![](https://internal.appharu.com/wp-content/uploads/2019/09/Best-Places-in-Australia-to-Study-for-International-Students-800x400.jpg)
काठमाडौं । अस्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थी भिसामा कडाइ गर्दै पर्यटक भिसा वा टीआरमा रहेका कसैले पनि अर्को महिनादेखि विद्यार्थी भिसाका लागि आवेदन दिन नपाउने नियम ल्याएको छ । अस्ट्रेलियाकी गृहमन्त्री क्लेयर ओनिलले एक सूचना जारी गर्दै पर्यटकको रुपमा अस्ट्रेलियामा प्रवेश गर्ने विदेशी नागरिकहरुले विद्यार्थी भिसाको आवेदन दिन नपाउने बताएकी छन् ।
अस्ट्रेलियामा सीमित समयका लागि पर्यटकको रुपमा रहेका वा टेम्पोररी ग्राजुएट भिसा (टीआर) मा रहेका विदेशी नागरिकहरुले सामान्यतया अस्ट्रेलियाबाटै विद्यार्थी भिसाको आवेदन दिएर अस्ट्रेलिया बसाइ लम्ब्याउने गरेका हुन्छन् । तर गृहमन्त्री ओनिलले घोषणा गरेको नयाँ नियमले त्यसरी अस्ट्रेलियाको बसाइ लम्ब्याउने विदेशी नागरिकहरु आफ्नो देश फर्कनु पर्नेछ ।
यस्तो नियमले अस्ट्रेलियामा रहेका नेपाली विद्यार्थीका आफन्त वा परिवारका सदस्यहरु पनि प्रभावित हुनसक्ने देखिएको छ । नेपाली विद्यार्थीहरुले परिवारका सदस्य वा आफन्तलाई पर्यटकको रुपमा बोलाएर अस्ट्रेलियाको बसाइ लमब्याउने गरेका थिए । अब नयाँ नियम घोषणासँगै अर्को महिनादेखि उनीहरुले पर्यटकको भिसा अवधि सकिएपछि स्वदेश नै फर्कनु पर्ने छ । तर उनीहरुले स्वदेश फर्किएपछि मात्रै अस्ट्रेलियामा विद्यार्थीको रुपमा जान फेरि आवेदन दिनु पर्नेछ ।
गृहमन्त्री ओनिलले बुधबार यस्तो नयाँ नियम घोषणा गरेकी हुन् । कोरोना महामारीपछि विद्यार्थी वा अन्य विदेशी आगन्तुकका लागि कडाइ गरेको अस्ट्रेलियाले आगामी महिनादेखि झन कडा नियम ल्याएको हो ।
कोरोना महामारीपछि अस्ट्रेलिया प्रवेश गर्ने नेपाली विद्यार्थीहरुको संख्या पनि अनपेक्षित रुपमा बढेको बताइन्छ ।
सरकारी तथ्यांकअनुसार हाल अस्ट्रेलियामा ७ लाख ४० हजारभन्दा धेरै विदेशी विद्यार्थी भिसामा रहेका छन् । तीमध्ये नेपालीको संख्या ५५ हजार ३ सय रहेका छन् । जुन अस्ट्रेलियामा रहेका सम्पूर्ण विदेशी विद्यार्थी स्ख्याको ८ प्रतिशत हो ।
SHARE YOUR THOUGHTS