![](https://internal.appharu.com/wp-content/uploads/2024/05/credit-card.jpg)
काठमाडौं । नेपाल राष्ट्र बैंकले आम सर्वसाधारणलाई क्रेडिट कार्डको प्रयोग गर्दा समयसीमामै भुक्तानी गर्न सचेत गराएको छ । समयसीमामै रकम भुक्तानी नगरे उच्च दरको ब्याज तिर्नुपर्ने भन्दै केन्द्रीय बैंकले सर्त बुझेरमात्र क्रेडिट कार्ड प्रयोग गर्न अनुरोध गरेको हो ।
केन्द्रीय बैंकले ‘सर्त बुझेर मात्र क्रेडिट कार्ड प्रयोग गरौं’ भन्ने भनेको छ, ‘क्रेडिट कार्ड ’क’ वर्गका वाणिज्य बैंक तथा राष्ट्रिय स्तरका ’ख’ र ’ग’ वर्गका वित्तीय संस्थाले जारी गर्ने विद्युतीय भुक्तानीको उपकरण हो । सामान्यतः क्रेडिट कार्डको प्रयोग गरी रकम भुक्तानी गर्दा तोकिएको समयसीमासम्म कुनै ब्याज लाग्दैन तर सो मितिमा भुक्तानी नभएमा उच्च दरको ब्याज लाग्ने गर्दछ ।’
यस्तो कार्ड जारी गर्दा क्रेडिट सीमा, कारोबारको बिल प्राप्त हुने मिति र माध्यम, भुक्तानी गर्नुपर्ने समयावधि, सो अवधिभित्र भुक्तानी नगरेमा लागू हुने ब्याजदर आदिका बारेमा जानकारी उपलब्ध गराई ग्राहकसँग सम्झौता गर्नुपर्ने र उक्त सम्झौता ग्राहकलाई समेत उपलब्ध गराउनुपर्ने व्यवस्था छ । तसर्थ, क्रेडिट कार्डको सीमा, शुल्क, ब्याजदर, भुक्तानी मितिलगायतका सर्तबारे प्रष्ट रूपमा बुझेर मात्र आफूलाई उपयुक्त हुने किसिमको कार्ड सम्बन्धित संस्थाबाट माग गर्न केन्द्रीय बैंकले आम सर्वसाधारणलाई अनुरोध गरेको छ ।
पछिल्लो समय क्रेडिट कार्ड प्रयोगकर्ता उच्च ब्याजमा पर्ने गरेका छन् । सोही क्रमलाई ध्यानमा राख्दै राष्ट्र बैंकले बैंकका सेवाग्राहीलाई सचेत गराएको हो ।
SHARE YOUR THOUGHTS