
काठमाडौं । पूर्वगृहमन्त्री भीम रावलले गृहमन्त्री रवि लामिछानेले संसदबाट नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई राज्यको सूचना बेचेको आरोप लगाएको भन्दै थापालाई तत्काल गिरफ्तार गर्न माग गरेका छन् ।
थापालाई गिरफ्तार गरी तत्काल कानुनी कारबाही गर्नुपर्ने उनको भनाइ छ ।
‘राज्यका सूचना बेच्नु देशद्रोह हो । यसरी सूचना नेपाली कांग्रेसका महामन्त्री, सांसद गगन थापाले बेचेको गम्भीर आरोप गृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेले लगाएका छन्,’ पूर्वगृहमन्त्री रावलले भनेका छन्, ‘यस्तो देशद्रोह गगन थापाले गरेको भनी गृहमन्त्रीले संसदमा नै घोषणा गरेकोले थापालाई गिरफ्तार गरी तत्काल कानूनी कारबाही गरियोस् ।’
थापालाई गिरफ्तार गरी गृहमन्त्रीले कारबाही अघि नबढाए गृहमन्त्री लामिछाने पनि देशद्रोहीका मतियार ठहरिने र उनलाई प्रधानमन्त्रीले तुरून्त बर्खास्त गरी गिरफ्तार गर्नुपर्ने उनको भनाइ छ ।
गृहमन्त्री लामिछानेले थापामाथि भ्रष्टाचारको विभिन्न आरोप लगाएकाले त्यस्ता मुद्दामाथि राज्यका निकायबाट तत्काल अनुसन्धान थाल्नुपर्ने रावलको भनाइ छ ।
‘गृहमन्त्रीले गगन थापाले भ्रष्टाचार गरेको भनी विभिन्न मुद्दाबारे समेत संसदमा प्रस्तुत गरेका छन्। ती मुद्दामा राज्यका सम्बन्धित निकायबाट तत्काल अनुसन्धान गरियोस्,’ उनले भने,’ यस्ता आरोप झुठा ठहरे देशको गृहमन्त्री जस्तो जिम्मेवार पदमा बसेर अनर्गल कुरा गरेकोमा निजलाई कानूनी कारबाही होस्।’
राज्य कानुन र मर्यादमा आधारित हुन्छ भन्ने सामान्य कुराको हेक्का नराख्ने हो भने देश र जनताप्रति गद्दारी गरेको ठहर्ने रावलको भनाइ छ ।


प्रतिक्रिया