नयाँ समीकरणप्रति बालेनको व्यंग्य: काले-काले मिलेर खाऊ भाले « Eglish Khabarhub

नयाँ समीकरणप्रति बालेनको व्यंग्य: काले-काले मिलेर खाऊ भाले



एमाले र कांग्रेस मिलेर नयाँ सत्ता समीकरण बनाइरहेका बेला काठमाडौंका मेयर बालेन शाहले व्यंग्य गर्दै लेखे- ‘यो समय गिरिबन्धु चियाको हो । काले-काले मिलेर खाऊ भाले ।

काठमाडौं । सत्ता पलटको नयाँ समीकरण बनेसँगै बूढानीलकण्ठ र च्यासलतिर हर्षबढाइँ भइरहेको छ । कांग्रेस र एमालेका नेता-कार्यकर्ताहरुको नजर अब सिंहदरबार र बालुवाटारतिर तेर्सिरहेका छन् ।

वर्तमान सत्ता गठबन्धन भत्काउँदै एमाले र कांग्रेसका शीर्ष नेताहरुले आलोपालोका आधारमा नयाँ सत्ता समीकरण बनाइरहँदा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले भने सामाजिक सञ्जालको कुनाबाट गिरिबन्धु टि स्टेटको मुद्दालाई नियालिरहेका छन् ।

सोमबार राति एमाले र कांग्रेसबीच अचानक नयाँ समीकरणको सहमति बनिरहँदा मेयर शाहले भने एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवालाई कडा व्यंग्य गरे । सामाजिक सञ्जाल एक्समा ओली र देउवा चियाको कप समातेर हाँसिरहेको केही पुरानो तस्बिर पोस्ट गर्दै मेयर शाहले लेखेका छन्, ‘यो समय गिरिबन्धु चियाको हो । काले काले मिलेर खाऊ भाले ।’

बालेनको यो स्टाटसले प्रष्ट रुपमा ओली र देउवाको नयाँ समीकरणप्रति कटाक्ष गरेको बुझिन्थ्यो । केपी ओली त्यस्ता नेता हुन्, जसको नाम झापाको गिरीबन्धु टी स्टेटको जग्गा व्यक्तिलाई बेचेर त्यसबाट अर्बौं रकम कमाउने गरी तयार पारिएको भ्रष्टाचार प्रकरणमा मुछिएको छ । ओली नेतृत्वको सरकारका पालामा उक्त जग्गा कानुन बनाएरै व्यक्तिलाई बेच्ने तयारी गरिएको थियो । तर सर्वोच्च अदालतले त्यो प्रक्रियालाई रोकिदिएको छ ।

मेयर बालेन शाहले भने यसअघि पनि ओलीलाई लक्षित गर्दै गिरीबन्धु चिया वगानको विषयमा पटक पटक कटाक्ष गर्दै आएका छन् । मेयर शाह र केपी ओलीबीच पछिल्लो समय सार्वजनिक रुपमै देखिएको तिक्तताको श्रृंखलाको रुपमा मंगलबार शाहको अर्को व्यंग्य आएको हो ।

यसअघि न्युरोडमा महानगरको फुटपाथ विस्तारको विषयलाई लिएर मेयर शाह र केपी ओलीबीच सार्वजनिक रुपमै टिकाटिप्पणी भएको थियो । त्यस क्रममा मेयर शाहले भनेका थिए, ‘१० हजार करोडको काण्ड लुकाउन अर्को काण्ड गरेर जनता नझुक्काउनु होला केपी ओलीज्यू! झापा गिरिबन्धुमा बैना लिनेहरूलाई दुई वर्षभित्र गिरिबन्धुकै जग्गा दिलाउँछौं भनेर थम्थमाउनु भएछ। गिरिबन्धु चिया बगानको जग्गामा गर्न खोजेको नीतिगत घोटालामा तपाईंको सहभागिताको इतिहास हेर्दा त्यहाँ तपाईंलाई नभनी पात पनि हल्लन्छ भन्ने लाग्दैन । अब बल्ल देश बन्ने भएछ ! आफ्ना कर्तुत लुकाउन र विषयान्तर गरे पनि काम हुनु राम्रो हो। तपाईंको शक्तिले अब रिङरोड बनाउनु, बुटवल चितवन बाटो बनाउनु, यस्ता धेरै आयोजनामा लगाउनुहोला। हामी साथमा छौं।अनि समयमै गिरिबन्धुमा पीडितको बैना फिर्ता गर्नु होला । नत्र कोही साँच्चैको नयाँ आउला र फाइल पल्टाउला। हुन त, पहिले पनि जेल बस्नु भएको हो ।’

एमाले अध्यक्ष ओलीले पनि बालेनप्रति सार्वजनिक रुपमै आक्रोश व्यक्त गरेका थिए । सञ्चारकर्मीहरुले बालेनको टिप्पणीप्रति प्रतिक्रिया मागेका बेला ओलीले ‘बालेनलाई सोध्नु’भन्दै आक्रोशित मुद्रामा सरासर हिँडेका थिए । त्यति मात्रै नभएर मेयर शाहको गतिविधि र अभिव्यक्तिलाई लिएर एमालेका सांसदहरुले संसद्‍मा समेत प्रश्न उठाएका थिए । यसवाहेक महानगरको नगर अधिवेशनमा पनि मेयर शाहको गतिविधिप्रति जनप्रतिनिधिहरुले गुनासो गरेका थिए ।

Publish on: