
काठमाडौं। बजार विस्तारमा आक्रामक रणनीतिका साथ अघि बढेको एनआइसी एशिया बैंकको उक्त रणनीति फेल खाएको छ । बैंकको आकार ठूलो बनाउने तीब्र दौडमा रहेको यो बैंक अहिले विगतमा आफूले अंगालेको रणनीति फेल भएको स्वीकार गर्न थालेको छ ।
आक्रामक बजार विस्तारमा उत्रिन एनआइसी एशिया बैंकले सबैभन्दा शाखा विस्तारमा जोड दियो । तर, अहिले तीनै शाखाहरु घाँडो भएका छन् ।
एनआइसी एशिया नेपालमा सञ्चालित बैक तथा वित्तीय संस्थाहरुमध्ये सबैभन्दा धेरै शाखा भएको बैंक हो । अहिले बैंकसँग ३६० शाखा, ६४५ एटिएम, ११० वटा विस्तारित काउन्टर र ६१ शाखारहित इकाइ छन्। शाखा र कर्मचारी बढी हुँदा बैंकको सञ्चालन खर्च अत्याधिक छ ।
विगतमा अन्धाधुन्धा खोलिएका शाखाहरु लगातार घाटामा जान थालेपछि एनआइसी एशियाले देशभर रहेका कम्तिमा ५० शाखा र दर्जनबढी एक्सटेन्सन काउन्टर बन्द गर्न पाऊँ भनेर नियामक नेपाल राष्ट्र बैंकमा निवेदन दिएको छ । निवेदन मात्रै होइन बैंकका उच्च व्यवस्थापनले राष्ट्र बैंकका अधिकारीहरुसँग शाखाहरु घाटामा गएका कारण संस्थालाई नै गाह्रो परेको भन्दै स्वीकृति दिन अनुनय विनय गरिरहेका छन् ।
तर, राष्ट्र बैंक भने शाखा बन्द गर्न दिने मुडमा छैन ।
‘बैंक भनेको अत्यन्तै संवेदनशील क्षेत्र हो, घर छेउमै बैंक पुगेपछि वित्तीय पहुँच पनि पुगेको छ, कतिपय ठाउँमा त फलानो बैंक भएको ठाउँमा भेटौ न है भन्ने वा त्यो बैंकको नाममा चोककै नाम समेत बनेको छ,’ राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरु पौडेलले क्लिकमान्डुसँग भने, ‘त्यसैले बैंकले जुनबेला चाहियो त्यहीबेला बन्द गर्छु भन्दा हामी अनुमति दिन सक्दैनौं ।’
नियमअनुसार शाखा खोल्न र बन्द गर्न राष्ट्र बैंकको स्वीकृति लिनुपर्ने हुन्छ ।
अन्धाधुन्ध शाखा खोलेर एकलौटी बिजनेश गर्ने र छोटो समयमा सबैभन्दा ठूलो बैंक बन्ने दौडमा रहेको एनाइसी एशियाको रणनीति आफ्नै लागि आत्मघाती भएको छ । सरकारले व्यवसाय नदिने पक्का भएपछि एनआइसी एसियाले यसअघि पनि स्थानीय सरकार र मातहतका सरकारी कार्यालयमा भएका विस्तारित काउन्टर बन्द गरिरहेको छ।
 
		                		                 
 
 About Us
 About Us
प्रतिक्रिया