कर नतिर्ने १२६ जनालाई १५ दिने अल्टिमेटम, साढे १२ करोड नबुझाए कारबाही « Eglish Khabarhub

कर नतिर्ने १२६ जनालाई १५ दिने अल्टिमेटम, साढे १२ करोड नबुझाए कारबाही



काठमाडौं । आन्तरिक राजस्व कार्यालय धनगढी कैलालीले १२६ जना करदातालाई १५ दिनभित्र १२ करोड ४८ लाख ९४ हजार २८५ रुपैयाँ बक्यौता कर दाखिला गर्न भनेको छ ।

१२६ करतादामा ११८ करदाताले मूल्य अभिवृद्धि कर र बाँकी ८ कम्पनीले आयकर तिर्न बाँकी रहेको छ । कर तिर्न बाँकी हुनेमा अस्पताल, उद्योग, निर्माण कम्पनी लगायत रहेका छन् ।

करदाताहरुलाई कर बक्यौता रकम दाखिला गर्न विभिन्न मितिमा फोन सम्पर्क संकलन भ्रमण, एसएमएस तथा पत्राचार गरी जानकारी गराएकोमा हालसम्म पनि कर बक्यौता दाखिला नगरेको तथा कतिपय करदाताहरुलाई हुलाकमार्फत जानकारी गराउँदा पनि कर नतिरेको कार्यालयले जनाएको छ ।

पत्र तथा जानकारी प्राप्त नगरेको भए आफूले तिर्न बाँकी रहेको कर समयमा नै तिर्न भनेको छ । १५ दिनभित्र बक्यौता फरफारक नभएमा आय कर तथा अग्रीम कर बक्यौताको हकमा आय कर ऐन २०५८ को दफा १०४ देखि दफा १११ सम्म तथा मूल्य अभिवृद्धि कर बक्यौताको हकमा मूल्य अभिवृद्धि कर ऐन २०५२ को दफा २१ तथा अन्त शुल्कको हकमा अन्त शुल्क ऐन २०५८ को दफा १० मा उल्लेखित केही वा सबै प्रकृया अपनाई कर असुल उपर गर्ने जनाएको छ ।

जेभी फर्महरुको नाममा रहेको बक्यौताको हकमा मूल्य अभिवृद्धि कर ऐन २०५२ को दफा १० बमोजिम जे भी मा आवद्ध प्रत्येक फर्मको प्रोपराईटर संचालक तथा साझेदारलाई व्यक्तिगत रुपमा जिम्मेवार बनाई त्यस्ता व्यक्तीहरुको चल अचल सम्पत्ती कब्जा गरी लिलाम बिक्री गरेर बैंक तथा वित्तिय संस्थामा रहेको रकम कट्टा गर्ने जनाएको छ ।

Publish on: