लोक्ताको अभावले समस्यामा नेपाली हाते कागज उद्योग « Eglish Khabarhub

लोक्ताको अभावले समस्यामा नेपाली हाते कागज उद्योग



फाइल

ताप्लेजुङ । कच्चा पदार्थको अभावमा जिल्लाका हाते कागज उद्योग संकटमा परेका छन् ।

वन जंगलबाट प्राप्त हुने लोक्ताको अभावले उद्योग चलाउन समस्या भएको उद्योग व्यवसायीले बताएका छन् । कागज उत्पादन गर्न प्रयोग हुने कच्चा पदार्थमध्ये लोक्ता प्रमुख हो ।

फुङ्लिङ नगरपालिका–६ मा रहेको छिरिङ नेपाली हाते कागज उद्योगका सञ्चालक पासाङ शेर्पाले लोक्ताको अभावले केही महिनादेखि उद्योग बन्द गर्नुपरेको बताए।

सिदिङ्वा गाउँपालिका–७ का व्यवसायी देउबहादुर लिम्बू लोक्ता नहुँदा माग भएअनुसार कागज उत्पादन उत्पादन गर्न नसकिएको बताउँछन् । नेपाली हाते कागजले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजार पाए पनि मागअनुसारको उत्पादन गर्न सकिएको छैन । लोक्ता सामुदायिक वनबाट निकाल्न लामो प्रक्रिया अपनाउनु पर्ने भएकाले समयमा निकाल्न असम्भव हुने व्यवसायीको भनाइ छ ।

लोक्ता विशेषगरी पहाडी तथा हिमाली जिल्लाका महाभारत शृंखला र त्यसको उत्तरी भागका पाँच हजार फिटदेखि १० हजार फिटसम्म (समुद्री सतहभन्दा माथि) को उचाइका चिसो, ओसिलो ठाउँ र अरु रुखको छहारी भएको ठाउँमा पाइन्छ । नेपाली कागजको माग राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा बढे पनि कच्चा पदार्थकै अभावमा माग पूर्ति गर्न नसकेको यहाँका कागज उद्योग सञ्चालक बताउँछन् ।

शुद्ध लोक्ताबाट बन्ने कागज विशेषगरी जापानले जापानी येन ९जापानी मुद्रा० बनाउन प्रयोग गर्ने गर्छ । हाते कागज अमेरिका, थाइल्याण्डलगायतका मुलुकमा निर्यात हुने गरेको छ । उद्योग विकास शाखा ताप्लेजुङमा हालसम्म २५ वटा नेपाली हाते कागज उद्योग दर्ता भएको छ ।

उद्योग विकास अधिकृत सुनिल आचार्यका अनुसार हाते कागज उद्योगले बर्सेनि नवीकरण गर्ने गरेका छन् ।

Publish on: