मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआईसी एशियाले गत आवमा तिर्‍यो २ अर्ब ८९ करोड रूपैयाँ कर, बैंक स्थापनाको २७ औं वर्षमा प्रवेश


काठमाडौं । एनआईसी एशिया बैंक २७ औं वर्षमा प्रवेश गरेको छ । २७ वर्षअघि साउन ६ गते सम्पूर्ण सरोकारवालाहरूको पहिलो रोजाईको बैंक बन्ने दृढ संकल्पका साथ सुरू भएको बैंकको यात्रा हालको स्थितिमा आइपुगेको हो ।

बैंकले स्थापनाको २७ वर्षमा देशकै सबैभन्दा सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंक बनेको दाबी गरेको छ । बैंकले ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने नाराका साथ बैंकिङ सेवा दिइरहेको छ । आगामी दिनहरुमा अझ विश्वस्तरीय, अत्याधुनिक, प्रविधिमैत्री, ग्राहकमैत्री तथा अनुकरणीय अनुभव सहितको बैंकिङ्ग सेवा एवम् सुविधाहरु प्रदान गर्ने प्रतिबद्धता बैंकको छ ।

बैंक डिजिटल फस्ट बैंक बन्ने अभिप्रायले अग्रसर भइरहेको विज्ञप्तिमा उल्लेख छ । स्थापनाकालदेखि हालसम्म आइपुग्दा मुलुकभर ३ सय ६० शाखा कार्यालय, ६७० एटीएम, ११८ वटा विस्तारित काउन्टर एवं ५१ वटा शाखारहित सञ्जालबाट लाखौं ग्राहकको गतिशील बैंकिङ्ग पार्टनरको रुपमा बैंक उभिएको छ । बैंकले देशको २० वर्षदेखि ५० वर्ष उमेर समूहको कुल जनसंख्या अर्थात् आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिइरहेको बताएको छ ।

बैंकले वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायमा शाखा विस्तार गरेको छ ।

बैंकले हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल २६ अर्ब ५९ करोड भन्दा बढी राजस्व नेपाल सरकारलाई भुक्तानी गरेको दाबी गरेको छ । अर्थिक वर्ष २०८०/८१ मा मात्रै बैंकले २ अर्ब ८९ करोड रुपैयाँभन्दा बढी राजस्व नेपाल सरकारलाई बुझाएको छ ।