![](https://internal.appharu.com/wp-content/uploads/2024/02/centuary-bank.png)
काठमाडौं । धितोको मूल्यांकनभन्दा अधिक कर्जा प्रवाह गर्ने कार्यमा संलग्न रहेको आरोपमा पक्राउ परेका तत्कालीन सेञ्चुरी बैंकका सीईओ तथा पूर्वसीईओसहितका १० जनालाई थप पाँच दिन हिरासतमा राख्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अनुमति पाएको छ ।
फागुन १५ गते पक्राउ परेका उनीहरुलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति पाएको सीआईबीले दोस्रो पटक पनि थप ७ दिनलाई अनुमति पाएको थियो । अदालतबाट पाएको समय सकिएपछि उनीहरुलाई आज सीआईबीले अदालतमा पेस गरेको थियो ।
सीआईबीका प्रवक्ता होविन्द्र बोगटीले अदालतबाट आज थप ५ दिनको म्याद थप भएको जानकारी दिए ।
ब्यूरोले धितोभन्दा बढी कर्जा प्रवाह गर्ने कार्यमा संलग्न प्रबन्ध निर्देशक सहितका १० जनालाई मंगलबार उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको थियो । ब्यूरो बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ बमोजिम कसूरमा अनुसन्धान गरिरहेको जनाएको छ ।
तत्कालीन सेञ्चुरी कमर्शियल बैंकबाट कर्जा लिने रबिन्द्र चौलागाई र उनी आवद्ध कम्पनीहरु पूजा ट्रेडिङ्ग एण्ड मार्केटिङ्ग कम्पनी प्रालि, थ्री ब्रदर्स मार्केटिङ्ग प्रालि, पूजा मार्केटिङ्ग प्रालिर अन्नपूर्ण डिष्टिलरी प्रालि समेतलाई कर्जा प्रवाह गर्दा धितो स्वरुप बैंकमा कर्जा सुरक्षण बापत १ अर्ब १४ करोड २३ लाख ८४ हजार २५८ रुपैयाँ धितोको मूल्यांकन गरिएको ब्यूरोले जनाएको छ । उक्त धितोवापत २ अर्ब ११ करोड ६५ लाख ५५ हजार ७३१ रुपैयाँ कर्जा प्रवाह भएको देखिएको ब्यूरोले जनाएको छ ।
धितोको मूल्यांकनभन्दा अधिक ९७ करोड ४१ लाख ७० हजार ७७२ रुपैयाँ कर्जा प्रवाह भएको प्रहरीले जनाएको छ ।
उक्त प्रकरणमा मनोज न्यौपाने,राजेश भण्डारी, दिलिप बराल, सुबास बहादुर श्रेष्ठ,अनुपमा श्रेष्ठ मान्नधर, सविन घिमिरे, रमन श्रेष्ठ, दिपेश प्रधान, तुलसी गौतम र सुनिल बस्नेत रहेको सीआईबीले जनाएको छ ।
अनुसन्धानमा राष्ट्र बैंकको टोली
पक्राउ परेका बैंकरमाथि अनुसन्धान गरिरहेको सीआईबीले नेपाल राष्ट्र बैंकको सहयोग लिएको छ ।
केन्द्रीय बैंकको विज्ञ टोलीले सीआईबीले गरिरहेको अनुसन्धानमा सहयोग गर्ने बोगटीले जानकारी दिए ।
प्रहरीले धितो सम्बन्धी बैंकिङ अभ्यासबारे नबुझेको बैंकरहरुले आरोप लगाइरहँदा सीआईबीले राष्ट्र बैंकको सहयोग मागेको हो।
बैंकरहरु पक्राउ परेसँगै नेपाल बैंकर संघ, बैंक तथा वित्तीय संस्था परिसंघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन, फाइनान्स कम्पनी एसोसिएसन, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्श र नेपाल वित्तीय संस्था कर्मचारी संघले विज्ञप्ति जारी गरि चर्को बिरोध जनाएका थिए।
फागुन २० गते गभर्नर महाप्रसाद अधिकारीले प्रहरीको छानबिनमा सहयोग गर्नु कर्तव्य भएको बताएका थिए ।
‘सरकारको अंग भएकाले सरकारको अर्को अंगले गरिरहेको छानबिनमा सहयोग गर्नु कर्तव्य हो,’ उनले भनेका थिए,’ यति मात्रै हो गल्ती नगर्ने फस्नु भएन । गल्ती गर्नेले सजाय पाउनुपर्छ ।’
कमसल धितोमा बढी ऋण प्रवाह गरेको र चौलागाईंले उक्त ऋण दुरुपयोग गरेको पाइएकाले अनुसन्धान जारी रहेको सीआईबीका प्रवक्ता बोगटीले बताए ।
‘गत असोज १८ गते पक्राउ परेका देउराली सहकारीका अध्यक्ष रविन्द्र चौलागाईं पुर्पक्षका लागि थुनामै छन्, उनको बयानका आधारमा हामीले तत्कालीन सेञ्चुरी बैंकका कर्मचारीहरुलाई पक्राउ गरेका हौं । अनुसन्धान भइरहेको छ,’ प्रवक्ता बोगटीले क्लिकमान्डुसँग भने, ‘पक्राउ परेकाहरु धेरै जना भएकाले केही दिन थप समय लागेको हो ।’
प्रहरीले गुडविलमा कर्जा दिएको दाबी गर्दै नेपाल राष्ट्र बैंकले जनाएपछि अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको जनाएको छ । केही हप्ता अघि प्रहरीले राष्ट्र बैंकलाई गुडविललाई धितो मानेर कर्जा दिन मिल्छ कि मिल्दैन भनि सोधेको प्रश्नमा फागुन ४ गते राष्ट्र बैंकले त्यस्तो कानुनी व्यवस्था नरहेको जवाफ पठाएको थियो ।
चौलागाईंले पूजा मार्केटिङ, पूजा ट्रेडिङ एण्ड मार्केटिङ, थ्री ब्रदर्स मार्केटिङ र अन्नपूर्ण डिष्टिलरी प्रालिल गायतका कम्पनीका नाममा तत्कालीन सेञ्चुरी बैंकबाट पटक पटक गरेर ऋण लिएका थिए ।
‘धितोले ऋणको साँवा ब्याज खाम्ने अवस्था देखिँदैन, कमशल धितोमा धेरै कर्जा प्रवाह किन भयो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ,’ प्रवक्ता बोगटीले भने, ‘चौलागाईंले ब्यापार गर्न भन्दै कम्पनीका नाममा लिएको ऋण व्यक्तिगत रुपमा चलाएको भेटिएको प्रहरीको अनुसन्धानमा देखिएको छ ।’
प्रभु बैंकले ऋण असुलीका पटकपटक ताकेता गर्दासमेत चौलागाईंले साँवा ब्याज नतिरेपछि गत असोजमा देशभर १८ ठाउँमा रहेको धितो लिलामिमा राखेको थियो ।
SHARE YOUR THOUGHTS