काठमाडौं । वाणिज्य बैंकहरुले एकल अंकको ब्याजदरमै गाडी किन्ने कर्जा दिन थाले छन् । वाणिज्य बैंकहरुले जेठ महिनाका लागि प्रकाशन गरेको दरअनुसार ९.९९ प्रतिशतमै अटो लोन पाइने भएको हो ।
राष्ट्र बैंकले पनि अटो लोनलाई थप सहजीकरण गरेकाले आगामी दिनमा यो क्षेत्रमा प्रवाह हुने कर्जा थप सहज र सस्तो हुने अपेक्षा गर्न सकिन्छ । किनभने, राष्ट्र बैंकले गत शुक्रबार मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै २५ लाख रुपैयाँभन्दा बढीको अटोकर्जाको जोखिमभार १२५ प्रतिशतबाट १०० प्रतिशत कायम गरेको छ ।
यो व्यवस्थाले अटोकर्जा लगानीगर्न कम पुँजी आवश्यक हुनेछ । राष्ट्र बैंकका अनुसार हाल अटोकर्जामा करिब १५ अर्ब पुँजी लागेको र जोखिम भारलाई १२५ प्रतिशतबाट २५ प्रतिशत बनाउँदा साढे ३ अर्ब पुँजी रिलिज हुनेछ ।
यो नीतिले बैंक तथा वित्तीय संस्थाले साढे ३ अर्ब रुपैयाँ पुँजी प्रयोग गर्दै १०० प्रतिशत जोखिम भार भएको क्षेत्रमा करिब ३५ अर्ब रुपैयाँ थप कर्जा लगानी गर्न सक्नेछन् । बैंकहरुले १ खर्ब २७ अर्ब रुपैयाँ कर्जा हायर पर्चेज कर्जा दिएका छन् ।
बैंकहरुले सहजै हायर पर्चेज प्रकृतिका सवारी साधन कर्जा प्रवाह गर्ने र रिस्क प्रीमियम घट्ने नबिल बैंकका डेपुटी सीईओ मनोज ज्ञवाली बताउँछन् ।
‘यसले अटोमोबाईल व्यबसायीलाई केही राहत हुनेछ भने बैंकहरुको पुँजीकोषमा सामान्य राहत हुनेछ,’ ज्ञवालीले भने ।
कुन बैंकले कति ब्याज लिन्छन् ?
प्रकाशित दरअनुसार नबिल बैंक र लक्ष्मी सनराइज बैंकले ९.९९ प्रतिशतदेखि ब्याजदरमा अटो लोन दिने घोषणा गरेका छन् । यस्तो दर नबिलले अधिकतम १०.४९ प्रतिशत तय गरेको छ भने लक्ष्मी सनराइजले १२.९९ प्रतिशत तोकेको छ । कुमारी बैंकले पनि १०.४९ प्रतिशतमै गाडि किन्न कर्जा दिने जानकारी दिएको छ ।
उल्लेखित स्थिर ब्याजदर हो । घटबढ हुने दरअनुसार नबिलले बेसरेटमा २ देखि ४ प्रतिशतसम्म, लक्ष्मी सनराइजले ४ प्रतिशत सम्म तथा कुमारीले ३.५ प्रतिशतसम्म ब्यााज लिनेछ ।
यसैगरी राष्ट्रिय वाणिज्य बैंकले ११.५ प्रतिशत वा बेसरेटमा २.५ प्रतिशत प्रिमियम थपेर अटो लोन दिने बताएको छ । सिटिजन्स बैंकले हेरफेर ब्याजदरमा दिने अटो लोन बेसरेटमा ४ प्रतिशत थपेर ब्याज लिनेछ भने स्थिर दरमा ११.७५ प्रतिशत कायम भएको छ ।
एनआईसी एशिया र एभरेस्टले पनि १२ प्रतिशतभन्दा कममा अटो लोन दिने बताएका छन् । सिटिजन्सले स्थिर दरमा थोरैमा ११.५ प्रतिशत लिने उल्लेख गरेको छ ।
प्रकाशित ब्याजदर अनुसार एनएमबि बैंकले स्थिर दरमा वार्षिक १२ देखि १४ प्रतिशत, ग्लोबल आईएमईले १०.४९ प्रतिशतदेखि १२.४९ प्रतिशत, माछापुच्छ्रेले १२ देखि १३ प्रतिशत, सिद्धार्थले ११.५ देखि १२ प्रतिशत, प्रभुले १३.५ देखि १४.५ प्रतिशत र नेपाल बैंकले बढीमा १३.५ प्रतिशत ब्याज लिने उल्लेख गरेको छ ।
अस्थिर दरमा भने प्रिमियम दर २ देखि ५ प्रतिशत छ । कृषि विकास बैंकले २ प्रतिशतभन्दा बढी प्रिमियम तिर्न चाहनेका लागि ब्याजदर हेरफेर नतिर्ने भनेको छ ।
स्थिर दरमा अटो लोन लिने ग्राहकका लागि कर्जा अवधिभर ब्याजदर हेरफेर हुनेछैन । अस्थिर दरमा लिनेका लागि भने आधार दर घट्दा ब्याजदर घट्नेछ भने बढ्दा वार्षिक ब्याजदर पनि वृद्धि हुनेछ ।
हायर पर्चेज कर्जा लिनेका लागि सस्तो दर
बैंकहरुले अटो लोन र हायर पर्चेज लोनका लागि छुट्टाछुट्टै ब्याज लिने बताएका छन् । सवारीसाधन बैंककै नाममा रहनेगरी लिइने यस्तो कर्जाको ब्याजदर र प्रिमियम पनि कम छ ।
विद्युतीय सवारीसाधनका लागि छुट्टै ब्याजदर
जेठ महिनाका लागि प्रकाशित ब्याजदरअनुसार नबिल, राष्ट्रिय वाणिज्य, सिद्धार्थ, माछापुच्छ्रे, नेपाल, एनएमबि र नेपाल एसबीआई बैंकले विद्युतीय सवारी किन्न चाहने ग्राहकलाई अटो लोनभन्दा सस्तो ब्याजदरमा कर्जा दिने उद्घोष गरेका छन् ।
प्रकाशित ब्याजदरअनुसार नबिलले ईभी किन्न चाहने ग्राहकलाई बेसरेटमा १ देखि ४ प्रतिशत प्रिमियम थपेर कर्जा दिनेछ । राष्ट्रिय वाणिज्य बैंकले भने ९.५ प्रतिशत वार्षिक ब्याजदरमै ईभी लोन लिने बताएको छ । यदी अस्थिर दरमा कर्जा लिन चाहे बेसरेटमा १.४५ प्रतिशतमात्र ब्याज तिर्नुपर्नेछ ।
सिद्धार्थ बैंकले भने फरक अभ्यास गरेकोछ । बैंकले महिलाले ईभी किने १०.४९ प्रतिशत तथा पुरुषले किने १०.७४ प्रतिशत ब्याजदर लिएर कर्जा दिने उल्लेख गरेको छ ।
यता माछापुच्छ्रे बैंकले बेसरेटमा २.५ प्रतिशतसम्म, नेपाल बैंकले ३.५ प्रतिशत, एनएमबिले १०.१ प्रतिशत वा ४ प्रतिशत प्रिमियम र नेपाल एसबीआई बैंकले बेसरेटमा २.२५ प्रतिशत प्रिमियम लिने प्रकाशित ब्याजदरमा उल्लेख छ ।
SHARE YOUR THOUGHTS