![](https://internal.appharu.com/wp-content/uploads/2023/08/sebon-final-768x389.jpg)
काठमाडौं । नेपाल धितोपत्र बोर्डले पुँजी बजार सुधारका लागि सरोकारवाला निकायसहितको सामुहिक योजना पेश गर्ने भएको छ ।
अर्थमन्त्री वर्षमान पुनले आइतबार पुँजी बजार सुधारका लागि धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र सिडिएससीसँग योजना माग गरेका थिए ।
तर धितोपत्र बोर्डले भने सरोकारवाला सबै निकायलाई बोलाएर छलफल गर्ने र प्राप्त सुझावलाई एकमुष्ट रुपमा दिने भएको छ ।
‘मन्त्रालयबाट बजार सुधारका लागि कार्ययोजना पेश गर्न पत्र आएको छ’ धितोपत्र बोर्डका निमित्त प्रमुख डा नवराज अधिकारीले भने, ‘मन्त्रीज्यूले सबैसँग मागेको कार्ययोजना हामी सामुहिक रुपमा दिन्छौं ।’ उनका अनुसार बिहीबार सेबोन, नेप्से, सिडिएससी, मर्चेन्ट बैंकर्स एसोशिएसन, स्टक ब्रोकर, सेयर बजारका विज्ञ, स्वतन्त्र उर्जा उत्पादनहरुको संस्था (इप्पान), लगानीकर्ताको विभिन्न संघसँग छलफल हुनेछ ।
बिहीबार छलफल गरेर प्राप्त सुझावलाई शुक्रबार मन्त्रालयमा मन्त्री समक्ष पेश गर्ने अध्यक्ष अधिकारीले बताए ।
मन्त्रालयले गत आइतबार नै सबैलाई पत्र पठाइसकेको छ ।
‘देशको अर्थतन्त्रको विकासमा महत्वपूर्ण भूमिका खेल्ने पुँजी बजारमा देखिएका समस्या समाधान एंव त्यस क्षेत्रको विकास र विस्तारका लागि तत्काल गर्नुपर्ने कामहरुको सम्बन्धमा सम्बन्धित सरोकारवालाहरुको राय समेत लिई ७ दिनभित्र कार्ययोजना पेश गर्नुहुुन माननीय मन्त्रिज्यूको निर्देशानुसार अनुरोध छ’ पत्रमा भनिएको छ ।
SHARE YOUR THOUGHTS