![](https://internal.appharu.com/wp-content/uploads/2024/03/shakti-basnet-2.png)
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले तीन महिनापछि लोडसेडिङ हुन्छ भन्ने कुरामा सत्यता नभएको बताएका छन् ।
आइतबार प्रतिनिधि सभा बैठकमा अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइएसए) को स्थापनासँग सम्बन्धित सौम्झौता माथिको छलफलमा उठेको प्रश्नको जवाफ दिँदै मन्त्री बस्नेतले तीन महिनापछि लोडसेडिङ नहुने बताए ।
छलफलका क्रममा केही सांसदहरुले भारतले विद्युत बिक्री बन्द गरेमा नेपालमा लोडसेडिङ हुनसक्ने भन्दै मन्त्री बस्नेतलाई प्रश्न गरेका थिए । सोही प्रश्नको जवाफ दिँदै उनले तीन महिनापछि लोडसेडिङ नहुने स्पष्ट पारे ।
वर्षा याममा नेपालले विद्युत बिक्री गर्ने अवस्था हुने भन्दै उनले भ्रमको पछि दौडिनु नहुने बताए ।
उनले नेपाल अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइएसए) मा सहभागी हुँदा प्रशस्त लाभ लिन सकिने बताए । यो गठबन्धनमा आवद्ध भएबापत कुनै आर्थिक दायित्व समेत सिर्जना नहुने भन्दै चिन्ता लिनुपर्ने अवस्था नभएको उनले बताए ।
उनले यो गठबन्धनमा आवद्ध हुँदा गठबन्धन बाहिर सहकार्य गर्नका लागि पनि कुनै बन्देज नभएको बताए ।
SHARE YOUR THOUGHTS