![](https://internal.appharu.com/wp-content/uploads/2024/01/Tia-Final-.jpg)
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालय र त्यही भित्र यात्रुलाई सेवा दिने रेष्टुरेन्टबीच ७ वर्षदेखिको भाडा विवाद चर्किएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले भाडामा लगाएको ठाउँका होटल रेष्टुरेन्टले सहमति विपरीत भाडा बढाएको भन्दै असन्तुष्टि जनाउँदै आएका छन ।
विमानस्थको अन्तर्राष्ट्रिय टर्मिनल भवनको पहिलो तलाको डिपार्चर हलमा सोल्टी होटलले र दोस्रो तलाको एक्जुकेटिभ लाउन्ज एवं रेष्टुरन्ट ओरियन्टल होटल (र्याडिसन)ले चलाउँदै आएको छ । दुबै होटललले २०६४ भदौ १४ गते उड्डयन प्राधिकरणले तोकेको शर्त अनुसार प्रतिवर्ग मिटर प्रतिमहिना ९ सय रुपैयाँका दरले भाडा बुझाउने सम्झौता गरेका थिए ।
सम्झौता २०७४ मा सकिनु अगाडि नै नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल सेवा शुल्क नियमावली २०६७ जारी गरेको थियो । सम्झौता अवधि बाँकी हुँदै प्राधिकरणले उक्त नियमावलीले तोके अनुसारको भन्दै प्रतिवर्ग मिटर प्रतिमहिना ३ हजारका दरले भाडा असूल गर्न थालेको थियो । यस्तो भाडा प्राधिकरणले २०७८ मा फेरि नियमावलीमै परिवर्तन गरेर प्रतिवर्ग मिटर प्रतिमहिना ३६ सय रुपैयाँ पुर्याएको उल्लेख छ ।
![](https://internal.appharu.com/wp-content/uploads/2024/07/450797718_3736399389981966_3542949940414686845_n-768x563.png)
विमानस्थल कार्यालयले सम्झौता विपरीत पटक-पटक भाडा बढाएको र सम्झौतामा नै उल्लेख नभएको दर भाउका आधारमा भाडा रकम अशुल गरिरहेको भन्दै दुइवटै रेष्टुरेन्ट सञ्चालन गर्ने निकाय असन्तुष्ट भएका छन् । दुबै होटलले सम्झौताको शर्त विपरीतको भाडा अशुल गरेको आरोप लगाएका छन् । बढाएको भाडा नतिर्ने र सम्झौता अनुसारकै भाडा तिर्न माग गरेर अदालतसम्म पुगेका छन् ।
हालसम्म करिब १५ करोड रुपैयाँ तिर्न बाँकी राखेको र्याडिसन होटल बक्यौता रकम भुक्तान नगर्ने र सम्झौताको समयभन्दा बढीको रकम नतिर्ने भन्दै उच्च अदालत पाटन गएको छ । पाटन उच्च अदालतले प्राधिकरणकै पक्षमा फैसला गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जानकारी दिएको छ ।
प्राधिकरणको पक्षमा फैसला आएसँगै सबै बक्यौता तिर्न उड्डयन प्राधिकरणले विमानस्थलको दोस्रो तलमा एक्जुकेटीभ लाउन्ज एवं रेष्टुरेन्ट सञ्चालन गर्ने र्याडिसन होटललाई ताकेता गरेको छ । प्राधिकरणले यही असार २५ गते ताकेता पत्र पठाएको हो । उक्त पत्रबाट रेष्टुरेन्टले भने अझै सम्झौता विपरीतको रकम माग गरेको भन्दै ३० असारमा (आइतबार) प्राधिकरणलाई सम्झौता बखतको शर्त अवगत गराउँदै थप रकम नतिर्ने पत्र पठाएको छ ।
विमानस्थको पहिलो तलमा सेवा दिइरको सोल्टी होटलको भने बक्यौता बाँकी नभएको भएपनि यसले पनि प्राधिकरण विरुद्ध जिल्ला अदालत काठमाडौंमा रिट दायर भने गरेको पनि विमानस्थल कार्यालयको भनाइ छ ।
विमानस्थल कार्यालयले भने सम्झौता सकिएपछि नियमावली अनुसार भाडादर दाबी गरेको बताएको छ । विमानस्थल कार्यालयले मागेको यस्तो भाडा १७७.८६ वर्गमिटर क्षेत्रफल ओगटेको सोल्टी होटलको उक्त रेष्टुरेन्टसँग मासिक ७ लाख र दोस्रो तलामा ९३३ वर्ग मिटर क्षेत्रफल ओगटेको र्याडिसनको रेष्टुरेन्टसँग मासिक ३७ लाख रुपैयाँ भाडा असूल गर्दै आएको छ ।
भाडा विवाद भएदेखि सम्झौतामा उल्लेख भएको ९ सय प्रतिवर्गमिटरको भाडा तिरिरहेको भएपनि बाँकी भाडामा विवाद भएको विमानस्थल कार्यालयले जानकारी दिएको छ ।
SHARE YOUR THOUGHTS