![](https://internal.appharu.com/wp-content/uploads/2024/04/lagani-sammelan4-768x429.jpg)
काठमाडौं । तेस्रो लगानी सम्मेलनमा चारवटा सम्झौता हुने भएको छ ।
लगानी बोर्डको कार्यालयको अहिलेसम्मको तयारी अनुसार सम्मेलन चारवटा सम्झौतामा सीमित हुने देखिएको हो । बोर्डका अनुसार आइतबार एउटा सम्झौता भएको छ भने सोमबार ३ वटा सम्झौता गर्ने तयारी छ ।
आइतबार व्यवसायी बसन्त चौधरीको विएलसी होल्डिङ्स र भारतको योट्टा डाटा सर्भिसबिच लगानी सम्झौता भएको छ । विएलसीको तर्फबाट मेघा चौधरीले हस्ताक्षर गरेको ३ अर्ब रुपैयाँ लगानीमा नेपालमा बनाइने डाटा सेन्टरको लागि लगानी सम्मेलनको उद्घाटन सत्रमा सम्झौता भएको हो । बसन्त चौधरीको बिएलसी होल्डिङ्सले भारतीय योट्टा डाटा सर्भिससँग मिलेर नेपालमा डाटा सेन्टरमा लगानी गर्ने भएको हो ।
![](https://internal.appharu.com/wp-content/uploads/2024/04/basanta-mou-768x403.png)
सोमबार तीनवटा सम्झौता गर्ने तयारी छ । चीन नेपाल मैत्री औद्योगिक पार्क विकासको सम्झौता हुदै
छ । चिनियाँ कम्पनीसंग सम्झौता गर्ने तयारी भएको छ ।
बोर्डले २५० मेगावाटको ग्रीड कनेक्टेड सोलार आयोजनासंग आयोजना विकास सम्झौता (पीडीए) गर्न लागेको छ । सोलार आयोजनाको पीडीए हङकङको कम्पनीसंग सम्झौता गर्ने तयारी छ । आयोजना कोहलपुर र बाणगंगामा निर्माण हुनेछ ।यो ब्याट्री स्टोरेज सोलारको आयोजना हो । ब्याट्रीको स्टोरेज क्षमता ४० मेगावाट हुनेछ ।
डाबर नेपालसँग पीआईए गर्ने तयारी छ । डाबर नेपालको क्षमता अभिवृद्धि र उत्पादनमा विविधीकरणका लागि सम्झौता हुन लागेको हो ।
‘केहि समझदारीहरु हुन सक्छ । पछि कागजात मिलाउने गरी समझदारीको सम्भावना छ, ‘ लगानी बोर्डका एक अधिकारीले भने, ‘बिहान यस्ता विषयहरुमा पनि छलफल भएको सुनिन्थ्यो । हामीले नै कतिपय विषय मिडियाबाट थाहा पायौं ।’
अप्पर मर्स्याङदी-२ जलविद्युत् आयोजनासँग पीडीए गर्न लागिएको थियो । तयारी नपुगेपछि पीडीए रोकिएको छ ।
पर्याप्त गृहकार्य नै नगरी तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन औपचारिकतामा सीमित हुने भएको छ । आयोजना छनोट समेत हचुवामा गरिएको पाइएको छ ।
SHARE YOUR THOUGHTS