१७ देशमा गाँजाका कपडा बेच्ने गणेश भन्छन्- डलर विदेशमा होइन हामीले छोडेका भीरपाखामा छ « Eglish Khabarhub

१७ देशमा गाँजाका कपडा बेच्ने गणेश भन्छन्- डलर विदेशमा होइन हामीले छोडेका भीरपाखामा छ



काठमाडौं । बेला बेलामा सरकारले प्रहरी लगाएरै गाँजा फडानी गरेको सुन्नुभएकै होला । अझ भाङ,गाँजा जस्ता विरुवा हाम्रो समाजमा हेयकै दृष्टिले हेर्ने गरिन्छ । हेयरुपी दृष्टिका बीच बुढानीलकण्ठका गणेश ऐडी भने त्यहीँ फालिएका गाँजा र भाङ संकलन गर्दै कुनाकन्धरासम्म चहारिरहन्छन् । उनलाई थाह छ, समाजले नराम्रो मानेर ढडेलो लगाएको गाँजा र भाङका रेसाले तपाईं हामीलाई नै राम्रा पोसाकहरु दिन्छ ।

पोसाक भाङका बिरुवा आफैंले दिने होइन । नझुक्किनुस्, यसका मसिना रेसादार पात र डण्ठाहरुबाट धागो उत्पादन गरेर त्यसबाट चाहिँ थरिथरीका पोसाकहरु निर्माण गरिन्छ । हुन त तपाईं अक्सर बजार डुलिरहनुहुन्छ वा ट्रेण्डी लुगालाई पछ्याउनु हुन्छ भने गाँजाका पात अंकित ब्याग र खस्रा अनि मधुरा रंग भएका कपडाहरु देख्नुभएकै होला ।

केहीवर्ष यता नेपालमा यस किसिमका पोसाक, ब्याग र जुत्ताहरु प्रसस्तै भेटिन्छ । माग बढेसँगै भाङ र गाँजाबाट बनेका लुगाहरु नेपाली बजारमा पनि छ्याप्छ्याप्ती पाउन थालेका हुन् । स्वस्थबद्र्धक मानिने यस्ता कपडा केही अघिसम्म नेपाल घुम्न आउने विदेशीहरुले मात्रै लगाएका भेटिन्थे । जसले गर्दा व्यापारमा खास्सै रौनक हुँदैन थियो गाँजाका उत्पादनलाई लिएर ।

ऐडी नेपाल घुम्न आउन पर्यटक गाँजाका लुगा खोज्दै कारखानासम्म आउन थालेपछि विदेशीलाई लक्षित गरेर सोहि अनुसारका लत्तकपडा झोला उत्पादन गर्थे । पछिल्लो चार वर्ष यता परिस्थिती बदलिएको छ । ऐडीले संचालन गर्दै आएको फरेष्ट हेम्प उद्योगमा विदेशीभन्दा बढी नेपाली ग्राहकको चहलपहल देखिन थालेको छ ।

नेपालीहरुमा हेम्प प्रोडक्ट (गाँजाबाट तयार बस्तु) प्रतिको क्रेज बढ्न थालेको छ । बिदेश बजारलाई मात्रै लक्षित गरेर उद्योग संचालन गरिरहेका एडी नेपाली बजारमा पनि केन्द्रित हुँदैछन् । बजारमा गाँजाबाट उत्पादित ब्याग र जुत्ताको माग धान्न हम्मेहम्मे पर्न थालेपछि उनी नेपाली बजारतर्फ केन्द्रित हुन थालेका हुन् ।

फरेष्ट्रि हेम्प उद्योगले मात्रै १७ वटा देशमा गाँजाबाट बनेका लत्ताकपडा,ब्याग र जुत्ताहरु निर्यात गर्दै आएको छ । २४ बर्षदेखि गाँजाबाट धागो उत्पादन गर्दै आएका ऐडी सरकारले गाँजाको उपयोगिता नजान्दा अर्बौं रकम पाखामै कुहिएको दुखेसो गर्छन् । भन्छन्, ‘सरकारले प्रहरी लगाएर गाँजालाई नष्ट गर्छ, हामी बचेका तिनै गाँजाबाट लुगा सिलाएरै करोडौँको कमाइ गर्छौं ।’

ऐडी उपत्यकामै मात्र पनि करोडौँ मूल्य बराबरका गाँजा नष्ट भइरहेको बताउँछन् । भन्छन्, ‘कोटेश्वरबाट कलंकीसम्म बाटोवरपर रहेका झाडीहरू हेर्ने हो भने पनि हामीले २ हजार किलो गाँजा एकैदिन भेट्न सकिन्छ । स्रोत छ भने उपयोग पनि गर्न जान्नुपर्यो सरकारले ।’

ऐडी विश्व बजार गाँजालाई लिएर सकारात्मक भइरहँदा कपडा बनाउनका लागि पनि सरकारले गाँजा उत्पादनलाई सहयोग नगरेको दुखेसो गर्छन् ।

‘हामीलाई प्रकृतिले नै खेति नगरिपनि करोडौँ मूल्य पर्ने गाँजा पाखा पखेरामा सित्तै दिइरहेको छ यसलाई प्रयोग किन नगर्ने ?’ उनी प्रश्न गर्छन् ।

