एमाले अध्यक्ष ओली र अर्थमन्त्री पुनसँग भेटेपछि उद्योगी आशावादी, गलत भए सच्याउँछौं: पुन « Eglish Khabarhub

स्पन्ज आइरन र बिलेटमा उल्टो कर नीति

एमाले अध्यक्ष ओली र अर्थमन्त्री पुनसँग भेटेपछि उद्योगी आशावादी, गलत भए सच्याउँछौं: पुन



काठमाडौं । स्पन्ज आइरन र बिलेटमा उल्टो कर नीति लिएपछि मारमा परेका स्टील उद्योगीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तथा अर्थमन्त्री वर्षमान पुनलाई भेटेर गुनासो गरेका छन् ।

ओलीसँगको भेटका लागि बिहीबार नेपाल फलामे छड उत्पादक संघका अध्यक्ष साहिल अग्रवाल नेतृत्वमा उद्योगीहरु बालकोट पुगेका थिए । ओलीसँग नीतिगत स्थिरताको कुरा भएको र एमाले अध्यक्षले आफ्ना गुनासाप्रति सकारात्मक जवाफ दिएको भेटमा सहभागी एक उद्योगीले बताए ।

‘तपाईंहरुका गुनासा तथा समग्र बजेटको बारेमा नेकपा एमालेले कार्यक्रम नै गर्ने कि भनेर विचार भइरहेको छ,’ ओलीले भने, ‘तपाईंहरुको समस्याका विषयमा हामी गम्भीर छौं । प्रधानमन्त्री र अर्थमन्त्रीसँग यसबारे छलफल गर्छौं ।’

यस्तै, अर्थमन्त्री पुनसँग पनि उद्योगीहरुको सकारात्मक छलफल भएको छ । भेटमा सहभागी एक उद्योगीका अनुसार स्टील उद्योगको बारेमा अर्थमन्त्रीलाई मूल्य अभिवृद्धि (भ्यालु एडिसन), वातावरणीय प्रदूषण, कच्चा पदार्थको परिभाषा तथा गुणस्तरको बारेमा गलत ब्रिफिङ भएको आफूहरुले पाएको बताए ।

अर्थमन्त्रीसँगको भेट सकारात्मक रहेको भन्दै उद्योगीले पुनले केहि कुरा बुझ्नु पर्ने रहेको बताएको उल्लेख गरे । अर्थमन्त्रीले कुनै आश्वासन नदिए पनि छलफल जारी राख्ने वाचा गरेको एक उद्योगीले बताए ।

‘यसबारेमा मैले पनि केही कुरा अझै बुझ्नु पर्ने छ, यो छलफललाई जारी राखौं,’ अर्थमन्त्रीले उद्योगीलाई भने, ‘तपाईंहरु पक्कै पनि मर्का परेर नै आउनुभएको हुनुपर्छ । हाम्रो तर्फबाट गल्ती भएका छन् भने छलफल गरेर निकास निकाल्न सकिन्छ ।’

आफू मर्कामा परेको भन्दै नेपाल फलामे छड उत्पादक संघका सदस्यहरुले सत्तारुढ गठबन्धनको सबैभन्दा ठूलो दल नेकपा एमालेका अध्यक्ष र अर्थमन्त्री पुनसँग भेटेर गुनासो राखेका थिए ।

एउटा आर्थिक वर्षमा सरकारले उद्योग लगाउन छुट दिने अनि उद्योगमा लगानी भएपछि अर्को सरकारले अर्को वर्ष नीति परिवर्तन गर्ने अस्थिर व्यवस्था भयो भने आगामी दिनमा सरकारमाथिको विश्वास हराउने उद्योगीहरुको धारणा छ ।

३ वर्षअघि ६ वटा रहेका मेल्टिङ उद्योग हाल १८ पुगेका छन् भने रोलिङ मिल ५/६ वटा मात्रै छन् । मेल्टिङ उद्योगमा ६० प्रतिशतसम्म मूल्य अभिवृद्धि हुन्छ भने रोलिङमा १०/१२ प्रतिशतमात्रै । तर, अर्थमन्त्रीलाई मूल्य अभिवृद्धिको बारेमा गलत व्रिफिंग भएको उनीहरुको बुझाइ छ ।

यस्तै, अहिले मेल्टिङ उद्योगले ४५० मेगावाट विद्युत् खपत गरेको र ३५ सय रोजगारी थप सिर्जना भएको उनको भनाइ छ । उद्योगहरुले प्रतिमहिना २ देखि ३ अर्ब रुपैयाँसम्म महशुल तिर्ने गरेका छन् ।

