आपूर्ति मन्त्रालय भन्छः गोपाल खड्काले जबरजस्ती बढाए « Eglish Khabarhub

आपूर्ति मन्त्रालय भन्छः गोपाल खड्काले जबरजस्ती बढाए




काठमाडौं । नेपाल आयाल निगमका कार्यकारी निर्देशकले संचालक समितिलाई नै जानकारी नदिई पेट्रोलियम पदार्थको मूल्य बढाएको तथ्य खुलेको छ ।

पेट्रोलियम पदार्थको मूल्य बढाउन संचालक समिति तयार नभएपछि कार्यकारी निर्देशक गोपाल खड्काले एकलौटी ढंगबाट मूल्य वृद्धि गरेका हुन् ।

आपूर्ति मन्त्रालयका सचिव निगम संचालक समितिको अध्यक्ष हुने ब्यवस्था छ ।

तर संचालक समिति अध्यक्ष (मन्त्रालयका सचिव) लाई पनि मूल्य बढाउने विषयमा जानकारी नभएको निगमका सञ्चालक समिति सदस्यसमेत रहेका आपूर्ति मन्त्रालयका प्रवक्ता सूर्यप्रसाद श्रेष्ठले जानकारी दिए  ।

निगम ब्यवस्थापनले एकलौटी ढंगबाट मूल्य बढाएको र आफूले पनि टेलिभिजन हेरेर मात्रै थाहा पाएको आपूर्ति मन्त्रालयका सहसचिवसमेत रहेका श्रेष्ठले बताए ।

‘म अहिले धनगढीमा छु, हिजो साँझ निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएछ, त्यो थाहा पाउने वित्तिकै मैले गोपालजी (निगमका कार्यकारी निर्देशक) लाई फोन गरेर सोधेँ, उहाँले हो भन्नुभयो, अनिमात्रै मलाई थाहा भयो,’ श्रेष्ठले क्लिकमाण्डूसँग भने ।

‘आज विहान सचिबज्यूसँग पनि कुरा भएको थियो, उहाँले पनि मूल्य बढाउने विषय आफूलाई थाहा नभएको भन्नुभयो, सायद उच्च राजनीतिक तहमा कुरा मिलेर गोपालजीले यसो गर्नुभएको होला, हामीलाई थाहा भएन,’

अहिले पेट्रोलियम पदार्थको मूल्य बढाउनुपर्ने अवस्था नै नभएको उनको भनाई छ । ‘निगम राम्रो नाफामा छ, माग अनुसार पेट्रोलियम पदार्थ दिन सकिरहेको छैन, अहिले किन मूल्य बढाउनु पर्यो ?’ श्रेष्ठले प्रतिप्रश्न गरे ।

हामीसँग गरेको प्रश्न कार्यकारी निर्देशकसँग गर्नुभएन भन्ने क्लिकमाण्डूको प्रश्नमा आफूले कार्यकारी निर्देशकसँग गरेको तर उनले कुनै प्रष्ट जानकारी नदिएको उनले दाबी गरे ।

‘मूल्य बढेको कुरा मैले टिभी हेरेर थाहा पाएको हूँ, अहिले मूल्य बढाउनु पर्ने अवस्था नै नरहेको बेलामा हामीलाई समेत जानकारी नदिइ किन मूल्य बढाउनु भयो भनेर उहाँलाई सोधें, उहाँले अगाडिको बैठकमा राखेको थिएँ नि, भन्नुभयो, तर यो विषयमा निर्णय त भएको थिएन भनेर मैले भने, उहाँ चुप लाग्नुभयो, अनि मैले तपाइलाई जे मन लाग्छ त्यही गर्नुस् भनेर फोन राखिदिएँ,’ श्रेष्ठले क्लिकमाण्डूसँग टेलिफोनमा भने ।

मूल्य बढाउने विषयमा आपूर्ति मन्त्रालयका सचिव तथा निगम संचालक समितिका अध्यक्ष प्रेमकुमार राईलाई समेत जानकारी नभएको श्रेष्ठको भनाइ छ ।

‘आज विहान सचिबज्यूसँग पनि कुरा भएको थियो, उहाँले पनि मूल्य बढाउने विषय आफूलाई थाहा नभएको भन्नुभयो, सायद उच्च राजनीतिक तहमा कुरा मिलेर गोपालजीले यसो गर्नुभएको होला, हामीलाई थाहा भएन,’ श्रेष्ठले भने ।

निगमले आइतवार राती १२ बजेदेखि लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर साढे ४ रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य पनि प्रतिलिटर साढे ४ रुपैयाँले नै बढाएको छ । नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर १०१ रुपैयाँ ५० पैसा र डिजेल तथा मट्टितेल प्रतिलिटर ७७ रुपैयाँ ५० पैसा पुगेको छ ।

Publish on: