काठमाडौं । कोरिया रोजगारीका लागि सिप बिल्डिङमा अनुत्तीर्ण परीक्षार्थीले उत्पादन क्षेत्रमा फाराम भर्न पाउने भएका छन् । इपीएस कार्यालयले बुधबार सूचना जारी गर्दै सिप बिल्डिङमा अनुत्तीर्ण परीक्षार्थीले उत्पादनमूलक क्षेत्रमा फाराम भर्न पाउने जानकारी गराएको हो ।
सूचनामा निवेदकहरुले माघ १३ गते बिहान १० वजे देखि ३ बजेसम्म ईपीएस शाखा ग्वार्कोमा सक्कल पासपोर्ट, पासपोर्ट साइजको फोटो सिप बिल्डिङमा परीक्षाको प्रवेशपत्र र तोकिएको शुल्क लिइ सम्पर्क गर्नु अनुरोध गरिएको छ । तोकिएको मितिमा सम्पर्क हुन नआएमा शाखा जवाफदेही नहुने सूचनामा उल्लेख छ ।
शाखाबाट मंसिर १९ गतेमा उत्पादनमूलक क्षेत्रतर्फको कोरियन भाषा परीक्षाको आवेदन फाराम भर्न सूचना प्रकाशन गरिएको थियो । उक्त सूचनाको बुँदा नं. ५ (च) मा सन् २०२३ भित्र अन्य क्षेत्रतर्फ कोरियन भाषाको परीक्षाको लागि आवेदन दिएका आवेदकहरुले उत्पादनमूलक क्षेत्रमा फर्म भर्न नपाउने भनिएको थियो ।
त्यसविरुद्ध सन् २०२३ मा सिप बिल्डिङ क्षेत्रमा सामेल भएका आवेदकहरुमध्ये सुरज पाठकसमेत १८ जनाले सन् २०२३ मा आवेदन माग गरिएको उत्पादनमूलक क्षेत्रमा परीक्षा आवेदन फाराम भर्न पाउनुपर्ने माग राखी ईपीएस शाखा, वैदेशिक रोजगार विभाग, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई विपक्षी बनाई उच्च अदालत पाटनमा निवेदन पेस गरेका थिए ।
निवेदनको सम्वन्धमा उच्च अदालत पाटनबाट जारी भएको अन्तरीम आदेशमा निवेदकहरुको हकमा उल्लेखित मिति २०८० मंसिर १९ गतेको सूचनाबमोजिम पुस २ गतेबाट खुल्ला गरिएको आवेदन फाराम भर्न रोक नलगाउनु र निवेदकहरुलाई आवेदन फाराम भर्न दिनु भनी विपक्षीहरुको नाममा उच्च अदालत नियमावली २०७३ को नियम ४२ बमोजिम अन्तरिम आदेश जारी भएको हुँदा सम्बद्ध सवै निवेदकहरुमा फारामको लागि अनुरोध गरिएको छ ।
SHARE YOUR THOUGHTS