काठमाडौं । नेपालमै बनेको हुन्डाइको भेन्यु कार ६.९९ प्रतिशत ब्याजदरमै किन्न सकिने भएको छ । कम्पनीले ल्याएको हुन्डाइ नेपालः मेड फर योर जर्नी नामक ग्राहकमुखी योजनाअनुसार ६.९९ प्रतिशत फाइनान्सिङ, १० वर्षको निःशुल्क सर्भिसिङ र ३ वर्षको वारेन्टीको सुविधा दिइने भएको हो ।
नेपालको लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले आफ्नो भगिनी संस्था लक्ष्मी मोटर कर्पोरेसनबाट नेपालमा बनेको भेन्युको मूल्य सार्वजनिक गर्दै बिक्री वितरण बिक्री सुरु गरेको छ । योजनाअनुसार हुन्डाई भेन्यू खरिद गर्दा ६.९९ प्रतिशत फाइनान्सिङको व्यवस्था , १० वर्षको निःशुल्क सर्भिसिङ र ३ वर्षको वारेन्टी रहने कम्पनीले जनाएको छ ।
लक्ष्मी मोटर कर्पोरेसन, नेपालमा लक्ष्मी ग्रुपको लगानी तथा हुन्डाइ मोटर कम्पनीसँगको प्राविधिक सहकार्यमा स्थापना भएको हो । लक्ष्मी मोटर कर्पोरेसनले पहिलो पटक नेपालमा भेन्यु मोडल उत्पादन सुरु गरेको र यसको बनावट, गुणस्तर, पर्फमेन्स लगायतका गुणहरु कोरिया वा भारतमा बन्ने सोही मोडलका गाडी सरह कै हुने कम्पनीले दाबी गरेको छ ।
स्वदेशमा नै उत्पादन गरी देशको औद्योगिकरण, आयात प्रतिस्थापन, रोजगारी सृजना, आन्तरिक राजस्वमा वृद्धि, शीप तथा प्रविधि विकास, सहायक उद्योगको स्थापना, आन्तरिक श्रोत तथा विद्युतको खपत, कुल गार्हस्थ्य उत्पादनमा योगदानका साथ साथै उपभोक्तालाई सहुलियत मूल्यमा सवारी साधन उपलब्ध गराउने उद्देश्य रहेको कम्पनीले जानकारी गराएको छ । हाल विक्री वितरण सुरु भएको मेड इन नेपाल हुन्डाए भेन्यु १.२ एसको मूल्य ४४ लाख ९६ हजार र भेन्यु १.२ एसएक्सको मूल्य ५३ लाख ५६ हजार कायम गरिएको छ |
SHARE YOUR THOUGHTS