नेपालमै एमएस बिलेटबाट फलामे छड उत्पादन गर्ने उद्योगहरुको प्रोत्साहन गर्ने नीति लिएको बताउँदै तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७८/७९ को बजेटले डन्डी बनाउन प्रयोग हुने बिलेटको कच्चा पदार्थ (स्पञ्ज आइरन) र कवाडी (स्क्र्याप) फलाम आयात गर्दा सहुलियत दिने घोषणा गरेका थिए । स्पञ्ज आइरनमा लाग्दै आएको ५ प्रतिशत भन्सार महशुल घटाएर १ प्रतिशतमा झारेका थिए भने स्क्र्यापमा शून्य भन्सार लगाएका थिए ।

कच्चा पदार्थभन्दा तयारी बिलेट आयात गर्दा ५ प्रतिशत बढी भन्सार शुल्क लाग्ने भएपछि उद्योगीहरुले ३६ अर्ब रुपैयाँभन्दा बढी लगानी थप गरेर मेल्टिंग उद्योग लगाए । यसरी सहुलियत दिएर मेल्टिंग उद्योग स्थापना गर्दा वस्तुमा मूल्य अभिवृद्धि भएको, नेपालम नै उत्पादीत विजुलीको खपत बढेको र रोजगारी बढेको थियो ।

तर, अर्बौं लगानी गरेका उद्योगले सावाँ पनि उठाउन नपाउँदै केही सिमित व्यवसायीलाई फाइदा पुग्ने गरी वर्तमान अर्थमन्त्रीले कर लगाएका कारण उनीहरु गुनासो गर्न पुगेका हुन् । आर्थिक वर्ष २०८१/८२ को बजेटमार्फत् पुनले जनार्दन शर्माको नीति उल्ट्याए । स्पञ्ज आइरन र बिलेट आयात गर्दा फरक २.५ प्रतिशत मात्रै गरिदिए । एकातिर स्पञ्ज आइरनको १ प्रतिशतको भन्सारलाई बढाएर २.५ प्रतिशत पुर्याए भने अर्कातिर बिलेट आयात गर्दा लाग्दै आएको प्रतिटन २५ सय रुपैयाँ अन्तशुल्क हटाइदिए ।

पुनको यो नीतिका कारण विदेशबाट कच्चा पदार्थ ल्याएर डन्डी उत्पादन गर्ने उद्योगीहरु मारमा परे भने तयारी बिलेट ल्याएर डन्डी उत्पादन गर्नेहरुलाई फाइदा भयो ।

हाल ७ उद्योगले मात्रै मेल्टिङ मिल लगाएका छैनन् । भैरहवाको पञ्चकन्या स्टिल्स, सिमराको हामा स्टिल्स, वीरगञ्जको साख स्टिल्स, परासीको काठमाडौं स्टील्स, भैरहवाको गोयन्का स्टिल्स, विराटनगरको कमला रोलिङ र भैरहवाकै एसआर स्टिल्सले हालसम्म पनि स्पन्ज आइरन प्रशोधन गरी रड तथा अन्य फलामे वस्तु उत्पादन गर्न सुरु गरेका छैनन् ।

जनार्दनको बजेटअघि ६ उद्योगले मात्रै इन्डक्सन फर्नेस प्लान्ट अर्थात् बिजुलीबाट चल्ने भट्टी (मेल्टिङ मिल) लगाएका थिए । त्यसपछि १२ उद्योगले त्यस्तो प्लान्ट थपे । त्यसअघि जगदम्बा स्टिल्स, अशोक स्टिल्स, लक्ष्मी स्टिल्स, अम्बे स्टिल्स, नारायणी इस्पात र पशुपति आइरनले मात्रै मेल्टिङ फर्नेस उद्योग लगाएका थिए । त्यसयता, थप १२ उद्योगले यस्तो कारखाना स्थापना गरेका छन् । जय अम्बे स्टिल्स, श्री स्टील्स, गोयल इस्पात, हिमाल आइरन, विजय श्री स्टिल्स, स्वस्तिक रोलिङ, जगदम्बा इन्टरप्राइजेज, सर्वोत्तम स्टिल्स, प्रिमियर स्टिल्स, गोदावरी स्टिल्स, हुलास वायर, सिद्धि लक्ष्मी स्टिल्सले यसबीचमा मेल्टिङ उद्योग लगाएका छन् ।

मन्त्री पुनले आफ्नो नीतिको बचाउ गरे पनि सरकारको नीति अटेर गर्नेलाई सरकारले नै पुरस्कृत गर्ने उल्टो कर नीतिका कारण डेढ दर्जन उद्योग संकटमा परेका छन् । एउटै पार्टीका दुई अर्थमन्त्रीले ल्याएको विरोधाभाषपूर्ण करनीतिका कारण उद्योगीहरु समस्यामा परेका हुन् ।

Publish on: