
काठमाडौं । गत सोमबारदेखि तरंगित बनेको देशको राजनीति अझै स्थीर बन्न सकेको छैन । नेपाली कांग्रेस नेतृत्वको गठबन्धन छाडेर एमाले लगायतका दलसँगको गठबन्धन बनाएका प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबारै एमाले, माओवादी र रास्वपाका एक/एक जना सहभागी गराएर मन्त्रिपरिषद् पुनर्गठन गरे पनि सपथ लिएका मन्त्रीहरुले मन्त्रालयको जिम्मा पाउन सकेका छैनन् ।
सोही साँझ नेकपा एमाले, माओवादी, रास्वपा र जसपाले ८ बुँदे सहमतिपत्रमा हस्ताक्षर गर्दै सार्वजनिक गरेका भए पनि त्यसयता सरकार विस्तार हुन सकिरहेको छैन ।
गठबन्धन दलहरुबीचमा मन्त्रालयमा भागबण्डा मिल्न सकेको छैन भने गठबन्धनमा सहभागी हुने दलहरुको पनि टुंगो लाग्न सकेको छैन ।
प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरु एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई आफूहरुको गठबन्धनमा सहभागी हुन आग्रह गर्दै नेपाल निवास कोटेश्वर पुगिरहेका छन् तर ठोस सहमति हुन सकेको छैन ।
त्यतिमात्र होइन ८ बुँदे सहमति गरिसकेको जसपाले प्रारम्भिक मन्त्रिपरिषद् विस्तारमा कसैलाई पनि नपठाउदा एमाले माओवादी, रास्वपा तनावमा परेका छन् ।
‘गठबन्धन दलहरुले सहमति पत्र सार्वजनिक गरे पनि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । पार्टीहरुबीच मन्त्रालय र प्याकेजमा सहमति गर्ने कुरामा निर्णय हुन सकिरहेको छैन,’ माओवादी केन्द्रका एक नेताले भने, ‘जसपाले सहमति गरे पनि पहिलो चरणमा मन्त्री नपठाउँदा संशय बढिरहेको हो । तर आज वा भोलिभित्र सरकार विस्तार हुन्छ ।’
नयाँ गठबन्धनमा नजान जसपामा दबाब !
जनता समाजवादी पार्टी (जसपा) मा प्रचण्ड नेतृत्वको सरकारमा नजान दबाब बढेको छ । पार्टी अध्यक्ष उपेन्द्र यादवले नयाँ गठबन्धनमा जान सहमति गरे पनि पार्टीभित्र भने चर्को बिबाद देखिएको छ । उनीहरुले प्रचण्डले विश्वासको मत पाउने सम्भावना कम रहेकाले पार्टीले हतार गर्न नहुने बताइरहेका छन् ।
जसपामा देखिएको विवादका कारण प्रधानमन्त्री प्रचण्डसमेत दबाबमा छन् । जसपा सरकारमा सहभागी नहुँदा प्रचण्ड नेतृत्वको सरकारले बहुमत सिद्ध गर्न सक्ने छैन ।
जसपाको बुधबार बिहान बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले समेत सरकारमा जानेबारे कुनै निर्णय लिन सकेन । कार्यकारिणी समितिका बहुमत सदस्यले अहिले गठबन्धनमा सहभागी हुन नहुने अडान राखेको स्रोतको भनाइ छ ।
जसपाले मधेश प्रदेश सरकारको नेतृत्व सुनिश्चित भएमात्र सरकारमा जान बटमलाइन बनाएको छ । प्रतिनिधि सभामा जसपाबाट १२ सांसद रहेका छन् । ती मध्ये ७ सांसद एमाले माओवादी गठबन्धनमा सहभागी हुन नहुने पक्षमा रहेको स्रोतको दाबी छ ।
अध्यक्ष उपेन्द्र यादव भने उपप्रधानमन्त्रीसहित सरकारमा जाने तयारी छन् । तर बहुमत सांसदले बिरोध जनाएपछि उनी संकटमा परेका छन् ।
‘पछिल्लो घटनाक्रम र पार्टीभित्रका बहुमत सदस्यका बिरोधका कारण उपेन्द्र संकटमा परेका छन्’ जसपा स्रोतले भन्यो, ‘उनले जबरजस्ती गरे पार्टी नै विभाजित हुने हो कि भन्ने त्रास पनि छाएको छ । त्यसैले सोमबार बनेको गठबन्धनबाट बाहिरिने सम्भावना उच्च देखिन्छ ।’
