद्वारका आयुर्वेद शिरोमणि आचार्य बालकृष्ण प्रमुख अतिथिका रुपमा आउनुहुने धाम समितिका कोषाध्यक्ष मनोज जोशीले जानकारी दिए । उनका अनुसार आचार्य बालकृष्णसहित पतञ्जली योगपीठका योग प्रशिक्षकको टोली धाममा आएर छ दिनसम्म योग साधना गराउने कार्यक्रम तय भएको छ ।
SHARE YOUR THOUGHTS