![](https://internal.appharu.com/wp-content/uploads/2023/12/visit-visa-768x503.jpg)
काठमाडौं । नक्कली कागजातका आधारमा मिलेमतो गरि भ्रमण भिसामा विदेश पठाएर मानव तस्करी गरेको अभियोगमा प्रहरीले एक ट्राभल्स सञ्चालकलाई पक्राउ गरेको छ ।
गैरकानुनी रुपमा काम गरेको अभियोगमा मोरङको पथरी शनिश्चरे नगरपालिका–७ घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका–४ इमाडोल बस्ने ‘सिटी टुर्स एण्ड ट्राभल्स’ का सञ्चालक ४५ वर्षीय विनोद कार्कीलाई पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए।
उनका अनुसार भ्रमण भिसामा विदेश जान लागेका युवायुवतीको शङ्कास्पद कागजात सहित राहदानी १ हजार पाँच सय १३ थान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट प्राप्त भएको छ ।
उक्त कागजातमध्ये २ सय ४६ कागजात नक्कली भेटिएको छ । यस्तै कक्षा १२ को प्रमाणपत्र, श्रम स्वीकृति, नाता प्रमाणित, प्रहरी रिपोर्ट र बैंक विवरणसमेत नक्कली भेटिएकाले उक्त कागजात बनाउने व्यक्तिको पहिचान गर्ने कार्कीलाई पक्राउ गरिएको हो ।
उक्त नक्कली कागजातका आधारमा के–कसरी विदेश पठाइने रहेछ भन्ने विषयमा अनुसन्धान गर्दा एजेन्ट, कन्सलटेन्सी, ट्राभल्स एजेन्सीले एयरलाइन्सलाई प्रतिव्यक्ति १० हजारदेखि १५ हजार रुपैयाँसम्म र अध्यागमनका कर्मचारीलाई प्रतिव्यक्ति ४० हजारदेखि ५५ हजार रुपैयाँसम्म दिएर मिलाएर विदेश पठाउने गरेको खुलेको छ ।
त्यस्तो कार्यमा संलग्न ट्राभल्स सञ्चालक कार्कीलाई काठमाडौँको बल्खुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी परिसर टेकु पठाइएको प्रवक्ता तथा प्रहरी उपरीक्षक रेग्मीले बताए।
SHARE YOUR THOUGHTS