एकीकृत समाजवादीले पनि निर्णय नगर्दा प्रचण्ड संकटमा छन् । त्यसमा पनि संसदीय अंकगणितमा माहिर मानिएका कांग्रेस सभापति शेरबहादुर देउवाको पछिल्लो ‘मूभ’ ले ओली र प्रचण्ड थप सशंकित भएका छन् ।
बुधबार बिहान शेरबहादुर देउवा पत्नी आरजु र नेता रमेश लेखकलाई लिएर नेपाल निवास कोटेश्वर पुगे । बैठकबाट बाहिरिँदै छलफल सकारात्मक रहेको कांग्रेसका प्रमुख सचेतक लेखकले बताए । उनले सकारात्मक छलफल भएकाले छलफल र भेटघाटलाई निरन्तरता दिने बताए ।
‘अहिलेको तत्काल परिवर्तित विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको हो । छलफल सकारात्मक भएको छ । छलफललाई निरन्तरता दिन्छौँ’ उनले भने ‘हामीले हाम्रो आधिकारित धारणा राखिसकेको छौं । काँग्रेसको धारणा अहिलेलाई त्यही हो । पूर्वप्रधानमन्त्री माधव नेपालसँग अहिलेको विकसित राजनीतिक घटनाक्रमको बारेमा छलफल भएको हो । यसलाई निरन्तर दिन्छौँ । नयाँ राजनीतिक विकासका काममा छलफल हुन्छ ।’
मध्याह्नबाट एकीकृत समाजवादीको सचिवालय बैठक बसिरहेको छ । उक्त बैठकले गर्ने निर्णयले पनि एमाले माओवादी गठबन्धन कायम रहन्छ वा नेपाली कांग्रेसले गरिरहेको प्रयास सफल हुन्छ भन्ने टुंगो लाग्ने छ । एकीकृत समाजवादीका अध्यक्ष नेपालसँगको भेटपछि कांग्रेस नेताहरु उत्साही भएका छन् ।
कांग्रेस नेता लेखकले अन्य दलहरुसँग पनि छलफल भइरहेको बताएका छन् । कांग्रेसले जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी पनि कुराकानी गरिरहेको र उनीहरु कांग्रेससँग सकारात्मक रहेको बूढानीलकण्ठ निकट स्रोतको दाबी छ ।
‘जनमतले मधेश र नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिमको मुख्यमन्त्रीमा दाबी गरेका छन्’, स्रोतले भन्यो, ‘यसमा सकारात्मक रुपमा छलफल अघि बढिरहेको छ । लोसपा पनि सँगै जान सक्ने देखिएको छ ।’
त्यस्तै नाउपालाई मधेश, सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा सम्मानजक हैसियत दिने र जनमतलाई संघमा रोजेको मन्त्रालय दिए कांग्रेस नेतृत्वको गठबन्धनमा सहभागी हुन सक्ने सम्भना देखिएको उनको भनाइ छ ।
त्यस्तै स्वतन्त्र सांसद अमरेश कुमार सिंहलाई पनि सहभागी गराउन सक्ने विश्वासमा देउवा छन् । छलफल भइरहेका दलहरुसँग कुरा मिलेमा रास्वपासँग पनि कुराकानी सुरु हुने उनले बताए ।
अहिले सत्ता समीकरणले कर्णाली र कोशी प्रदेशमा एमाले र माओवादीले सरकार बनाए पनि बाँकी ५ प्रदेशमा कांग्रेस नेतृत्वको गठबन्धनले सरकार बनाउसक्ने सम्भावना रहेको भन्दै कांग्रेसले छलफललाई तिव्रता दिएको छ ।
कुन दलको कस्तो छ अवस्था ?
एमाले र माओवादी केन्द्रको अहिलेको गठबन्धनमा एमालेले ७६ ,माओवादी केन्द्र ३२, रास्वपा २१, जसपा १२ सिट गरि १४१ सिट रहेको छ ।
कांग्रेससँग अहिले संसदमा कांग्रेस ८७ सिट रहेको छ । १४ सिटको राप्रपा, १० सिटको एकीकृत समाजवादी, ६ सिटको जनमत पार्टी, ४ सिटको लोसपा, ४ सिटको नागरिक उन्मुक्ति पार्टी , १ सिटको राष्ट्रिय जनमोर्चा र केही स्वतन्त्र सांसदहरुलाई समेटेर गठबन्धन बनाउने प्रयास गरिरहेको छ । उसले एमाले माओवादी गठबन्धनमा रहेको जसपालाई आफ्नो पोल्टामा पार्न प्रयत्न गरिरहेको छ ।
SHARE YOUR THOUGHTS