ऐडीका अनुसार नेपाल गाँजाका लागि अनुकुल छ । यहाँको हावापानी पनि लाभदायक भएका कारण विश्वमा पाइने गाँजा मध्ये १ सय ११ प्रकारका गाँजा नेपालमा नै पाइन्छ । औषधीय गुण भएका गाँजा बाहेकका बस्तुलाई कपडा उत्पादन गर्ने स्रोतको रुपमा विकास गर्न सके सरकारले अर्बौंको लत्ताकपडा आयात गर्नु नपर्ने उनी बताउँछन् ।

ऐडी भुवादार गाँजाहरुको संरक्षण र संकलन गर्ने हो भने मात्रै पनि नेपालीलाई पुग्ने कपडा उत्पादन गर्न सकिने धारणा राख्छन् । भन्छन्,‘नेपालमा पाइने गाँजा, भाङ र अल्लोबाट बन्ने कपडाको माग विदेशी राष्ट्रहरूमा उच्च छ, माग पूरा गर्न नसकिरहँदा सरकारले भएका गाँजा पनि प्रहरी लगाएरै फडानी गरिरहेको छ ।’

नेपालमा ऐडीको जस्तै १ सय २७ उद्योगहरू छन् । जसले वर्षमा ४ अर्बभन्दा माथिको उत्पादन विदेशमा निर्यात गर्दै आएका छन् ।

ऐडीले मात्रै नेपालका ४७ वटा जिल्लाबाट गाँजा संकलन गर्दै आएका छन् । गाउँगाउँमा गाँजाको उपयोगिता बुझाएर उनीहरुबाटै किलोको २० रुपैयाँका दरमा गाँजा किन्छन् । जसबाट उनले बार्षिक ५ करोड मूल्य बराबरको लत्ताकपडा विदेश निर्यात गर्दै आएका छन् ।

ऐडीले गाँजाबाटमात्रै उत्पादन हुने तीनवटा कपडा उत्पादन गर्ने कारखाना संचालन गरिरहेका छन् । जसमा १ सय ५ जना कर्मचारी राखेर उनी गाँजाका ब्याग, पोसाक र जुत्ता उत्पादन गरिरहेका हुन् ।

२०५५ सालबाट व्यवसाय सुरु गरेका उनले अहिलेसम्म फरेस्ट्री हेम्प ब्याग उद्योग, फरेस्ट्री फेब्रिक र नेपाल लोकल गार्मेन्ट गरी तीनवटा उद्योग सञ्चालन गरिरहेका छन् ।

ऐडी कम लागतमा पनि काराखाना सञ्चालन गर्न सकिने हुँदा सरकाले व्यवसायीक रुपमा गाँजा उत्पादन गर्न दिनुपर्ने धाराणा राख्छन् । ‘दुरुपयोग नहुने गरि गाँजा उत्पादनका लागि सरकारले अनुमति दिने हो भने सयौँको संख्यामा उद्योगहरु खुल्ने थिए रोजगारी र्सिजना हुने थियो,’ उनी थप्छन्,‘विदेशीले हाम्रा भिरपाखामा उम्रिएका बनस्पती चिन्दा हामी आफैंले भने हेयको दृष्टि राखिरहेका छौँ ।’

गाँजा खेतीका लागि सिँचाइ वा मल केही पनि चाहिँदैन । रुखो भिरपाखामा पनि सजिलै उम्रने हुँदा नेपालका पहाडी क्षेत्रमा यसको राम्रो उब्जनी गर्न सकिन्छ । ऐडी पहाडहरूमा गाँजा लगाउन सके नेपालमै बसेर सजिलै डलरको खेती गर्न सकिने बताउँछन् । ‘डलर विदेशमा होइन हामीले छोडेका भिरपाखामा छ’ उनले भने ।

भन्सार विभागको तथ्यांक हेर्नेहो भने पनि ४ अर्ब बराबरको गाँजाको उत्पादन विदेश निर्यात भएको तथ्यांक छ । विशेषगरी औषधीको रुपमा,धागोको रुपमा र लत्ताकपडाको रुपमा नेपाली गाँजा विदेश निर्यात हुँदै आएको हो ।

ऐडी नेपालमा रहेका अधिकांश उद्योग विदेशी बजार केन्द्रित भएपनि नेपाली बजारमा नै उत्पादनको माग बढ्दै जाँदा गाँजाको माग झन बढ्न सक्ने अनुमान गर्छन् । भन्छन्, ‘नेपालमा ट्रेण्डको रुपमा गाँजाको लत्ताकपडा लगाउने बढ्दैछन् यसले नेपाली बजार विस्तार हुँदैछ भन्ने संकेत गरेको छ यो हाम्रो लागि राम्रो हो ।’

बढ्दो मागलाई मध्यनजर गर्दै एडीले भारतमा पनि गाँजाबाट कपडा उत्पादन गरि बजार पुर्याउन छुट्टै काराखाना नै स्थापना गरेका छन् ।

छालाको समस्या भएको तथा एलर्जीको समस्या हुनेहरुका लागि किफायति हुने भएकाले पनि पछिल्लो समय नेपाली बजारमा गाँजाबाट बनेका लुगाको माग बढ्दो छ । सस्तो र किफायती हुने भएकाले पनि गाँजाबाट बनेका ब्याग,लत्ताकपडा तथा जुत्ताको माग बढ्दै गएको हो ।

* आर्काइभबाट

Publish on: