काठमाडौं । मिलन बहुउद्देश्यीय सहकारी संस्थाले सहकारी बैंकबाट लिएको ऋण नतिरेपछि सहकारी बैंकले अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष तथा सञ्चालकको सम्पत्ति लिलामी गरेर उठाउने भएको छ ।
सहकारीको न्युरोड शाखाले बैंककाट लिएको ऋणको साँवा, ब्याज र हर्जना रकम नतिरेको भन्दै ३५ दिन भित्र तिर्न भनेको छ । सहकारीलाई मौखिक तथा लिखित रुपमा कर्जा तिर्न बुझाउन बारम्बार ताकेता गर्दा समेत संस्थाले तिर्न बुझाउनु पर्ने कर्जाको साँवा, व्याज, हर्जना तथा दस्तुर रकम समेत भुक्तानी नगरी आलटाल गरेको जनाएको छ ।
३५ दिनभित्र बैंकलाई बुझाउनु पर्ने कर्जाको साँवा, ब्याज, तथा हर्जना समेत बुझाउनुहुन सम्बन्धीत ऋणी संस्था, धितो जमानतकर्ता र जमानीकर्ताहरुलाई आग्रह गरेको छ ।
३५ दिन भित्र बक्यौता भएको सम्पूर्ण कर्जा रकम चुक्ता भुक्तान नगरेमा ऋण लिंदा बैंकलाई लेखाई दिएको धितो लिलाम गर्ने जनाएको छ । धितोबाट असुल उपर हुन नसके वा असुल उपर नभएमा ऋणी संस्थाको पदाधिकारीको वा निजहरुको एकाघर संगोल परिवारको नाममा रहेको चलअचल सम्पत्ती तथा अन्य जायजेथा सम्पत्तीबाट बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, सहकारी ऐन, नियमावली तथा प्रचलित कानून बमोजिम असुल उपर गरी लिने जनाएको छ । साथै सहकारीका पदाधिकारीहरु तथा जमानीकर्ताहरुलाई कालो सूचि राख्ने जनाएको छ ।
ऋणलिँदा सहकारीका अध्यक्ष भागवत श्रेष्ठ, उपाध्यक्ष अमुल्य मानन्धर, सचिव अनिल कुमार श्रेष्ठ, कोषाध्यक्ष दिनेश बज्र बज्राचार्य, सञ्चालक किरण लाल श्रेष्ठ, अनिल रत्न तुलाधर र शुसिल कुमार श्रेष्ठ रहेका छन् ।
सहकारीले ऋण लिँदा काठमाडौं महानगरपालिका–२२ मा रहेको मिलन बहुउद्देश्यीय सहकारीको नाममा मालपोत कार्यालय डिल्लीबजारमा दर्ता श्रेस्ता कायम रहेको काठमाडौं महानगरपालिका–३० को कित्ता नं. २६०६ को क्षेत्रफल १५८९.८० बर्ग मिटर जग्गा धितो रहेको छ ।
SHARE YOUR THOUGHTS