![](https://internal.appharu.com/wp-content/uploads/2024/05/vep.jpg)
काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनामा २ करोड १७ लाख २५ हजार रुपैयाँबराबरको विद्युतीय चुरोट (इलेक्ट्रिक सिगारेट-भेप्स) नेपालमा आयात भएको छ ।
भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८०/८१ को साउनदेखि चैतसम्ममा यो रुपैयाँबराबरको १ लाख ४५ हजार ७१ थान यस्तो विद्युतीय चुरोट नेपालमा आयात भएको हो ।
नेपालमा मुख्यगरी चीन, हङकङ, भारत, कोरिया, मलेसिया, युएई, क्यानाडा, जर्मनी, थाइल्याण्ड, युके र अमेरिकाबाट यस्तो चुरोट आयात हुने गरेको छ । परिमाणको हिसाव हेर्ने हो भने ९० प्रतिशतभन्दा बढी चीनबाट आयात हुन्छ ।
यो चुरोटलाई ई सिगरेट र वाष्प सिगरेट पनि भनिन्छ । यो सिगरेट विभिन्न आकारमा निर्माण गरिएको हुन्छ । यो विद्युतीय प्रणालीमा आधारित उपकरण हो । जसमा व्याट्री जडान भएको हुन्छ । यो उपकरणमा निकोटिन वा गैर निकोटिनको वाष्पीकृत हुने घोललाई श्वासको सहयोगमा चुरोट सेवन गरेजस्तै सेवन गरिन्छ ।
विभागको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७९/८० मा २ करोड १३ लाख ९८ हजार रुपैयाँबराबरको ३२ लाख २८ हजार १९९ वटा विद्युतीय चुरोट आयात भएको थियो । अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा भने ३ करोड ३६ लाख ७६ हजार रुपैयाँबराबरको ६ लाख १४ हजार ३५६ वटा यो चुरोट आयात भएको थियो ।
यस्तै आर्थिक वर्ष २०७७/७८ मा ३२ लाख ९८ हजार रुपैयाँबराबरको २९ हजार २८ वटा यो चुरोट आयात भएको थियो ।
अमेरिकाको खाद्य तथा औषधी नियमन गर्ने निकाय एफडीएले इलेक्ट्रिक सिगरेटलाई औषधी उपकरणको रुपमा वर्गीकरण गरेको छ । चुरोटको लतलाई छुटकारा पाउनका लागि विकल्पको रुपमा पनि यसको प्रयोग पछिल्लो समयमा निक्कै बढेको छ। खास गरी युवापुस्ता माझ होटेल तथा रेष्टुँरामा यसको प्रयोग अत्यधिक छ ।
छिमेकी मुलुक भारतमा भने यो विद्युतीय चुरोटको आयात, बिक्री वितरण र प्रयोग गर्न भने पूर्ण रुपमा प्रतिबन्ध लागेको छ । भारतमा यो चुरोट प्रयोग गर्दै गरेको फेला परेमा ३ वर्षको जेल सजायको व्यवस्था गरिएको छ । यसको साथै ५ लाख रुपैयाँसमेत जरिवाना गर्ने व्यवस्था भारतले गरेको छ ।
चीन, बेलायत, दक्षिण कोरियालगायतका मुलुकमा यो चुरोट प्रयोग गर्न पाउने व्यवस्था छ । तर दक्षिण कोरियामा यो चुरोटमा निक्कै बढी कर लगाइएको छ । कतिपय मुलुकले यो चुरोटमाथि प्रतिवन्धसमेत लगाउने तयारी गरेको छ । युवा पुस्ता र हुर्किदै गरेको नयाँ पुस्तामा यसको लत निक्कै बढेको पाइएकाले प्रतिवन्ध लगाउने तयारी गरिएको हो ।
नेपालमा पनि यसको लत युवापुस्तामा बढेको छ । अहिले धेरै रेस्टुराँ, होटल तथा बारहरूमा विद्युतीय सिगरेटको प्रयोग बढेको देखिन्छ । विद्युतयि सिगरेट १५० भन्दा बढी फ्लेबरमा पाइन्छ।
गत वर्षको माघमा भेपमार्फत सुन तस्करी भएपछि अहिले नेपालमा भेप चर्चामा छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले नियमित जाँचका क्रममा २०७९ माघ २९ मा दुई वटा सुटकेशभित्र ७३ बट्टामा रहेको ७३० थान ई-सिगरेट (भेप) बरामद गरेको थियो ।
भेपमार्फत भएको ९ किलो सुन तस्करी प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले छानबिन गरिरहेको छ । भेपमार्फत सुन तस्करी प्रकरणमा पूर्वसभामुख एवं माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई समेत प्रहरीले पक्राउ गरेको थियो । तर स्वास्थ्यका कारण देखाउँदै उनी पक्राउ परेकै दिनदेखि अस्पताल भर्ना भएका थिए ।
जिल्ला अदालत काठमाडौंले उनलाई जमानीमा छोड्ने अनुमति दिएको थियो । भेपमा लुकाएर नेपाल भित्र्याइएको सुन तस्करीको अनुसन्धानका क्रममा तस्करीमा प्रत्यक्ष संलग्न देखिएका व्यक्तिसँग महराको पटकपटक टेलिफोनमा सम्पर्क देखिएको र उनले सुन छुटाउन दबाब दिएको आरोप छ।
![](https://internal.appharu.com/wp-content/uploads/2024/05/vep2.jpg)
प्रतिबन्धको तयारी
यसैबीच सरकारले भेपमा प्रतिबन्ध लगाउने तयारी गरेको छ । स्वास्थ्य सेवा विभागअन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले भेपमा प्रतिबन्ध लगाउने प्रक्रियामा सहयोग गर्न विभिन्न मन्त्रालयलाई आग्रह गरेको छ ।
स्वास्थ्य मन्त्रालयको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका अनुसार कानुनमा यसअघि नै रहेको व्यवस्था कार्यान्वयनका लागि पत्राचार गरिएको हो ।
सुर्तीजन्य पदार्थ नियमन तथा नियन्त्रण निर्देशिका २०७१ को दफा २८ मा यस्ता पदार्थको बिक्री वितरणमा प्रतिबन्ध लगाउने व्यवस्था गरेको केन्द्रले जनाएको छ । त्यसैको कार्यान्वयनका लागि यसको आयात, निर्यात, उत्पादन, बिक्री वितरण र प्रचार प्रसारमा रोक लगाउन सम्बन्धित निकायलाई पत्राचार गरिएको केन्द्रले जनाएको छ । नेपालको निकासीपैठारीसम्बन्धी कानुनले सुर्तीजन्य पदार्थको आयातमा रोक लगाएको छ ।
युवा र बालबालिकाहरूमा भेपको प्रयोग बढ्दो रहेको र यसले स्वास्थ्यमा पार्ने असरलाई मध्यनजर गर्दै प्रतिबन्धको पहल गरिएको अधिकारीहरुको भनाइ छ ।
SHARE YOUR THOUGHTS