काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका प्रतिनिधि सभा सदस्य रवि लामिछानेले नेपाली कांग्रेस र नेकपा एमालेले कांग्रेस एमालेले विभिन्न कान्डका फाइलहरु गाड्ने प्रयास गरेको आरोप लगाएका छन् ।
सोमबार प्रतिनिधि सभाको बैठकमा लामिछानेले दुई ठूला दलको निशानामा आफ्नो पार्टी परेको बताए । पछिल्ला दिनमा प्रधानमन्त्रीको अभिव्यक्ति, कांग्रेस महामन्त्रीको अभिव्यक्ति र एमाले नेता रघु पन्तको अभिव्यक्तिबाट रास्वपा दुई ठुला दलको निशानामा रहेको पुष्टि हुने उनको भनाइ छ ।
‘सरकारमा रहेका दुई ठूला दलको टार्गेट राष्ट्रिय स्वतन्त्र पार्टी छ । प्रधानमन्त्रीको अभिव्यक्ति, हिजोको कांग्रेस महामन्त्रीको अभिव्यक्ति र आज विषयान्तर गर्न खोज्नुभएका एमालेका पुराना नेताको अभिव्यक्तिले के देखाउँछ भने अब यी नयाँलाई ठिक पार्नुपर्छ’, लामिछानेले भने, ‘एउटा एउटा आरोप लगाइदिनुपर्छ भनेर मिलेको कुरा पनि स्पष्ट हुन्छ ।’
उनले आफू केही समय नबोल्ने पक्षमा भए पनि बोल्नैपर्ने अवस्था आएको बताउँदै लामिछानेले कांग्रेस एमाले मिलेको बारे सांसदहरुले बोल्नेमा विश्वस्त रहेको बताए ।
‘म केही समय नबोलौँ भन्ने पक्षमा थिएँ । तर हिजो जसरी यहाँ अभिव्यक्तिहरू प्रस्तुत भए त्यसले मलाई केही कुरा भन्न बाध्य पार्यो र झस्काउन बाध्य पार्यो’, उनले भने, ‘मलाई थाहा छ असार १५ मा खुवाइएको दहीले केहीबेर मुख बन्द भएको होला तर लोकतन्त्रका हिमायती सांसदहरूको मुखमा दही जम्नेछैन कुनैदिन बोल्नुहुनेछ ।’
लामिछानेले दुई दलका नेताहरुले आफूहरुले फाइल खोलेको भनिरहेको भन्दै उनले बन्द नहुँदै जिउँदै रहेको फाइललाई गाड्ने प्रयास भएकोमा आफूहरुले रिओपन गर्न कोसिस गरेको बताए ।
‘ठिक छ फाइल तपाईँहरूले खोलेको हो । हामीलाई जस चाहिएको पनि होइन । काण्ड पनि हामीले नै गरेका हौ भन्दिएको भए राम्रो हुन्थ्यो’, उनले भने, ‘फाइल तपाइले नै खोल्नुभएको हो । तर बन्द नहुँदै जिउँदै रहेको फाइललाई तपाईँहरूले गाड्ने प्रयास गर्नुभयो जुन फायलमा प्राण थियो । त्यो प्राण बाँकी रहेको फाइललाई रिओपन गर्ने कोसिस हामीले गरेका हौँ ।’
SHARE YOUR THOUGHTS