एक वर्षमा कर्जाको व्याजदर १५ प्रतिशतले घट्यो « Eglish Khabarhub

एक वर्षमा कर्जाको व्याजदर १५ प्रतिशतले घट्यो



काठमाडौं। बाणिज्य बैंकबाट प्रवाह हुने कर्जाको व्याजदर एक वर्षमा १५ प्रतिशतले घटेको छ।

गत वर्ष माघमा बैंकबाट प्रवाह हुने कर्जाको व्याजदर १३.०३ थियो । चालु आवको सोही अविधमा यस्तो व्याजदर ११.०८ प्रतिशत रहेको छ । तथ्यांकअनुसार कर्जाको व्याजदर १.९५ प्रतिशत बिन्दुले घटेको छ । जुन १५ प्रतिशत हुन आउँछ ।

पछिल्लो समय निक्षेपमा बैंक तथा वित्तीय संस्थाले दिने व्याजदर घटाएका छन् । जसले गर्दा आधारदर घट्न गएको र जसका कारण कर्जाको व्याजदर पनि घटेको हो ।

२०७९ माघमा ९१–दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर ९.७९ प्रतिशत रहेकोमा २०८० माघमा ३.३४ प्रतिशत रहेको छ । बैंक तथा वित्तीय संस्थाहरुबीचको अन्तर बैंक कारोबारको भारित औसत ब्याजदर २०७९ माघमा ५.२९ प्रतिशत रहेकोमा २०८० माघमा ३.०४ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

२०८० माघमा वाणिज्य बैंकहरुको औसत आधार दर ९.०६ प्रतिशत,विकास बैंकहरुको ११.१३ प्रतिशत र वित्त कम्पनीहरुको १२.७० प्रतिशत रहेको छ । अघिल्लो वर्षको माघमा वाणिज्य बैंकहरुको औसत आधार दर १०.७२ प्रतिशत रहेको थियो।

२०८० माघमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ७.०१ प्रतिशत, विकास बैंकहरुको ८.२६ प्रतिशत र वित्त कम्पनीहरुको ९.४५ प्रतिशत रहेको छ । २०७९ माघमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ८.४१ प्रतिशत कायम भएको थियो।

त्यसैगरी, कर्जाको भारित औसत ब्याजदर २०८० माघमा वाणिज्य बैंकहरुको ११.०८ प्रतिशत, विकास बैंकहरुको १२.८५ प्रतिशत र वित्त कम्पनीहरुको १३.९३ प्रतिशत रहेको छ ।

२०७९ माघमा वाणिज्य बैंकहरुको कर्जाको भारित औसत ब्याजदर १३.०३ प्रतिशत कायम भएको थियो।

Publish on: