प्रश्न सोध्ने ठाउँबाट जवाफ दिने ठाउँमा पुगेको छु: रवि लामिछाने « Eglish Khabarhub

प्रश्न सोध्ने ठाउँबाट जवाफ दिने ठाउँमा पुगेको छु: रवि लामिछाने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफू प्रश्न सोध्ने ठाउँबाट जवाफ दिने ठाउँमा पुगेको बताएका छन् ।

शुक्रबार जिल्ला प्रशासन कार्यालय, झापामा सुरक्षा अधिकारीहरुलाई निर्देशन दिँदै गृहमन्त्री लामिछानेले आफूलाई नाजवाफ बनाउने कि स्पष्ट जवाफ दिने बनाउने भन्ने स्थायी सरकार(कर्मचारी) मा रहेको बताए ।

‘म प्रश्न सोध्नेबाट जवाफ दिने ठाउँमा पुगेको छु । अब तपाईंहरुले गर्ने काम नै मेरो जवाफको आधार हो,’ उनले भने, ‘मलाई नाजवाफ बनाउनु हुन्छ कि स्पष्ट जवाफ दिने? तपाईंहरुको हातमा छ। त्यही अनुसार काम गर्नुस् ।’

आम नागरिकलाई सेवा दिनु सरकारको जिम्मेवारी भएको बताउँदै उनले राजनीतिक रूपमा सरकार आउने जाने हुने भएकाले स्थायी सरकार (कर्मचारी)ले नागरिकको सेवालाई प्राथमिमकता दिनुपर्ने उनले बताए ।

कानुनले दिएको जिम्मेवारी पूरा गर्न उनले सुरक्षाअधिकारीहरुलाई निर्देशन दिए ।
कानुनभन्दा माथि कसैले काम गर्न दबाब र प्रभाव दिए आफूलाई भन्न उनले आग्रह गरे ।

‘नागरिकका गुनासो सम्बोधनमा प्राथमिकता दिनुहोस्। गुनासो लिएर तपाईं भन्दा माथि कोही जानु नपरोस् । नागरिकलाई आशा र उत्साह जगाउन सकारात्मक सन्देश जाने गरि काम गर्नुपर्छ’ लामिछानेले भने ।

कामका लागि निर्देशन कुर्ने नभइ आइडिया लगाएर काम गर्नु पर्ने उनले बताए ।

पीडितभन्दा पीडक पहिला प्रशासन/प्रहरीमा आउने र उनीहरुसँगै प्रशासन/प्रहरीको हिमचिम गर्ने प्रवृत्ति अन्त्य हुनु पर्ने उनले बताए ।

युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठसमेत उपस्थित भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जिल्लाको वस्तुस्थिति, सेवा प्रवाह, सुरक्षालगायत विषयमा गृहमन्त्री समक्ष ब्रिफिङ गरेका थिए ।

लामिछाने इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा रास्वपाको उम्मेदवार घोषणा कार्यक्रममा सहभागी हुन पूर्वको भ्रमणमा निस्किएका हुन् । रास्वपाले मिलन लिम्बूलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

Publish on: