
काठमाडौं । सरकारले नेपालमा १ लाख ९ हजार जना युवा बेरोजगार भएको तथ्याङक सार्वजनिक गरेको छ । श्रम तथा रोजगार मन्त्रालय अन्तरगतको श्रम विभागले सो तथ्याङक सार्बजनिक गरेको हो ।
श्रम विभागको १४ अन्चलमा स्थापना गरेको रोजगार सूचना केन्द्रले उपलब्ध गराएको विवरणका आधारमा १ लाख ९ हजार ८ जना युवा बेरोजगार रहेको तथ्याङक सार्बजनिक गरिएको हो ।
विभागले स्थापना गरेका रोजगार सुचना केन्द्रको सम्पर्कमा आएका बेरोजगारको मात्रै तथ्यांक राखिएको विभागका महानिर्देशक देवकुमार ढकालले जानकारी दिए ।
विभागका निर्देशक हरि शर्मा नै सो तथ्यांकभन्दा धेरै युवा बेरोजगार भएको स्वीकार गर्छन् ।
‘सूचना केन्द्रले उपलब्ध गराएको विवरणका आधारमा तथ्याङक निकालेका हौं,’ शर्माले क्लिकमाण्डूसँग भने ।
| रोजगार सुचना केन्द्र | आव ०७३÷७४ | अघिल्ला बर्ष | कुल बेरोजगार |
| झापा | २८१ | ४३५५ | ४६३६ |
| विराटनगर | २०४४ | ३८२९ | ५८७३ |
| जनकपुर | ८५७ | ७८०६ | ८६६३ |
| हेटौडा | ५८३ | ६८५१ | ७४३४ |
| काठमाण्डौ | १९९४ | ४९२७ | ६९२१ |
| पोखरा | ८३७ | ५४७५ | ६३१२ |
| बुटवल | ३७४७ | ७४२९ | १११७६ |
| नेपालगंज | १८९२ | ५७९४ | ७६८६ |
| धनगढी | १६२१ | १०६६६ | १२२८७ |
| जुम्ला | ५५४ | ५५७४ | ६१२८ |
| महेन्द्रनगर | १०२४ | ७५६३ | ८५८७ |
| पर्वत | ८४८ | ४४३५ | ५२८३ |
| दाङ | १०९६ | १२३१५ | १३४११ |
| उदयपुर | ७६८ | ३८४३ | ४६११ |
अहिले झन्डै ४० लाख युवा बैदेशिक रोजगारीमा रहेको अनुमान गरिएको छ । दैनिक १५ जना नेपाली युवा रोजगारीको लागि दैनिक विदेश जाने गरेको तथ्यांक श्रम मन्त्रालय अन्तरगतकै बैदेशिक रोजगार विभागले सार्बजनिक गरिरहेको समयमा सो मन्त्रालय अन्तरगको अर्काे विभाग श्रमले भने जम्मा १ लाख युवा मात्रै बेरोजगार रहेको हास्यास्पद तथ्यांक सार्बजनिक गरेको हो ।
विभागको तथ्याङक अनुसार देशमा सबैभन्दा बढी बेरोजगार युवा सेती अञ्चलमा र सबैभन्दा कम सगरमाथा अन्चलका छन् । सेती अञ्चलमा १३ हजार १ सय ४१ र सगरमाथा अञ्चलमा ४ हजार ६ सय ३६ जना युवा बेरोजगार छन् ।

प्रतिक्रिया