![](https://internal.appharu.com/wp-content/uploads/2024/02/buddha-yeti-and-shree-airlines.png)
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तारले यती र श्री एयरलाइन्सको विमानस्थलभित्रैको ह्यांगर विस्थापित भएका छन् ।
यी दुबै वायुसेवाले दशकौं अगाडिदेखि आ-आफ्ना वायुेवाको मर्मतसंभारका लागि प्रयोग गर्दै आएको ह्यांगर विमानस्थल विस्तारको क्रममा हटाउनुपरेको छ । दुबै वायुसेवाले हालको साना क्षमताको ह्यांगर हटाएर अब विमानस्थलमा अहिलेसम्मकै ठूला ह्यांगर बनाउने भएका छन् ।
यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार सन् २००७ देखिको प्रयोगमा आएको ह्यांगर भत्काउनुपर्ने भएको छ । उक्त ह्यांगर विमानस्थल विस्तारले भत्किएसँगै अब अन्तर्राष्ट्रिय उडानको ए ३२०-२०० सिरिजको एयरवसको न्यारोबडी जहाज अट्ने गरी बन्ने भएको छ ।
अब बन्ने यस्तो ह्यांगर हाल बुध्द एयरले बनाएको भन्दा ठूलो हुने सम्बन्धित वायुसेवाले बताएका छन् । हाल विमानस्थलमा ठूलो ह्यांगर मानिएको बुध्द एयरले एटीआर ७२-५०० नामक ७२ सिट क्षमताको जहाजभित्रै राखेर मर्मत गर्न सक्छ ।
श्री एयरलाइन्सको भने हेलिकप्टर मर्मत गर्ने मात्रै ह्यांगर विमानस्थलमा छ । यसको ह्यांगर भने सानो भएकोले हेलिकप्टर बाहिरै राखेर मर्मत गर्ने गरिएको थियो ।
‘अब बन्ने ह्यांगर भने एयरवसको न्यारोबडी नै राखेर मर्मत गर्न सक्ने क्षमताको हुने भएकोले अब बन्ने ह्यांगरपछि भने धेरै काम यहीबाट हुन्छ बाहिर जानु पर्दैन,’ मानन्धरले भने ।
यतीको ह्यांगर भने जेटस्टीम र स्वीअटरको लागि मात्रै छ । अब नयाँ बन्ने दुई वायुसेवा यती र श्रीएयरले भने एयरवसको न्यारोवडी जहाज ह्यांगरभित्रै राखेर मर्मत गर्न सक्ने गरी बन्ने बताएका छन् । यस्तो ह्यांगर हालको बुध्द एयरको भन्दा ठूलो हुने गरी उपयुक्त स्थान तोकिइसकेको जानकारी दुबै वायुेवा कम्पनीले दिएका छन् ।
हालको विमानस्थलको फायरस्टेसनको छेउमा ह्यांगर बनाउने स्थान पाएका यती र श्रीले दुई वर्षभित्रमा नयाँ ह्यांगर बनाइसक्ने भएका छन् । नयाँ ह्यांगर एउटा निर्माण गर्न करिब ५० करोड रुपैयाँको हाराहारीमा खर्च लाग्ने श्री एयरलान्इसका कर्पोरेट प्रवन्धक अनिल मानन्धरले बताए ।
विमानस्थलमा नेपाल एयरलाइन्सले पनि नयाँ ह्यांगर बनाउँदै छ । निगमको भने एउटै ह्यांगर न्यरोवडी र वाइडबडी राखेर मर्मत गर्नसकिने क्षमताको हुन्छ । निगमले भने विमानस्थलमै जहाज मर्मत सम्भारको लागि नयाँ कम्पनी (एमआरओ) खोल्न लामो समयदेखि गरेको प्रयास अझै पूरा हुन सकेको छैन ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एसियाली विकास बैंकले तयार पारेको गुरुयोजना अनुसार, विमानस्थलको उत्तर-पश्चिममा अन्तर्राष्ट्रियस्तरको जहाज पार्किङ गरिने एप्रोन बनाउने काम भइरहेको छ । विमानस्थलको धावनमार्गको दुवैतर्फ समानान्तर ट्याक्सी–वे (जहाज पार्किङ स्थल) निर्माण तथा विस्तार र जहाजका लागि ह्यांगर क्षेत्र निर्माण भइरहेको छ ।
SHARE YOUR THOUGHTS