
काठमाडौं । चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मा ६१ करोड २० लाख रुपैयाँको बिजुली बिक्री गर्दा ३७ करोड ९१ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
चिलिमेले सार्वजनिक गरेको चालु आवको पहिलो ६ महिनासम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार यो कम्पनीको विद्युत् व्यापारबाट भएको आम्दानी करिब २ करोड रुपैयाँले घटेको छ ।
गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ६२ करोड ४८ लाख रुपैयाँको बिजुली बेचेको थियो । बिजुली बेचेर कमाएको आम्दानी घटेको कारण यसको खुद नाफा पनि घटेको देखिएको छ । यो कम्पनीले गत वर्षको पुससम्मा ४० करोड १२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमेबाट गत आर्थिक वर्षको पुस मसान्तसम्मको तुलनामा न्यून अतिरिक्त विद्युत उर्जा खरिद गरेका कारण विद्युत बिक्री आम्दानी घटेको वित्तीय विवरणमा उल्लेख छ ।
नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १ रुपैयाँ ५६ पैसा घटेर ९ रुपैयाँ ५० पैसामा सीमित भएको छ । पुस मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ १३१ रुपैयाँ ८० पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ५५.२० गुणा रहेको छ ।
७ अर्ब ९८ करोड रुपैयाँ चुक्ता पूँजी चिलिमेको रिटेन्ड अर्निङ्ग २ अर्ब ५३ करोड रुपैयाँ रहेको छ ।
SHARE YOUR THOUGHTS