![](https://internal.appharu.com/wp-content/uploads/2018/08/arrested.jpg)
काठमाडौँ । प्रहरीले ६ किलो २४ ग्राम अवैध लागूऔषध कोकिनसहित एक जना विदेशी नागरिकलाई पक्राउ गरेको छ ।
कतार एयरवेजको उडानद्वारा नेपाल आएका लाटभियाका नागरिक इभ्रस भलटेर्सलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको आगमन कक्षबाट लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
सुटकेसभित्र लुकाई–छिपाई राखेको उक्त परिणामको कोकिनसहित लाटभियाका नागरिकलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए । बुधबार पक्राउ परेका निजमाथि लागूऔषध मुद्दामा जिल्ला अदालत काठमाडौँबाट म्याद थप अनुमति लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको उनले बताए ।
यसैबीच, प्रहरीले काठमाडौँको गोङ्गबुँस्थित नयाँ बसपार्कबाट अवैध लागूऔषध खैरो हेरोइन १५ ग्राम पाँच सय मिलिग्राम, नगद रु ४० हजार र तीन थान मोबाइलसहित दुई जनालाई पक्राउ गरेको छ । सप्तरी राजविराज नगरपालिका–९ घर भएका २४ वर्षीय पवनकुमार मेहता र उदयपुर त्रियुगा नगरपालिका–७ घर भएका २७ वर्षीय अनिल परियार पक्राउ परेका प्रहरीले जनाएको छ ।
काठमाडौंको नरेफाँटबाट अवैध लागूऔषध खैरो हेरोइन ६ सय ४० मिलिग्राम र मोबाइल दुई थानसहित दुई जना पक्राउ परेका छन् । सोही ठाउँ डेरा गरी बस्ने सिराहा गोलबजार नगरपालिका–६ घर भएका ३३ वर्षीय धर्मेन्द्र सिंह र सिराहा मिर्चैया नगरपालिका–५ घर भएका ३३ वर्षीय अनिल साहलाई निजहरुको डेराबाट लागूऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
SHARE YOUR THOUGHTS